निर्वाचन आयोगमा धर्ना दिन गएका बाबुराम भट्टराई पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन आयोगमा धर्ना दिन गएका बाबुराम भट्टराई पक्राउ


प्रशासन संवाददाता

२० चैत्र २०७३, आइतबार


काठमाडौं । निर्वाचन आयोग धर्ना दिन गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराई पक्राउ परेका छन् ।

आइतबार बिहान आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिएका भट्टराईसहित नयाँ शक्ति नेतृसमेत रहेकी पत्नी हिसिला यमी, नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल पनि पक्राउ परेका छन् ।
नयाँ शक्तिलगायतका निर्वाचन आयोगमा दर्ता भएका पाँच दर्जन दलले स्थानीय तह चुनावमा दलीय चुनाव चिन्ह नदिएको भन्दै कान्तिपथस्थित निर्वाचन आयोग अगाडि धर्ना दिएका हुन् । उनीहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापन पत्र दिएका थिए ।

नयाँ शक्तिले बिहीबार नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ऐन संशोधनका लागि ४८ घण्टाको समय दिएको थियो । समयसीमाभित्र ऐन संशोधन नभएको भन्दै नयाँ शक्तिसहितका दलले बिहान ९ बजेदेखि ११ बजेसम्म आयोगसहित देशभरका कार्यालयमा धर्ना दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस