संरक्षणको पर्खाइमा ऐतिहासिक चौतारी र पोखरी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संरक्षणको पर्खाइमा ऐतिहासिक चौतारी र पोखरी


१७ चैत्र २०७३, बिहिबार


म्याग्दी । सामरिक तथा ऐतिहासिक महत्वका म्याग्दीका ग्रामीण क्षेत्रमा अवस्थित चौतारी र पोखरी संरक्षणको पर्खाइमा रहेका छन् ।

गाउँ गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय चौतारी, पोखरी भत्काइएको र भएकाको पनि संरक्षण नगरिँदा ऐतिहासिक र सामरिक महत्व बोकेका म्याग्दीका दुई दर्जनभन्दा बढी चौतारी र पोखरी अहिले अस्तित्वविहीन बन्दै गएका हुन् ।

बाइसे, चौबीसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल मानिने ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक चौतारी अहिले खण्डहरमा परिणत भएका जिल्ला समन्वय समिति म्याग्दीका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले बताए ।

म्याग्दीको ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिवम मल्लले शत्रुमाथि निगरानी राख्नका लागि बनाएको फूलपाती चौतारी, बेनी डम्मरा चौतारी, गौडालाउने चौतारीलगायत चौतारी मर्मत सम्हारको अभावमा अहिले जीर्ण बन्दै गएका छन् ।

त्यसैगरी, सामरिक र ऐतिहासिक महत्वका ज्यामरुककोटमा अवस्थित खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिरवरपर रहेका कुवा र पोखरी अहिले एकादेशका कथामा परिणत भइसकेका स्थानीयवासीले बताएका छन् ।

मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका त्यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायको ध्यान नपुगेकोमा भने स्थानीयवासीले गुनासो गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस