कैलाली । गतवर्ष आगलागीबाट अत्यधिक वन नाश भएको कैलालीमा यसवर्ष वनलाई डढेलोबाट जोगाउका लागि पूर्व तयारी गरिएको छ ।
गतवर्षको जस्तै अवस्था सृजना हुन नदिन सचेतनामूलक कार्यक्रम सहित पूर्व तयारी पनि गरिएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । डढेलो नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक तथा सन्देशमूलक कार्यक्रममा तिव्रता दिइएको जिल्ला वन कार्यालय कैलालीका सहायक वन अधिकृत पुष्पराज जोशीले जानकारी दिए ।
गत वर्ष कैलालीको राष्ट्रिय र सामुदायिक वन गरि करिव १५ हजार २ सय बढि हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । यो मध्ये सबैभन्दा बढि चुरे क्षेत्रको वन आगलागीबाट सखाप भएको थियो । आगलागीबाट विभिन्न संकटापन्न वन्यजन्तु प्रभावित भएका वन कार्यालयको तथ्याङ्क छ । तराई क्षेत्रभन्दा यहाँको पहाडी तथा चुरे क्षेत्रमा बढि डढेलोको जोखिममा रहेको बताइन्छ । कैलालीको पहाडी क्षेत्रमा चैत्र वैशाखको सुख्खा समयमा डढेलोको बढि खतरा रहेको जोशीले बताए ।
यो वर्ष चैत १ देखि ७ गतेसम्म वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताहका अवसरमा पनि विभिन्न गतविधिहरू गरिएका छन् । कैलालीमा अधिकांश वन क्षेत्र उपभोक्ताको लापरबाही तथा प्राकृतिक कारण पनि नोक्सान भइरहेको कतिपयको भनाइ छ । सर्वसाधारण तथा उपभोक्ताले जथाभावी प्रज्वलनशिल वस्तु फाल्दा कैलालीमा वर्सेनी वनमा डढेलोको जोखिम बढ्दै गएको जोशीले बताए । उनले चुरे क्षेत्रको वनमा आगलागी नियन्त्रण गर्नका लागि समूह गठन गरेर जनशक्ति तयार गरिएको बताए । आगलागी भएमा नियन्त्रण गर्नका लागि समूह परिचालन गरिने उनले जानकारी दिए । डढेलोको अत्यधिक जोखिम रहेका चुरे क्षेत्रका १० वटा वनमा पानी पोखरी समेत निमार्ण गरिएकाले यो वर्ष आगलागीबाट वनमा क्षति कम हुने विश्वास गरिएको छ ।
कैलालीमा राष्ट्रिय र सामुदायिक गरी २ लाख ५ हजार नौ सय ३३ हेक्टर क्षेत्रफल वन रहेको छ । चैत वैशाखको सुख्खा समयमा आगलागीका घटना बढि हुने भएकाले सबै सचेत रहनु पर्ने जिल्ला वन कार्यालयले बताएको छ । वन क्षेत्रमा जथाभावी लागो नबाल्न, चुरोट, बिडी नफाल्न र डढेलो लागेमा सकेसम्म तुरुन्त निभाउन जिल्ला वन कार्यालयले सबैलाई आग्रह गरेको छ ।