हात्तीपाइले रोग नियन्त्रणका लागि अभियान संचालन गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हात्तीपाइले रोग नियन्त्रणका लागि अभियान संचालन गरिने


प्रशासन संवाददाता

३० फाल्गुन २०७३, सोमबार


काठमाडौं । हात्तिपाइले रोग नियन्त्रणका लागि ‘औषधि सेवन गराउने अभियान’ दुई चरणमा सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यहाँ आज पत्रकार सम्मेलन गरी आगामी चैत ५, ६ र ७ गते पहिलो चरण तथा चैत १७, १८ र १९ गते दोस्रो चरणमा यो अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

यसअघि फागुन २१, २२ र २३ गते सञ्चालन गर्ने भनिएको यो अभियान प्राविधिक कारणले स्थगित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिए ।

महाशाखाले ३० जिल्लाका दुई वर्ष माथिका एक करोड आठ लाखलाई यो अभियानमार्फत हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउन लागेको हो । अभियानमा १० हजार ४४९ स्वास्थ्यकर्मी र ५४ हजार ६६६ स्वास्थ्य स्वयम्सेवक परिचालन हुने निर्देशक आचार्यले बताए ।

उनले दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारे रोगी, एकहप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि सेवन गर्न नहुने बताए ।

पहिलो चरणमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बागलुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुर र दार्चुलामा यो अभियान सञ्चालन हुनेछ ।

त्यसैगरी दोस्रो चरणमा झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा अभियान सञ्चालन हुने जनाएकोछ ।

सरकारले चालु आवमा हात्तिपाइले रोगविरुद्धको औषधि र सो रोगसम्बन्धी सर्भे तथा निःशुल्क हाइड्रोसिल शल्यक्रियाका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।

जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुन सक्छ । त्यस्तै महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले रोग हुन सक्छ ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजीविको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोगको रुपमा रूपमा यसलाई चिनिएको छ । नेपालका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि औषधि सेवन गराउने कार्य सुरु गरिएको हो ।

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले लिएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस