पर्यटकीय गाउँ नौंचुबाट ४०० वर्ष अघिको इतिहास खोतल्दै पौंगीलम गुरुङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्यटकीय गाउँ नौंचुबाट ४०० वर्ष अघिको इतिहास खोतल्दै पौंगीलम गुरुङ


प्रशासन संवाददाता

२१ फाल्गुन २०७३, शनिबार


पोखरा । कास्कीको पर्यटकीय ताङतिङ गाउँको सिरानमा रहेको गुरुङहरूको अती प्राचीन बस्ती नौंचुबाट ४०० वर्ष अघिदेखिको इतिहास खोतल्ने प्रयास गरिएको छ ।

गुरुङ जातभित्रका विभिन्न समुदायमध्येको एक पौंगीलम गुरुङ समुदाय चार शताब्दी अघि बसेको नौंचुमा पितृहरूको स्मृतिमा नौंचु न्हेज छ्योर्ते(देवालय) निर्माण गर्दै इतिहासको खोजी सुरु गरिएको हो । गुरुङहरूको प्राचीन बसोबास भएको ऐतिहासिकस्थल नौंचुमा आफ्नो पुर्खाको इतिहासलाई जीवन्त राख्ने र थप अध्ययन अनुसन्धानको क्रमलाई अघि बढाउने सोचका साथ लगभग रु नौ लाखको लागतमा छ्योर्ते निर्माण सम्पन्न गरिसकिएको स्थानीय समाजसेवी एवम् छ्योर्ते निर्माण समितिका सल्लाहकार वेदबहादुर गुरुङ (श्याम)ले बताए ।

उनका अनुसार ताङतिङ गाउँको सिरानमा रहेको नौंचुमा ४०० वर्ष पहिले पैंगीलम गुरुङहरू बसोबास गरेकामा उनीहरूका एक सन्तान रिभान गाउँ र अर्को त्यही ताङतिङमा बसोबास गरेका थिए । “नौंचु पौंगीलम गुरुङ समुदायको विशिष्ट महत्व बोकेको ऐतिहासिक स्थल हो,” उनले भने, “अन्नपूर्ण तथा लमजुङ हिमालको शृङ्खला एक साथ अवलोकन गर्न सकिने यो स्थलबाट धवलागिरिका साथै माछापुच्छ«े हिमाल र आसपासका मनोरम पहाडी दृश्यसमेत देखिने भएकाले यहाँको विकासलाई प्राथमिकतामा राखेका छौँ ।”

समुद्री सतहबाट लगभग एक दुई हजार २०० मि को उचाइमा अवस्थित यो स्थलमा लगभग नौ लाख रुपैयाँको लागतमा छ्योर्ते निर्माण गरिएको छ । छ्योर्तेको शुक्रबार एक समारोहकाबीच भूपू राष्ट्रियसभाका सांसद मेजर दीपकबहादुर गुरुङ र भूपू राष्ट्रिय पञ्चायत सदस्य नन्दजङ्ग गुरुङले उद्घाटन गरेका थिए ।

पूर्व सांसद मेजर गुरुङले ऐतिहासिकस्थल नौंचुमा छ्योर्ते निर्माण गरिनुले यहाँको धार्मिक एवम् ऐतिहासिक विशिष्टतालाई उजागर गर्नुका साथै पौंगीलम गुरुङहरूको इतिहासलाई जीवन्त राख्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भूपू राष्ट्रिय पञ्चायत सदस्य नन्दजङ्ग गुरुङले गुरुङजातिको अध्ययन अनुसन्धानका महत्वपूर्णस्थलका रुपमा नौंचु क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे । नौंचु क्षेत्रको विकाससँगै पर्यावरणीय अवलोकनका साथै हिमाली दृश्यावलोकन र गुरुङको सांस्कृतिक रहनसहनको अध्ययन अनुसन्धानमा यसले थप टेवा पु¥याउने गुरुङ जातिको अध्ययन तथा अनुसन्धान गर्दै आउनुभएका अनुसन्धाता मेदिनीकुमार केवल बताउँछन् ।

गुरुङ समुदायको मूल थलो गण्डकी क्षेत्र नै रहेको बताउँदै उनले २०६८ को जनगणना अनुसार नेपालमा उनीहरूको जनसङ्ख्या तीन लाख २५ हजार ६२२ जना रहेको जानकारी दिए । विगत केही वर्ष अघिसम्म पोखरादेखि चाँसुसम्म यातायातका साधन सहज रुपमा पुगेकामा केही समययता ताङतिङ गाउँसम्म नै यातायातका साधन पुग्ने गरेका छन् ।

ताङतिङबाट लगभग दुई घन्टा पदयात्रामार्फत नौंचु पुग्न सकिन्छ । नौंचु आसपासका वनपाखामा फागुन चैतमा फुल्ने लालीगुराँसका साथै असोज–कात्तिकको हरियालीले यो ठाउँ निकै सुन्दर देखिन्छ । ताङतिङबाट लमजुङको घले गाउँसम्म पुग्नलाई पर्यटकीय पदमार्ग निर्माण गरिएका कारण ताङतिङसम्म धेरै पर्यटक अहिले पनि आवतजावत गर्ने गरेका छन् । “गुरुङ जातिको संस्कार, संस्कृतिको अध्ययनका दृष्टिले पनि ताङतिङ गाउँ एक ऐतिहासिक गाउँको रुपमा रहेको छ,”–७० वर्षीय जयबहादुर गुरुङले भने, “नौंचु क्षेत्रको विकाससँगै गुरुङ संस्कृतिको अध्ययन अनुसन्धान गर्नेका लागि पनि यो आकर्षक गन्तव्य बन्न सक्छ ।”

नौंचु क्षेत्रको विकास चार शताब्दी अघिको गुरुङहरूको इतिहासलाई थप अध्ययन तथा अनुसन्धानका लागि पनि महत्वपूर्ण बन्ने मेजर बालासिंह गुङको भनाइ छ । गुरुङ संस्कृतिको अध्ययन अनुसन्धानका साथै यहाँबाट देखिने हिमाली तथा पहाडी दृश्यावलोकनका लागि आउने पर्यटकलाई लक्षित गरी स्थानीयवासीले गाउँमा घरबास (होमस्टे) कार्यक्रमलाई पनि व्यवस्थित बनाउँदै लगेका छन् ।

करिब २४० घर रहेको ताङतिङमा आउने पर्यटकलाई दृष्टिगत गरी होटेल तथा होमस्टे गरी दैनिक १५० जना पर्यटक बस्न सक्ने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस