अहँ ! आत्महत्या त गर्दै गर्दिन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अहँ ! आत्महत्या त गर्दै गर्दिन


प्रशासन विशेष ब्युरो

२१ फाल्गुन २०७३, शनिबार


आइज् न  बाबु एकछिन बसेर जा । सन्देशको न्यास्रो मेटिन्छ । छिमेकी काकीले घरको छतबाटै बोलाईन् ।

आज मात्रै सुर्खेत आइपुगेको, एक हप्ता अफिस छुट्टी लिएर काम विशेषले घर आएको थिएँ ।
काकीको भान्सा कोठामै पुगें। काकी खान बनाउँदै थिइन्,

भाग्यमानी बाबु ….चिया पिउनु पर्छ है ?

अब खाना खाने बेला के चिया पिउनु काकी, बरु एक गिलास पानी पिउछु नि ।
भातै खाएर जा है ?

आजै आइपुगेको काकी, आमाले बनाउँदै हुनुहुन्छ, अर्को दिन खाउँला नि ।

खा न बाबै तेरी आमाले बनाको त खाएकै त छस् सधैं ।

हुन्छ . मैले टाउको हल्लाएँ ।

काका आउने बेला भएन ? कता हुनुहुन्छ ? पसल तिरै त होला ?
अँ ….आउँछन् अब, पसलमै छन् । बेच्देउ भनेको मान्दैनन् । केलाई कमाउनु छ र ? यसै दिन काट्न गाह्रो मान्छन् । जान्छन् उतै ।

काका पनि आईपुगे । काकासँग २ महिना अगाडि मात्रै काठमाडौंमा भेट भएको थियो । सन्देशको शब बुझ्न आएका थिए एरपोर्टमा । खुब भक्कानियाका थिए । त्यसपछि आजै भेट भो ।

सन्देश , काका – काकीको एक्लो छोरो । अष्ट्रेलिया गएको दुई वर्ष जति भएको थियो । उतै आत्महत्या गरेछ । छैसट्ठी –सत्सठी बर्षका खनाल काका त्यस्तै साठी जतिकी काकी, पाँच छोरी पछि छोराको चाहना पुरा गर्न जन्मेको सन्देश, सत्ताइस–अट्ठाईस बर्षको मेरो दौतरी ।

भाग्यमानी भएस् बाबु, कहिले आइस ?

आजै हो काका । सन्चै हुनुहुन्छ,?

मर्न सकिएन त, हातगोडा चलेकै छन् ।

के छ तेरो खबर ? के कति कामले आईस ? छुट्टी त छैन होला ?

ठिकै छ काका । यसो भेटघाट । विशेष केही छैन । अफिसबाट छुट्टी मिलाएर आको, २/४ दिनमा फर्किन्छु।

सन्देशको शब बुझ्न गएको बेला के कुरा गर्नु पीडामा थिए । के रु कसरीरु किन भयोरु भन्ने सही कुरा मलाई थाहा थिएन। त्यस्तै साथीभाइले भनेको सुनेको बाहेक । के कसरी किनरु आत्महत्या गरेछ सोध्न मन थियो तर कसरी कुरा सुरु गरूँ भएको थियो । काका आफैंले कुरा सुरु गरे ।

गुन लाईस बाबु त्यो बेला तैले । हामी त कुन सुरमा थियौं होसै छैन त्यस्तै भो ।

के गुन लाउनु काका, सन्देश मेरो दौंतरी हो । दाजुभाइ जस्तै थियौं हामी । भो नगर्नुस त्यस्ता कुरा ।

काका काकी निकै आत्मीय थिए । सरल अनि सहज, सबैले असल नै मान्थे । काका शब बुझ्न गएको बेला म काम विशेषले काठमाडौं बाहिर थिएँ । मेरी आमाले फोनमा सन्देशको मृत्युको खबरसँगै भन्नु भएको थियो शब भोलि आउँदैछ रे, बुझ्न आउँदैछन् । काठमाडौं फर्की बाबु, परेको बेला गर्नुपर्छ । तेरो बुवाले छोरो उतै छ पिर नगर्नु म भनौंला भन्नु भा छ,लिन गएस यता उता गरेस् भन्नु भएको थियो । अनि म त्यही दिन काठमाडौं फर्केर काकालाई रिसिभ गर्न गएको थिएँ एरपोर्टमा । शब बुझ्नेदेखि शब पठाउनेसम्म सबै चाँजोपाँजो मिलाएर काकालाई शबसँगैै सुर्खेत पठाएको थिएँ ।

कसरी के भएछ काका ? त्यो बेला त्यस्तै भो । केही बुझ्न पाईएन । मलाई त हल्ला बाहेक केही था छैन । किन गरेछ यस्तो ?

खै के भन्नु बाबु मति बिग्रिएपछि, बहादुले मृत्युलाई जित्छ काँतरले मृत्युलाई अंगाल्छ ।

त्यहीसम्मको चोला बोकेर आको रैछ,गयो ।

काकीले खाना पस्किन् ।

लौ काका अब म लाग्छु है बस्नुहोला म निस्किन खोजें ।

बस् न बाबु एकछिन भएपनि नियास्रो मेटिन्छ मेरो । काकी बोलिन्

बस् न् बस् बात गर एकछिन तल बसेर बात गरम् हिंड ।

कोठाको भित्तामा सन्देशको ठूलो फोटो थियो माला लगाएको । मन साह्रै चसक्क भो । खुईइय् गर्दै काकाले नै कुरा सुरु गरे– यस्तै भो बाबु, जिन्दगीमा ठूलठूला जखम सहें मैले र पनि तक्दिरमा यो रैछ टरेन ।

काकाले दुखः बाँड्न चाहे भन्ने आभास भो मलाई, बस् म सुनिरहें काका बोलिरहे ।

छ साले जनम हो बाबु, बहुत ठक्कर खाएँ जिन्दगीमा खै त म मरिन । बहुत कोसिसको बादमा बाँचेकै छु । मर्न आएन मलाई के मति बिग्रियो कान्छाले यस्तो गर्यो ।

यस्तै हो काका, पिर नगर्नु जे हुनु भैसक्यो अब सहनुपर्छ ।

के भन्छस् बाबै मैले कति सहें कि मलाई था छ कि तेरी काकीलाई कि त्यै भगवानलाई था छ । त्यै पनि मन भाँचिन्छ बेला बेला. दुख्छ नि बाबु । चार सालको हुदा मेरी आमा मरिन नौ सालको थें बा पनि गए । गोठालोका सन्तान थिएम् हामी , पिंडालुको गाना र आँटो खाएर यत्रो भाको मान्छे हुम् यो त मेरा लागि स्वर्ग हो बाबु , यस्तो सबै कुरा पुग्दा पनि एकफेरा बाउ आमा सम्झेन । मरेर गयो क्यार्नु ?

म के बोल्नु के बोल्नु भएँ । चुपचाप काकाको अनुहारमा हेरें सार्है उदास आँखा, फुङ्ग उडेको अनुहार, गाँठो परेको निधार, सेतै कपाल, निकै पीडामा डुबेका थिए हेरिमात्र रहें ।

मेरा दिदी बहिनी थिए छ वटा अनि दाइ थिए एउटा । दाइ पनि म तेह्र सालको हुँदा रुखबाट लडेर मरे । बा आमा नभाको म टुहुरो त बाँचेर यहाँसम्म आईपुगें भने हामी त ज्यँुदै थियौ बाबु के पुगेन कुन्नी त्यसलाई अनाहकमा ज्यान फाल्यो । गला अबरुद्ध पार्दै काका बोले । त्यसपछि म इन्डिया गएँ उ बेलामा देश भन्थे । एक सालमै फर्केर तेरी काकीसँग भागेर ब्या गरें । ठकुरीकी छोरी बाहुनले ल्यायो भनेर बहुत खुब गरें । ठकुरी खलकले नि बसी खानु दिएनन् । हातपात गरे लखेटे । आफ्नै काका मामा ले नि पत्याएनन् । पछि तेरी काकीलाई भगाएर इन्डिया गयांै । अठार साल उतै बस्यौं । मरें बाचें पता थिएन मेरो अरुलाई । पहाडमा दिदी बहिनीको ब्या भैसकेको थियो उनीहरुलाई नि पता भएन । तीस साल बाद फर्केर आएँ । खोरियामा गोठ थियो घर बनाएँ, पाखो थियो कमाएँ, धीरे धीरे सात आठ साल काटें । चार छोरी देश नै जन्मेका थिए । यहो रैछ तक्दिरमा अर्की छोरी जन्मी अनि बादमा सन्देश जन्म्यो । अब छोरोलाई खुब ओस्ताज बनाउँछु सोचेर दैलेखबाट सुर्खेत झरें । के गरिन बाबै, अर्काको अधियाँ जग्गा कमाएर खाईन कि,ज्यामी भैन कि, गारो लगाईन कि, सबथोक गरें बाबु । यसै यो सब कहाँ मिल्यो र ? छोरीहरुलाई नि अलि अलि पढाएँ सादी गर्दिएँ अब यो सब छोराकै लागि त गरें नि । मलाई त यो सब के चाहियो र ?उसकै खातिर त गरेको हो नि ‘. . के मेरा दुःख कम छन् म त मरिन त तर आज छोराले गर्छ भन्ने बेला यो जखम …काका टक्क रोकिए केहि बोलेनन्  एकछिन् ।

सन्देश र म एकै स्कुल पढेको, पढनमा राम्रै थियो,खुब माया गर्थे काका ..स्कुल पढ्ने बेला साईकल हुनु त सपनै थियो तर सन्देशको साईकल थियो । काका इन्डिया बसेकै कारण बोल्दाखेरी हिन्दी शब्द मिसाउँथे बीच बीचमा । मलाइ खुब मन पथ्र्यो । पलस टु पछि उसले खै किन पढ्न तेती मन गरेन म इन्जिनियरिङ गर्न लागें ऊ घरमै बस्थ्यो पसल हेथ्र्योे । नीन वर्षपछि इन्जिनियरिङ नै गर्न अष्स्ट्रेलियागएको थियो ।

काम धन्दा सकेर काकी आईन् मेरै छेउमा बसिन् काका बोल्दै गए । भैंसीको दुध बेचें,अर्काको पसलमा नोकर लागेर काम गरें बहुत दुख गरें । खोला छेउमा घुम्ती जस्ता पाताले बनाएको सानो घर जस्तो पसल गरें बहुत साल, आफुले अँधिया रोपेको धान बेचेर रोटी खाएर पैसा जम्मा गरें । के मेरा दुःख कम छन् म पनि मर्नु पथ्र्यो त ? यस्तो बाउको छोरोले आत्महत्या गर्छ मैले सोचिन कहिल्यै । आफ्नो ढाड भाँचेर यो सब गरेको सबै त्यसकै लागि त थियो अब त्यो नै रहेन के काम बाबु । अहिले यत्रो पसल छ के काम भो ? सबै पुगेकै छ किन जान्छस् भन्दा पढ्छु अब भन्यो । रोकिनँ । बरु यर्ही मरेको भए पनि आखा आगाडि हिंड्दा हिंड्दै मरेको त देखिन्थ्यो । नदेखेको दुई साल हुन लाग्या थ्यो लास बुझ्न पर्यो । तकदिर नै खोटो …

काकी आँखाभरि आँसु बनाएर बग्दै रैछिन पुलुक्क हेरें आँसु पुछिन् । मन थाम्नै गाह्रो भो काका नि बोलेनन् एकछिन ।

बिहे गर पसल चला किन जान्छस् अष्ट्रेलिया भनेको हो मैले त, मानेन । बाउले नै पठाए ,देश विदेश घुम्छ पढ्छ लेख्छ भने अहिले आफैंशव बोकेर आए बाबु –काकी एक्कासी भक्कानिइन् ।

नरो नरो, पाजी मरेर जानेलाई दिलमा नराख अब । हामीलाई एक बार सम्झेको भए त मर्थेन होला । दिल नदुखा –काकाले मन बुझाउन खोज्थे तर आँखाले पीडा झारिरहेकै थिए । काका बोल्दै गए – मरण सत्य हो तर आत्महत्याले बढी पीडा दिने रैछ, बहुत सपना हुन्छन् बाबु बाउ–आमाको छोराछोरी माथि । जिन्दगीमा आफूले गर्न नसकेका र नपाएका कामकाज छोराले पुरा गरोस् भन्ने सपना देख्छ बाबुले । बहुत पढाउँछु देश विदेश देख्छ अनि फर्केर आएपछि केही काम गरे ठिकै छ होइन भने यही पसल छ महिनामा साठीअसी हजार बसीबसी आउँछ भन्ने थियो सबै माटोमा मिल्यो सपना । भित्र भित्रै काका यसरी बर्बराउँथे कि उनको भित्र कहिल्यै ननिभ्ने राँको दन्केको छ । र आफैं चित्त बुझाउँदै भन्थे – खैर !! तकदिर यस्तै रैछ ।

अनि काका पोस्टमार्टम रिपोर्ट के रैछ ? आको थियो होला नि ?

केही देखिएन बाबु, आफ्नै कोठामा झुन्डेको फेला पारेछन् । सुसाइड भन्यो डाक्टरले त्यही रिपोर्ट थियो बाक्सामा ।

चार दिन अगाडि मात्रै कुरा भाको थ्यो, दशैंमा आउँछु भन्थ्यो, अब कहिल्यै नआउने गरी गयो काकीले टिलपिल आँखा पर्दै भनिन् ।

सार्है गला अबरुद्ध भो मेरो पनि म बेला बेला एउटी वाक्य बोल्थे – जे हुनु भैसक्यो काकी अब चित्त बुझाउनु पर्छ यो बाहेक म सँग कुनै जवाफ नै थिएन ।

छोरो पाइयो के के न भो स्वर्ग गइयो सोचेका थियांै बाबु सन्देश जन्मिदा । आज यो बुढेसकालमा नर्कमा नपाउने दुःख पाइयो खै कुन्नी के पाप गरिएको रैछ? हामीले सबै कुरा दिएकै थियांै बाबु । भन्नले त के के भने भने,कतिले अष्ट्रेलिया जाँदाको ऋण तिर्न नसकेर मर्यो भने कतिले केटीको कारण होला भने, आफ्नो खुद पैसा लागेर गएको हो बाबु । न कसैको लिनु छ न कसैलाई दिनु छ । पैसा नि पठाएकै थियो हामीलाई । सत्ताईस–अट्ठाईसको कल्कलाउने उमेरमा के पिर पर्यो कुन्नि त्यसलाई भगवान् जानुन् बाबु किन यस्तो अर्यो । हामी त मर्ने बेला भैसक्यो, पाँच वटी दिदी बहिनी छन् उनीहरु पनि टुहुरा हुने भए । न रंग न हर्क हुने भयो बाबु तिनीहरुको जिन्दगीभरी । यस्तो दिन पनि देख्न परो भगवान –काकी बरबरी आँसु झार्न थालिन् ।

बहुत कोसिस गरेर थामेको मेरो मन पनि भत्कियो । मन भरिएर आयो , छचल्कियो ..पोखियो आँखाबाट ।

वहुत दिन बात दिल खोल्न पाइयो बाबु नराम्रो नमाने–काका बोले दुख बाँडिन् खोज्दो रैछ ।

अब पिर नगर्नुस काका, काकीलाई सम्झाउनुस,यस्तै हो जिन्दगी के गर्नु रु जे पर्छ भोग्न पर्छ ।

एउटा कुरा दिलमा राख बाबु, मर्नु भनेको समस्याको समाधान होइन ।

सयौंको दिल दुखाउनु कस्तो समाधान हो ? समस्यासँग जुधेर जिन्दगी जिउने हो ।

दुःख पिर कति झेले खै त मलाई मर्न आएन, मर्ने त मर्योमर्यो गयो, सकियो । बाँच्नेहरुलाई के पर्छ उसलाई के थाहा ? बाच्नेहरु चाहेर पनि मर्न सक्दैनन् । हामीलाई हेर । बाँच्नलाई लाख कोसीस गर, अकालमा मर्ने सोच्दा नि नसोच । हजारका सपना तिमी एक जना अनाहकमा मर्दा मर्छन बाबु ।

हामीले के के सोचेका थियौं कुन रोशनी देखेका थियौं आज यो अन्धेरा भोग्दै छौं । अचानोको पीर खुकुरीलाई था हँुदैन । बरु अचानो बनदेउ । समस्या पर्छ, यति सानो उमेरमा के पीर हुन्छ ररु जिन्दगीमा हण्डर ठक्कर कति खाईन्छ खाईन्छ । समस्या पर्यो, भनेजस्तो भएन, पीर पर्यो भनेर मर्ने हो भने त संसार उहिल्यै रित्तिसक्थ्यो बाबु । भगवान ना करे दिलमा यस्तो मर्ने बात आयो भने एकबार आफ्नो बा आमा सम्झिनु परिवार सम्झिनु उसकी बाद पनि तिमीमा हमदर्दी जागेन भने ………..

काका एकैछिनमा यसरी प्रस्तुत भए कि म अहिले नै आत्महत्या गर्दै छु । अनि बिस्तारै खुईइय्.. गर्दै मौन भए ।

काकी आँखाभरी आँसु बनाउँदै म तिर हेर्थिन अनि भित्ताको सन्देशको तस्बिर हेर्दै आँसु पुछ्थिन । मलाई भने कुन बेला निस्केर जाउँ जस्तो भैसकेको थियो काकी बोल्न थालिन – सबै सपना मरे बाबु । एउटी आमाले के सोचेकी हुन्छे त्यो म कसरी भनुँ , मन बुझाउन खोज्छु सक्तिन, खुब रुन्छु तर ऊ फर्केर आउँदैन । मुटु निस्केला जस्तो हुन्छ । दैबले मलाई नि लगे हुनी,लाँदैन –काकीले बरबरी आँसु झार्न थालिन् ।

भयो काकी अब पीर नगर्नुस्, मैले भन्न सक्ने यत्ति थियो ।

पीरको भारी सकियो झैँ लाग्थ्यो, थपियो बाबु बुढेसकालमा । कति खोतल्नु कति दिल जलाउनु । अब पल्टिउँ बाबु ओछ्यान तिर, काका उठ्न खोजे ।

हुन्छ काका म जान्छु । बस्नुहोला । भेट्दै गरौंला नि दुई/चार दिन बस्छु म ।

यसो बोलाउँदै गरेस् बाबु न्यास्रो मेटिन्छ–काकी छचल्किंदै बोलिन् ।

म टाउको हल्लाउँदै हुन्छ को भावमा निस्कें ।

घर भित्र पसें । किन हो कुन्नी मेरी आमालाई हेर्न सार्है मन लाग्यो । बुवा आमाको कोठामा छिरें । आँखा भरिएर आयो रोक्नै सकिन । फर्केर आफ्नो कोठामा छिरे । मन भरिएर आयो . ..

बेडमा पल्टें पटक्कै निन्द्रा लागेन । झल्झली काका काकीको अनुहार र पीडा आँखै अगाडि नाच्थ्यो । अनि मन मनै कसम खाएँ – “सारा संसार ध्वस्त भएर म एक्लै ज्यूँदो भएपनि आत्महत्या त गर्दै गर्दिन ”

Tags :
प्रतिक्रिया दिनुहोस