मकैको बीउमा आत्मनिर्भर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मकैको बीउमा आत्मनिर्भर


१४ फाल्गुन २०७३, शनिबार


म्याग्दी । मकैको बीउमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ ।

मुख्य खाद्यबालीको रुपमा रहेका मकैको खेतीका लागि आवश्यकपर्ने बीउ जिल्लामै उत्पादन हुन थालेपछि बीउमा आत्मनिर्भर भएको हो ।

मकै खेतीका लागि वार्षिक २० मेट्रिकटन बीउ आवश्यकपर्ने म्याग्दीमा ३९ मेट्रिकटन बीउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

आन्तरिक मागको आपूर्तिपछि बाँकी बीउ लमजुङ, कास्की, तनहुँ, बागलुङ, पर्वतलगायत जिल्लामा निकासी हुन थालेको छ ।

पाँच वर्षयता म्याग्दीमा मकैको बीउ आयात नभएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए ।

म्याग्दीमा नौ हजार ८७२ हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेका छन् । गतवर्ष जिल्लामा ३१ हजार ७४६ मेट्रिकटन मकै उत्पादन भएको उनले बताए ।

जिल्लालाई खाद्यन्नबालीको बीउमा आत्मनिर्भर बनाउने उद्देश्यले वि.सं. २०६२ देखि यहाँ बिजवृद्धी कार्यक्रम सञ्चालनमा छ । कृषक बीउ उत्पादनप्रति आकर्षित भएपछि गहुँ बीउको आयात पनि घटेको बागबानी विकास अधिकृत थापाले बताए ।

कार्यालयले तोरीपानी, बगरफाँट, बाबियाचौर, हिदी, ताकम, झिँलगायतका ठाउँमा मकैबालीको विजवृद्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यहाँका कृषकलाई कार्यालयले ५० प्रतिशत अनुदानमा मनकामना तीन, मनकामना एक र अरुण एक जातको मकैको मूलबीउ उपलब्ध गराउँछ ।

उनीहरुले उत्पादन गरेको प्रथम र दोस्रो पुस्ताको बीउ खरिद गरेर अन्य ठाउँका कृषकलाई वृहत्तरमध्य पहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा वितरण गर्ने व्यवस्था मिलाएको छ ।

यसवर्ष १७ दशमलव ५ मेट्रिकटन प्रथम पुस्ताको उन्नत बीउ र ८५० केजी मूल बीउ वितरण गर्न सुरु भएको कार्यालयले जनाएको छ ।

कृषि विकास कार्यालय र त्यसका सेवा केन्द्रमार्फत बीउ वितरण गर्ने व्यवस्था मिलाएको छ । प्रतिकिलो मकैको बीउको मूल्य पचास रुपैयाँ पर्छ ।

विगत केही वर्षयता व्यावसायिक रुपमा मकैको बीउ उत्पादन गर्दै आएको घतान तोरीपानीका कृषकले बीउबाट नगद आम्दानी गर्न सफल भएका छन् । मकैको बीउ बेचेर एकजना कृषकले वर्षमा २५ हजार रुपैयासम्म आम्दानी गर्ने भगवती बीउ उत्पादक कृषक समूहका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले बताए ।

उनका अनुसार तोरीपानीका ५० घरधुरी कृषकले यस वर्ष सात मेट्रिकटन मकैको बीउ उत्पादन गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस