चिलीमा ठूलो डँढेलोबाट ब्यापक वन विनाश « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

चिलीमा ठूलो डँढेलोबाट ब्यापक वन विनाश


प्रशासन संवाददाता

७ फाल्गुन २०७३, शनिबार


सान्टियागो(एजेन्सी) । चिलीमा गत जनवरी १८ देखि फेब्रुअरी ५ सम्म फैलिएको दावानलका कारण ४ लाख ६७ हजार हेक्टर क्षेत्रफल (एक हेक्टर बराबर करीब बीस रोपनी) जङ्गल र वन पैदाबार सखाप भएको छ ।

यसको मौद्रिक मूल्याङ्कन गर्दा अनुमानित दुई करोड पैंसाठ्ठी लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको मुलुकको नेशनल फरेस्ट्रि कर्पोरेसन (कोनाफ) ले जनाएको छ ।

दावानलबाट अत्यधिक प्रभावित क्षेत्रहरुमध्ये कोकिम्बो र ला आरोक्यानिया परेका छन् । मुलुकका सात सयभन्दा बढी इलाकाका जङ्गलमा फैलिएको डँढेलोले अग्नी नियन्त्रक कर्मचारीसहित एघारजना मानिसहरुको ज्यान लिनुका साथै एक हजार भन्दा बढी मानिसहरुलाई घरबार बिहिन तुल्याएको छ । चिलीकै इतिहासमा यस अघि यो भन्दा ठूलो दावानलको घटना भएको थिएन ।

चिली सरकारले डँढेलो नियन्त्रण कार्यका लागि बीस हजार जति तालिमप्राप्त अग्नी नियन्त्रक कर्मचारी र स्वयंसेवकहरु, उनान्चास वटा विमान परिचालन गरेको थियो । साथै, पुनर्बृक्षारोपण तथा नष्ट भएका वन्य संरचना पुनर्निमाणका लागि राज्यले ३३ करोड ३० लाख अमेरिकी डलरको बजेट छुट्याएको छ ।

कोनाफका अनुसार, विश्वभरीका दावानलका घटनालाई हेर्ने हो भने, चिलीको यस डँढेलोलाई यस शताव्दिकै सबभन्दा भयानक दैवी प्रकोप मानिन्छ ।

यस अघि क्यानाडाको अल्बर्टा अरण्य क्षेत्रमा फैलिएको डँढेलोलाई सबभन्दा भयानक मानिएको थियो । सो डँढेलोमा परी क्यानाडाको सात लाख हेक्टर जङ्गल सखाप भएको थियो ।

प्रतिक्रिया दिनुहोस