स्ववियु निर्वाचन अर्थपूर्ण बनाउन विद्यार्थी संगठनको भूमिका « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्ववियु निर्वाचन अर्थपूर्ण बनाउन विद्यार्थी संगठनको भूमिका


२४ माघ २०७३, सोमबार


विद्यार्थी देशका आसा र भरोसाका पात्र हुन् । देशमा आएको हरेक परीवर्तनमा विद्यार्थीको भूमिका अग्रणी रहेको छ । भनिन्छ विद्यार्थी वर्तमानका साझेदार भबिष्यका कर्णधार हुन भनेर । वास्तवमै यर्थात हो । वर्तमानको संकटसंग जुध्न सक्ने क्षमता तरुण विद्यार्थीहरुसंग मात्र हुन्छ । नेपालको सुन्दर भबिष्यको खोजी पनि तरुण विद्यार्थीकै हातमा छ । विद्यार्थीहरुका हकहित, संरक्षण र संम्वद्धन गर्ने हेतुले कलेजमा अध्यनरत विद्यार्थीहरुको बौद्धिक, चारित्रिक, शैक्षिक क्षमता र नेतृत्व क्षमता विकास गर्नका लागि उपयुक्त कार्यक्रम सञ्चालन गरी कलेजको सर्वाङ्गिण विकासका लागि आवश्यक सल्लाह सुझाब र सम्बन्धित निकायलाई जिम्मेवारी बनाउने उद्देश्यपूर्ण अभिारालाई पूरा गर्न खोलिएको व्यवहारिक, वैज्ञानिक र बैधानिक संस्था हो स्ववियु ।

बि.स. २०२७/२०२८ सालबाट स्ववियु निर्वाचनको सुरुवात भएको पाइन्छ । बि.स. २०२७/२०२८ सालबाट स्ववियु निर्वाचन सुरु भए पनि तत्कालीन निरंकुश पञ्चायत सरकारले बि.स. २०३० सालमा बन्द गर्यो । जसरी पञ्चायती निरंकुश सरकारले स्वबियुलाई बन्द गर्यो । यसरी देशभरका कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले यसका बिरुद्धमा शिक्षालाई समय सापेक्ष, वैज्ञानिक, व्यवहारिक र जीवन उपयोगी बनाउनका लागी बि.स. २०३५ सालको विद्यार्थी आन्दोलनको सफलता पछि स्ववियु निर्वाचनले पुनः सुरुवात पाएको थियो । तत्कालीन निरंकुश पञ्चायती शासकको शाशन कालमा कुनै पनि राजनीतिक पाटिले कलेज भित्र वा बाहिर कार्यक्रम गर्दा स्ववियु र कलेजका विद्यार्थीहरुलाई अगाडी लगाउथे । यस्तो पक्रिया अहिलेसम्म पनि जारी छ । त्यति बेला दलहरु प्रतिबन्धित अवस्थामा थिए ।  प्रतिबन्धित अवस्थामा भएकोले पनि विद्यार्थी संगठनलाई अगाडी लगाउथे । विद्यार्थीहरुका हितका निम्ती कार्य गर्ने कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको साझा संगठन हो स्ववियु । स्ववियु कलेजमाअध्ययनरत सम्पूर्ण विद्यार्थीको मतबाट विजयी वैधानिक, वैज्ञानिक संस्था हो । देशका हरेक विद्यार्थी आन्दोलनमा  (कलेजमा) स्ववियुको महत्वपूर्ण भूमिका छ । स्ववियुले विद्यार्थीको हक हितका लागि मात्र नभएर देशमा घटेका यर्थात घटना क्रमलाई नियाली यर्थातता बुझि राम्रो कार्यलाई सहयोग र गलत कार्यका विरुद्धमा खबदारी गर्दै महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

स्ववियुले विद्यार्थीको हक हितका लागि मात्र नभएर देशमा घटेका यर्थात घटना क्रमलाई नियाली यर्थातता बुझि राम्रो कार्यलाई सहयोग र गलत कार्यका विरुद्धमा खबदारी गर्दै महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

नेपालको ईतिहासलाई विगततर्फ फर्केर हेर्ने हो भने नेपालमा परिवर्तनको शुरुवाती नेपाली विद्यार्थीहरुकै हातबाट भएको मान्न सकिन्छ । नेपालमा १०४ बर्षसम्म जरा गाडी वसेको राणा शासन हटाउनको लागि आन्दोलनको विउ नेपाली विद्यार्थीहरुले नै रोपेका थिए । तत्कालीन समयमा अर्थात बि.स. १९९३ सालमा बनारसमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु गणेशमान सिँह, बी.पी. कोईराला लगायतका अध्ययनरत विद्यार्थीहरुले बनारसमै नेपाल छात्र संघको गठन गरी राणा शासनका बिरुद्धमा संगठित भएर आन्दोलनको श्रीगणेश गरेका थिए । त्यहि संगठन नै नेपाली विद्यार्थीहरुको पहिलो र जेठो संगठन हो । कालखण्ड समय अनुसार नेपाल छात्र संघको नाम परीवर्तन हुदै बि.स. २०२७ सालमा नेपाल विद्यार्थी संघ भएको छ । जसरी जहानीया राणा शासनको अन्त्य गर्नका लागि नेपाली विद्यार्थीहरुले विदेशी भूमिमा बसेर पनि संगठित भएर लाग्ने कामको थालनी गरेदेखि नेपाली विद्यार्थी आन्दोलन र विद्यार्थी संगठनले नेपाली माटोमा नयाँ उचाइ पाएको थियो । बि.स. २००७ साल अघिको जयतु संस्कृतम् आन्दोलनलाई नेपाली विद्यार्थीहरुको पहिलो आन्दोलन हो । विद्यार्थीहरुको जयतु संस्कृतम् आन्दोलनदेखि देशका हरेक परिवर्तनमा अग्रणी र महत्वपूर्ण भूमिका रहेको छ । यसरी विगतमा विद्यार्थी संगठनहरु थोरै मात्रामा थिए । सीमित कलेजमा मात्र विद्यार्थी संगठन थिए । सीमित कलेजमा मात्र स्ववियु थियो वर्तमानमा आएर स्ववियुले आफ्नो आकार फराकिलो बनाएको छ । आज देशका धेरै जसो कलेजहरुमा स्ववियु छ भने सीमित कलेजमा मात्र स्ववियु छैन । यसमा विद्यार्थीहरुले शशक्त रुपमा आवाज उठाउन जरुरी छ स्ववियुले आगामी दिनहरुमा समग्र शैक्षिक विकासका साथै शिक्षाको गुणस्तर अभिबृद्धि गर्नका लागि नेतृत्वदायी भूमिका निभाउन जरुरी छ ।

देशका हरेक आन्दोलनमा विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण छ आगामी दिनहरुमा पनि रहि रहने छ । बि.स. २०६५ सालमा भएको स्ववियु निर्वाचन प्रत्येक दुई दुई वर्षमा भई सक्नु पर्ने हो तर आठ वर्षको अन्तरालमा स्ववियुको निर्वाचन हुन गई रहेको छ आज नेपाली राजनीतिमा स्थानीय तहको चुनावको चर्चा परिचर्चा हुन थालेको छ । विगतमा पनि २०७० साल जेठ २३ गते तोकिएको स्ववियु चुनावको मिति दोस्रो संविधान सभाको चुनाव र विद्यार्थी संगठनको चरम विवादका कारणले रोकिएको थियो । अझै पनि स्ववियु चुनावको दुर्दशा विगतको जस्तै त हुने होइन भन्ने गंभिर शंकापूर्ण प्रश्न अझै नामेट हुन सक्ने अवस्था छैन । किनकी यो विगतको भोगाइले दिएको शिक्षा हो । शिक्षाध्यक्षको कार्यलय विद्यार्थी कल्याण तथा खेलकुद निर्देनालय अन्र्तगत रहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितीको माघ १३ गते बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय सहितको कार्यतालिका सार्वजनिक गरेको छ । यस अवस्थामा विद्यार्थी नेताहरुले पनि चुनावी माहोल आ–आफ्ना पक्षमा पार्न सक्रियता वढाएका छन् । विगत ८ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन हुने भए पछि विद्यार्थी नेताहरुमा उत्साह र जोस थपिएको छ ।

अझै पनि स्ववियु चुनावको दुर्दशा विगतको जस्तै त हुने होइन भन्ने गंभिर शंकापूर्ण प्रश्न अझै नामेट हुन सक्ने अवस्था छैन

विगतमा पनि दुई पटक स्ववियु निर्वाचनको मिति घोषणा भई स्थगित भएको थियो । यसो हुनुको पनि मूख्य कारण पनि विद्यार्थीहरु र तिनका संगठन नै जिम्मेवार थिए किनकी विद्यार्थी संगठनको अनावाश्यक विवादल टियुलाई नै स्ववियु निर्वाचन स्थगित गर्ने सजिलो बाहाना बनाइ दिन्छ । यसकारणले पनि अहिलेसम्म स्ववियु चुनाव हुन सकेको छैन । बिगतमा पनि विद्यार्थी संगठनले स्ववियु निर्वाचन अर्थपूर्ण बनाउन एक अर्कालाई प्रतिशोध नराख्ने, कम खर्च गर्ने, गुण्डागर्दी शैली कसैले नअपनाउने स्वच्छ शान्तिपूर्ण चुनावमा सहभागी हुने जस्ता आचार संहिता निमार्ण गरी चुनावी मैदानमा उभिएका थिए । जब चुनावी मैदानमा होमिए पश्चात भने भए, गरेका सवै सम्झौता आचार संहिता भुली एक अर्काप्रति आरोप प्रत्यारोप विभिन्न ठाउमा झडप हुने जस्ता कारणले प्रत्येक दुई बर्षमा हुनु पर्ने स्ववियु निर्वाचन ८ बर्षसम्म पनि हुन नसकेको अवस्था छ । त्यति मात्र होइन शिक्षाध्यक्षको गाडी समेत जलाएको घटना पनि स्ववियु निर्वाचनको विषयसँग कहिनकहि जोडिएकै कुरा हो । विगतमा पनि विद्यार्थी संगठनले स्ववियु चुनाव मर्यादित बनाउन विभिन्न किसिमका आचार संहिता बनाए तर अन्तमा आएर स्ववियु निर्वाचन स्थगित हुन पुगेको थियो त्यहि अवस्था १४ गते हुन गई रहेको स्ववियु निर्वाचनमा पनि हुन नसक्ला भन्न सकिदैन । किनकी विगतले सिकाएको पाठ पनि यहि हो । त्यसकारण ८ बर्ष पछि हुन लागेको स्ववियु निर्वाचन सम्पन्न पार्न सरोकारवाला सबैले ईमान्दारीका साथ लाग्नु पर्छ यदि सवै विद्यार्थी संगठनले स्ववियु चुनाव सफल बनाउन नलाग्ने हो भने यो पटकको स्ववियु निर्वाचन पनि विगत जस्तै मिति घोषणामै सीमित हुने देखिन्छ । यसको आकलन हुने ठाउ प्रशस्त मात्रामा छ । अहिले जसरी टियुले २८ बर्ष उमेरको हदबन्दि राखि स्ववियु निर्वाचन गर्न लागेको छ यसमा नेविसंघको एक समूहले फरक मत राखेको छ । यसमा नेविसंघका नेताहरुले पनि टियुले गरेको उमेर हदबन्दिको व्यवस्थालाई स्वीकार गर्दै स्ववियु चुनाव सफल बनाउन लाग्नु पर्छ र सबै संगठनले पनि स्ववियु चुनाव सफल बनाउन लाग्नु पर्छ । यदि अझै पनि विद्यार्थी संगठन ईमान्दारी भई स्ववियु चुनाब सफल बनाउन नलाग्ने हो भने बिगतकै नीयती दोहरिन्छ र टियु र यसका मातहतमा रहेका कलेजहरुका गतिबिधि अझै अन्यौलपूर्ण बन्छन् । त्यसकारण टियु र यसका मातहतमा रहेका कलेजहरुका गतिबिधि चुस्तदुरुस्त बनाउन यस पटक स्ववियु निर्वाचन सफल बनाउन सरोकारवाला सबैले विगतबाट प्राप्त अनुभवलाई श्रियोधार्य गर्दै अगााडी बढ्नु पर्छ । विगतमा जसरी स्ववियु चुनावका नाममा चन्दा आतङ्क र करडौँ रकम खर्च गरी फर्जी विद्यार्थी भर्ना गर्ने कार्य यस पटकको चुनावमा हुनु हुदैन । किनकी यस खालका गतिबिधिले फेरी विगतकै इतिहास दोहरिन्छ ।

८ बर्ष पछि हुन लागेको स्ववियु निर्वाचन सम्पन्न पार्न सरोकारवाला सबैले ईमान्दारीका साथ लाग्नु पर्छ यदि सवै विद्यार्थी संगठनले स्ववियु चुनाव सफल बनाउन नलाग्ने हो भने यो पटकको स्ववियु निर्वाचन पनि विगत जस्तै मिति घोषणामै सीमित हुने देखिन्छ

विद्यार्थी भनेका देशका भविष्य निमार्णकर्ता र नेतृत्वकर्ता हुन् । विद्यार्थीले आफ्नो नेतृत्व क्षमता देखाउने पाठशाला पनि स्ववियु नै हो । देश हाक्ने हरेक नेता पनि विद्यार्थी राजनीतिबाटै आएका छन् । यसकारणले पनि यस पटकको स्ववियु निर्वाचन सम्पन्न गर्न सबै विद्यार्थी संगठनले ईमान्दारीका साथ लाग्नु पर्छ । विगतका जसरी अनाबश्यक विवाद गरी स्ववियु चुनाव स्थगित हुनु हुदैन । विपीले भन्नु भएको छ कलेज भनेका त विचार र सिद्धान्तको द्धन्द्धात्मक भूमि हो भनेर तर विद्यार्थी संगठन र तिनका माउ पाटिले आफ्नो स्वार्थपूर्तीको साधनका रुपमा प्रयोग गरि रहेका छन् । विपीले भने जस्तै कलेजहरुमा विचार र सिद्धान्तले लड्ने हो तर पछिल्लो समयमा आएर छापामार शैली हावी हुदै विद्यार्थी संगठनका गतिविधि फरक बाटोमा अग्रसर हुदै गएका छन् । यस्ता गतिविधिले स्ववियु निर्वाचन सार्थक हुन सक्दैन । यसर्थ फगुन १४ गते सम्पन्न हुन गईरहेको स्ववियु निर्वाचन अर्थपूर्ण, मर्यादित बनाउन विद्यार्थी संगठनले आपसी मन मुटाव त्यागि स्वच्छ वातावरणमा स्ववियु निर्वाचन सम्पन्न गर्नु पर्छ । स्ववियु निर्वाचन सफल बनाएर मात्र स्ववियु निर्वाचन अर्थपूर्ण हुदैन । स्ववियु निर्वाचन अर्थपूर्ण तव हुन्छ जव विद्यार्थीहरुका हकहितका लागि जिम्मेवारीका साथ काम गर्न सक्छ ।

अनिवार्य निशुल्क व्यवहारिक, वैज्ञानिक, समय अनुकुल शिक्षा विद्यार्थीहरुको हक अधिकार भन्ने कुराको आधार जयतु संस्कृतम् आन्दोलनले देखाएको छ । जसरी शिक्षालाई व्यवहारिक,वैज्ञानिक, सर्वशुलभ बनाउन आवाज उठ्यो यसरी नै स्ववियुहरुले पनि विद्यार्थीका हक अधिकारका साथै टियुका हरेक गतिविधलाई सामाधान गर्न नेतृत्वदायी भूमिका खेल्नु पर्छ । टियुका हरेक गतिविधहरु अन्यौलपूर्ण अवस्थामा छन् ती गतिविधिहरुलाई सामाधान गर्न स्ववियुले शशक्त भूमिका निभाउनु पर्छ । टियुबाट सम्वन्धन प्राप्त अन्य कलेजहरु आज त्रिविको नीति नियम अप्रादर्शिक भएका कारण सम्वन्धन प्राप्त कलेजहरुका गतिविधि पनि अन्यौलपूर्ण अवस्थामा छन् । अहिले त्रिविले समयमा नतिजा ननिकाल्नु परीक्षाको निश्चत समय नहुनु जस्ता समस्याहरु रहेका छन् । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीमा परेको छ । यी विषयहरुलाई समाधान गर्न स्ववियुले अग्रणी भूमिका निभाउनु पर्दछ जवसम्म स्ववियुले विद्यार्थीका हकहितका लागि काम गर्न सक्दैन् तवसम्म स्ववियु निर्वाचन अर्थपूर्ण बन्दैन । स्ववियु निर्वाचन अर्थपूर्ण बनाउन विद्यार्थी संगठनले विद्यार्थीका हक हितका लागि अग्रणी कदम चाल्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस