निर्वाचन दिवस फागुन ७ गते मनाइने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

निर्वाचन दिवस फागुन ७ गते मनाइने


१६ माघ २०७३, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले अव प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ ।

नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आमनिर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो ।
२०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए ।

दिवसमा अवसरमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले मुख्य अतिथिका रुपमा भाग लिनेछन् ।

लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक भव्यताका साथ दिवस मनाउने तयारी गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मुलुकमा २०५४ सालपछि स्थानीय निकायको चुनाव हुन सकेको छैन । जसका कारण ३५ वर्ष उमेर समूहका ८० लाख नागरिकले स्थानीय तहको निर्वाचनको मतदानमा भाग लिन पाउने नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार आगामी २०७४ साल माघ ७ गतेभित्र सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने पूर्वसन्ध्यामा आयोगले निर्वाचन दिवसको समेत किटानी गरेको छ ।

दिवसका अवसरमा आयोगले प्रभातफेरी, अन्तरसंवाद, आयोगका पूर्व पदाधिकारीको सम्मानका साथै नेपालमा निर्वाचनको इतिहास सम्बन्धी पुस्तकको विमोचन गर्ने जस्ता कार्यक्रम तय गरेको सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए ।

निर्वाचन दिवसलाई कसरी भव्य र सभ्य तुल्याउने भन्नेबारेमा आयोग विभिन्न तयारीमा जुटिरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस