पूर्वाधारका ठूला परियोजना अघि बढेका छन्– मन्त्री लेखक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पूर्वाधारका ठूला परियोजना अघि बढेका छन्– मन्त्री लेखक


प्रशासन विशेष ब्युरो

१४ माघ २०७३, शुक्रबार


काठमाडौँ, १३ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले मुलुकको समृद्धिका आवश्यक पूर्वाधारका ठूला परियोजनाका काम अघि बढेको बताएका छन् ।

सञ्चारकर्मीसँगको छलफलमा आज मन्त्री लेखकले मन्त्रालयले विगतका परियोजनाका कामलाई निरन्तरता दिएको जानकारी गराउँदै विविध चुनौती र समस्याले थाँती रहेका धेरै परियोजनामा पछिल्लो समयमा सफलता प्राप्त भएको बताए ।

मन्त्रालयको बजेटमध्ये हालसम्म २१.४१ प्रतिशत पुँजीगत खर्च भएको र ८० प्रतिशत पार गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले भने, “हुलाकी राजमार्गमा विगतमा देखिएको अन्योल समाप्त भई पछिल्लो चरणमा भारतसँगको समन्वयमा धेरै काम भएको छ । तराईका १५ जिल्लामा ६०० किमी लम्बाईभन्दा बढी सडकको काम अघि बढेको छ ।”

मुलुकको बहुआयामिक महत्वको द्रुतमार्ग निर्माणका सम्बन्धमा यस अघिको निर्णय रद्द गरी सरकारले आफैबनाउने गरी काम अघि बढेको जनकारी गराउँदै मन्त्री लेखकले भने, “परियोजनाको समग्र अध्ययन गरी प्रतिवेदन तयार गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सात सदस्यीय समिति बनेको छ । समितिले तीन महिनाभित्र प्रतिवेदन दिने गरी कार्यादेश दिइएको छ ।”

पूर्वाधारका निर्माणमा मुख्य गरी गुणस्तरीय निर्माण र निर्धारित समयावधिमा निर्माण सम्पन्न गर्नु प्रमुख चुनौतीका रुपमा देखिएको बताउँदै उनले पूर्वपश्चिम रेलवेको अध्ययनको काम सुरु भएको र जनकपुर–बर्दिबास रेलवे निर्माण सुरुभएको जानकारी गराए । मन्त्रालयले काठमाडौँमा पनि मेट्रो रेल चलाउने सम्बन्धमा अध्ययन सुरु गरिसकेको छ ।

नेपालजस्तो पहाडी भौगौलिक बनावटमा यातायात प्रणालीमा सुरुङ पद्धतिलाई भित्र्याउन र काठमाडौँको ट्राफिक जाम हटाउन ‘फ्लाई ओभर’ सडक निर्माण गर्ने सम्बन्धमा सडक विभागलाई जिम्मेवारी दिएको मन्त्री लेखकले जानकारी गराए ।

सर्वसाधारणलाई सवारी चालक अनुमतिपत्र लिन सहज होस् भनेर मन्त्रालयले राजधानीको एकान्तकुनामा मात्र रहेको कार्यालयलाई चार स्थानमा सुरु गरेको उल्लेख गर्दै उनले अनलाइन माध्यमबाट फाराम भर्ने व्यवस्था गरेको जानकारी दिए । पूर्वाधारमा देखिएका रुग्ण निर्माण कार्यका बारेमा अध्ययन गरी समस्या पत्ता लगाउने र काम अघि बढाउने मन्त्री लेखकको भनाइ थियो ।

छलफलमा मन्त्रालयका सचिव धनबहादुर तामाङले काठमाडौँको ट्राफिक जाम हटाउन ‘फ्लाई ओभर’, ‘अण्डर पास–वे’ र ‘सव–वे’को काम थालनी भएको बताउँदै हेटौडा–मातातीर्थ रोप–वे पुनःसञ्चालनका लागि पहल गर्ने जानकारी गराए । उहाँले सडक सञ्जालमार्फत उत्तरतर्फका नाका जोड्न काम द्रुतगतिमा अघि बढेको पनि बताए ।

विभागका महानिर्देशक देवेन्द्र कार्कीले धेरै समस्याका बाबजुद पनि पूर्वाधार निर्माणका काम अघि बढेको बताउँदै आवश्यकताअनुसार बजेट र स्रोत साधनको कमी भएको जानकारी गराए । कतिपय स्थानमा कानुनी मुद्दा मामिलाका कारण पनि सोचेअनुसार काम गर्न नसकेको उहाँको गुनासो थियो । रासस

प्रतिक्रिया दिनुहोस