कुल देवता नै हराएपछि आफ्नो अस्तित्व नै के रह्यो र ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कुल देवता नै हराएपछि आफ्नो अस्तित्व नै के रह्यो र !


प्रशासन विशेष ब्युरो

१४ मंसिर २०७३, मंगलबार


जुम्ला । राजधानीलाई पीठ्यू फर्काएर उभिएको कर्णालीको भूगोल जुम्लामा यतिबेला सन्नाटा छाएको छ । बिहानैदेखि शान्त जनमनको चहलपहल रहने सदरमुकाम खलंगा मसानघाट जस्तै बनेको छ । बजारमा समेत मानिस देखिएका छैनन् । पसल तथा धेरै जसो सरकारी कार्यालय समेत बन्द भएको अवस्था छ । आसपासका जनताहरु स्थानीय भैरव मन्दिरमा गएर रुने, कराउने गरिरहेका छन् ।

यसभन्दा अगाडि कहिल्यै यस्तो घटना नभएको र त्यो पनि सदरमुकामकै बीचबाट चोरीबाट जुम्लीवासी स्तब्ध भएका छन् । कोही बोल्न सक्ने अवस्थामा छैनन् यतिबेला । बत्ति बाल्ने पाला समेत चोरी भएको त्यस घटनाले आफुहरु निकै दुखीत भएको बताउदै स्थानीय मालती शाह भन्नुहुन्छ –कुल देवता नै हराएपछि आफ्नो अस्तित्व नै के रह्यो र !

कर्णालीको इतिहास बोकेको चन्दननाथ मन्दिरबाट भएको मुर्ति चोरी जती दुखीरहेको छ स्थानीयलाई उती दुखेको आभास हुदैन काठमाण्डौंलाई । चन्दननाथ बाबाको मन्दिरबाट विभिन्न मूर्ति चोरीको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को एक टोली जुम्ला पुगेको छ । ब्युरोमा कार्यरत प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलको नेतृत्वमा तीन सदस्यीय टोली हवाई मार्गबाट जुम्ला पुगेकोले स्थानीयमा नै चोर समातिने र मूर्ति भेटिने आशा भने झिनै भए पनि बढेको छ । सिआईबीको टोलीले जिल्ला सुरक्षा समितिसँग जिल्लाको घटनाबारे बुझेर स्थानीय नागरिकसँग संवाद गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् ।

सोमबार जुम्लाका राजनीतिक दलहरुले सरकारसँग मूर्ति चोरी प्रकरणका दोषी पत्ता लगाउनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको टोली जुम्ला पठाउन लिखित माग गर्दै प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निवेदन गरेका थिए ।

यता जुम्लास्थित प्रसिद्ध धार्मिकस्थल चन्दननाथ बाबा मन्दिरबाट १७ इन्चको दतात्रयको मूर्तिसहित बहुमूल्य बस्तु चोरी भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो व्यक्त गरेको छ ।

मन्त्री जीबनबहादुर शाहीले जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई तत्काल घटनाको अनुसन्धान गर्न र दोषि पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएका छन् । तर सिडयो त उसै पनि लागेकै थिए । मन्त्री किन पुुगेनन् त त्यहां ? मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार मन्त्री शाहीले घटनाको विषयमा पुरातत्व विभागलाई समेत आवश्यक निर्देशन दिइएको छ । यसैगरी मूर्ति चोरी भएको विषयलाई उच्च प्राथमिकताका साथ खोजबिन र अनुसन्धान गर्न समेत मन्त्री शाहीले गृहमन्त्रालयलाई अनुरोध गरेको प्रवक्ता उपाध्यायले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो पहल मात्रै पर्याप्त किन हैन भने के यस्तै चोरी राजधानीमा भएको भए काठमाण्डौं यस्तै सुस्त गतिमा अघि बढ्थ्यो त ? अचानाको चोट खुकुरीलाई के थाहा भनेजस्तै जुम्लावासीको यो पीडा कतिन्जेल उही दुरदराजका स्थानीयको मात्रै भैरहने त ? एकीन छैन उत्तर । आखिर कहिलेसम्म ?

untitled-4

untitled-3

untitled-6

untitled-5

प्रतिक्रिया दिनुहोस