संसदको आफ्नै भवन नहुनु विडम्वनापूर्ण छ । « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसदको आफ्नै भवन नहुनु विडम्वनापूर्ण छ ।


प्रशासन विशेष ब्युरो

७ मंसिर २०७३, मंगलबार


 

जनताले मतदानबाट चुनेर पठाएका व्यवस्थापिका संसदका सदस्यहरुको कर्मथलो देशकोे असल शासन व्यवस्थाका लागि कानुुन बनाउने मुख्य अंग हो । निर्वाचित जनप्रतिनिधिहरुले गर्ने, गराउने सबै काममा मुख्य भुमिका संसदका कर्मचारीको हुने गर्छ । संसदका हरेका कामकारवाहीका पर्दाभित्रका नदेखिने हिरो भनेकै त्यहाँ कार्यरत कर्मचारी हुन्छन् । हाम्रो संसदका कर्मचारीले जनप्रतिनिधिहरुलाई कसरी सघाउने गर्छन ? कस्तो छ कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध ? के छन कर्मचारीका समस्या ? भन्ने जस्ता सवालमा प्रशासन डटकमले संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र महतसंग कुराकानी गरेको छ । हालै मात्रै सर्वसम्मत रुपमा युनियनको अध्यक्ष निर्वाचित महतसंगको थप कुराकानी जस्ताको त्यस्तै ।

व्यवस्थापिका–संसद सचिवालय कर्मचारी युनियनको अध्यक्षमा निर्वाचित हुनु भएकोमा यहाँलाई प्रशासन डटकमको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ । 
धन्यवाद ।

नेतृत्व चयनको लागि प्रजातान्त्रिक अभ्यास गरिन्छ । तर तपाई त निर्विरोध चुनिनु भएछ कसरी ? प्रतिष्पर्धी भेटिएनन् की, तपाई अति लोकप्रिय हुनु भएकोले हो ?
हो तपाईले राख्नु भएको विषय ठिकै हो । तर, यो पनि प्रजातान्त्रिक अभ्यासकै एउटा नमुना हो । यस पटकको युनियन निमार्णमा विगतको अनुभवलाई समेत ध्यान दिदै सचिवालयमा क्रियाशिल विभागीय कार्यसमितिका पदाधिकारी तथा पूर्व युनियनका अध्यक्षहरुको समेत पहलमा यस पटक सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको चाहना बमोजिम अध्यक्ष पदका धेरै प्रतिष्पर्धि हुदा हुदै पनि मेरो नाममा सहमती बन्ने वातावरण बन्न गएको मात्र हो ।

नवनिर्वाचित अध्यक्षका रुपमा संगठनलाई अघि बढाउन के कस्ता नीति कार्यक्रम तथा गतिविधिहरु अघि बढाउदै हुनुहुन्छ नी ?
हालै निर्वाचित कमचारी युनियनको बैठक वसीरहेको छ । सल्लाहकार,पूर्व युनियनका अध्यक्ष, विभागिय कार्य समितिको अध्यक्षहरु केन्द्रिय प्रतिनिधिहरुको समेत राय सुझाव समावेस गरी यसले छिटै नै समग्र सचिवालय सुधारका नीति कार्यक्रम ल्याउने तयारी गरीरहेको छ ।

संगठनको आम्दानी, खर्च व्यवस्थापन कसरी गर्नुहुन्छ नी ?
संगठनको आम्दानी भनेको कर्मचारी साथिहरुले सदस्यता नविकरण गरे वापत आउने रकम मात्र हो । आम्दानी अनुसार नै यसको खर्च न्यून छ । वैठक बस्दा कालो चिया मात्र हो । त्यति ठूलो आकारको नभएकोले अन्य संगठनमा जस्तै यस कर्मचारी यूनियनमा पनि कोषाअध्यक्षको समेत व्यवस्था भएकोले त्यसको जिम्मेवारी पनि सोही अनुरुप गरिन्छ ।

कतिको धनी संगठन हो तपाईहरुको युनियन ?
संगठनको आर्थिक अवस्थाको बारेमा मैल माथि नै उल्लेख गरी हाले । धन भन्दा बढी मन भएकाहरुको संगठन हो यो ।

संसद सचिवालयका कर्मचारीका सबैभन्दा साना देखि ठूला समस्याहरु चाहि के के हुन ? सूत्रवद्ध रुपमा उल्लेख गरिदिनुहोस न संक्षेपमा ?
संसद सचिवालयमा कार्यरत कर्मचारीहरुको समस्याको रुपमा खासै उल्लेख गरीहाल्नु पर्ने त छैन । तर सचिवालयमा कार्यरत कर्मचारीको समस्याभन्दा पनि नेपाल सरकारको प्राथमिकतामा नपरेर होला सायद हालसम्म पनि आफनै संसद भवन बन्न नसक्नु चाँहि विडम्वनापूर्ण नै छ ।

यस्ता समस्याहरुका कारक को हुन् त ? तपाईहरु स्वयं यी समस्याहरुको कारक होइन ?
एक किसिमले भन्ने हो भने अस्थिर राजनीति नै समस्याको कारक हो भन्दा फरक नपर्ला ।

समाधान दिनु पर्ने कसले अनि किन समाधान नदिएका हुन् त ?
कतिपय समस्याको समाधान गर्न आफनै साधन स्रोतले मात्र पुग्दैन नी ।

संसद सचिवालयका कर्मचारीलाई खाना, खाजा, भ्रमण, यातायात आदिमा ज्वाई सरह सरकारले सुविधा दिएको छ भनिन्छ नी ? यस्तै हो अवस्था ?
संसद सचिवालयका कर्मचारी र माननीय सभासदज्यूहरुलाई सविधान सभा अवधिभर विहान वेलुकी बसि काम गर्नुपर्ने अवस्थामा मात्र खाना खाजाको व्यवस्था भए पनि हाल सविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरण भए पश्चात साँझ विहान वसी कार्य गर्नु परेमा खाजा, खाना वापत नगदै व्यवस्था भै सकेको छ ।

सभामुख ओनसरी घर्तीले केहि समय अघि कटौती गरेको संसद र त्यस अन्र्तगतका समितिहरुको खाजा खर्चको तस्वीर हेर्दा पनि यहाँ निकै खर्च फजुलै हुने गरेको थियो नी हैन ?
हो, सविधान निमार्णको क्रममा ससद वैठक तथा त्यससंग सम्वन्धीत समितिहरुमा रहने माननीय सभासद लगायत कर्मचारीहरु साँझ विहान वसी काम गर्दा केही खाजा खाना वापतको शिर्षकहरु सोचे भन्दा वढी भए होलान् । हाल त्यसको औचित्य समाप्त भई कटौती समेत भैसकेको अवस्था छ ।

कर्मचारीलाई सांसद, पार्टीका अन्य नेताहरुले कत्तिको सहायता र समन्वय गर्छन नी ?
संसदीय दल तथा सांसदहरुको सहयोग विना त कर्मचारीले कुनै पनि कार्य अगाडि बढाउन सकिने अवस्था नै छैन नी ।

संसद सचिवालयमा कर्मचारी र प्रशासनबीच कत्तिको कुरा मिल्छ वा कुरा बाझिरहन्छ नी ? मतलव काममा समन्वय छ की छैनन् ?
संसद सचिवालयमा कायरत सम्पूर्ण कर्मचारीहरुको कर्मचारी प्रशासन शाखाले तोकेकोे आ आफनै जिम्मेवारी दिए अनुसार समलग्नता हुने हुँदा कुरा वाझिने प्रसंग नै आउदैन ।

सभामुखले कटौति गरेको खाजा, खाना सुविधाले यहाँहरुको मनोवल घटाएको छ भन्ने चर्चा सुनिन्छ साचो कुरो के हो ?
सम्माननीय सभामुखज्यूले हालै कटौती गर्नु भएको असान्दर्भिक खर्चहरु नियन्त्रण गर्न खोज्नु भएको हुँदा कर्मचारीहरुको मनोवल घटने त कुरै आउदैन नी ।

संसद सचिवालयका कर्मचारीलाई सविधान जारी भएपछि कामको उत्तिसारो लोड नै हुन्न रे नी हो ?
ससद सचिवालयका कर्मचारीहरुलाई सविधान जारी पश्चात पनि सविधान कार्यान्वयन र व्यवस्थापिका संसद र त्यससंग सम्वन्धीत समितिहरुको समेत जिम्मेवारी हुने हुदा कामको लोड नहुने त भन्ने नै हुदैन नी ।

संसदका कर्मचारीलाई एनजिओ/आईएनजिओका मान्छेले प्रलोभनमा पारेर घुमाउरो बाटाबाट निकै फाईदा लिने गरेका चर्चाहरु पनि सुनिन्छन् । साच्चो सत्य के हो ?
त्यस्ता संघ संस्थाका प्रतिनिधिहरुसंग हाम्रो कुनै सम्वन्ध त के देखभेटसम्म पनि हुदैन ।

संसदका कर्मचारीमा पनि स्थायी र अस्थायी वीचमा ठूलो विभेद छ भन्ने सुनिन्छ नी किन ? अवस्था त्यस्तै हो की ?
संसद सेवामा कार्यरत स्थायी र अस्थायी (करार) सेवा समेत रहेका छन् । तर सम्पूर्ण कर्मचारीहरुको आ आफनै जिम्मेवारी हुने हुँदा त्यस्तो कुनै पनि विभेद भए जस्तो लाग्दैन ।

कानुन निर्माण गर्ने जनप्रतिनिधिको थलो संसदका कर्मचारी त कुनै संघ संगठनमा नलागी स्वतन्त्र राष्ट्रसेवक मात्रै बने पनि हुने नी हैन र ? किन संगठनमा लाग्नु भा को ?
प्रत्येक कर्मचारीको आ आफनो भोटिङ्ग सम्वन्धी अधिकार हुन्छन यसमा थप मैले प्रतिकृया दिदा राम्रो नहोला ।

राजनीति गर्नुपर्ने राजनीतिज्ञ र सांसदहरु कर्मचारी खुसी पार्न लाग्ने अनि जनसेवा गर्नु पर्ने कर्मचारी राजनीतिमा लाग्ने गरेकाले कर्मचारी र राजनीतिज्ञ दुवै जनतालाई सेवा दिन कमजोर हुँदै गएको सत्य स्वीकार गर्नुहुन्छ ?
ससद सेवामा रहेका कर्मचारीहरु जन प्रतिनिधिहरुसंग मात्र सम्वन्धीत रही कानुन निमार्णमा मात्र सहयोगी बन्ने भएको हुदा अन्य सेवासग तुलाना गर्न मिल्छ र ?

कर्मचारी राजनीति पनि विकासका एक बाधक प्रबृत्ति हो भन्नेहरुलाई के भन्नुहुन्छ ?
संसद सेवाको ऐन नियममा व्यवस्था भएको परिधिभित्र रही संगठनमा सलंग्न हुने हुदा कर्मचारीहरु विकास निमार्ण कार्यमा सहयोगी मात्र बन्न सक्छन । बाधक बन्न सक्दैनन जस्तो लाग्छ ।

भावि दिनमा यहाँहरुले संसदलाई थप जनमुखी र उत्तरदायी बनाउन के के गर्नु हुनेछ ?
त्यसका लागि कर्मचारी यूनियनको तर्फबाट सम्बन्धित विषयमा सचिवालयलाई समय समयमा ध्यानाकषर्ण गराउनुका साथै आवश्यकीय सल्लाह सुझाव दिने नै छौ ।

थप केही भन्न छ भने प्लीज शेयर गरि दिनुहोस न ।
प्रशासन डट कमले प्रशासन सम्बन्धी यो पेज संचालन गरेर संसद सचिवालय कर्मचारी युनियनको धारणा तपाईको मिडिया मार्फत सार्वजनिक गरी दिनु भएकोप्रति कर्मचारी युनियनको तर्फबाट खुशी व्यक्ति गर्दै आगामि दिनहरुमा पनि यस विषयको अनलाईन पेज संचालनको उदेश्य पुरा होस भन्ने कामना गर्दछु ।

प्रश्तुती: आर. थापा

प्रतिक्रिया दिनुहोस