किन दिउँसै रात पार्ने काम भइरहेको छ सिँहदरबारभित्रबाट ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

किन दिउँसै रात पार्ने काम भइरहेको छ सिँहदरबारभित्रबाट ?


प्रशासन विशेष ब्युरो

३० कार्तिक २०७३, मंगलबार


सिंहदरबारको सौतेनी व्यवहारका कारण सुदूरको सौन्दर्य ओझेलमा परिरहेको गुनासो गर्दै आएको सुदूरपश्चिम जति प्राकृतिक रुपमा सम्पन्न छ, त्यतिकै भाषा, संस्कृति, कलालगायत सामाजिक तथा सांस्कृतिक विविधताले पनि भरिपूर्ण रहँदै आएको छ । हिजोको द्वन्द्व देखि वर्तमान संक्रमणकालिन अवस्थाको सबैभन्दा बढी मार पछाडि परेका क्षेत्रका जनताले नै भोग्नु परेको वास्तविकतालाई लुकाउन सकिदैन । शासन परिवर्तन भयो , शासकहरु फेरिए तर नफेरिएको सुदूरको मुहारका सन्दर्भमा लामो समयदेखि कला, संस्कृति र भाषाको क्षेत्रमा लाग्नु भएका देउडा नायक तथा सामाजिक अभियन्ता नन्दकृष्ण जोशीसँग प्रशासन डट कमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले गरेको कुराकानी ।

आम मानिसहरुलाई नन्दकृष्ण जोशी भन्नासाथ सुन्दर सुदूरको देउडा भाकाका नायक भन्ने भान पर्छ । अविरल यात्री झैं सुदूरको संस्कृति, भाषा र परम्पराको जगेर्ना र उत्थानमा यहांको भ्याई नभ्याई अहिले कुन चरणमा छ ?

देउणाको शब्द लिएको हुनाले सबैभन्दा पहिले म देउडा नै गाउँछु । त्यसपछि अन्य कुराहरु गरौंला ।

डाँडा गाउन्या कोहो कोहो आरु फुलेली फुलेली,
गैरी गाउन्या लछु अछामका लेक, बझाङ्गका धुरा झम्क गुलेली ।
इन्द्र दुखि कालो बादल आरु फुलेली फुलेली,
मान्छे दुःखी म छु, अछामका लेक, बझाङ्गका धुरा झम्क गुलेली ।

यो आफैमा दर्शनको गीत हो । यो आफैमा प्रशासनको गीत हो । यो आफैमा राज्यको भाषा, साहित्य, संस्कृति, लय र सभ्यताको पनि गीत हो, त्यसैले त्यो गीत कतिपयले बुझ्छन्, कतिपयले बुझ्दैनन् तर बुझ्नेगरीकन गाउँदाखेरी यो बिग्रन्छ त्यसैले यसलाई जस्ताको त्यस्तै गाउँदाखेरी भाषा पनि मर्दैन, साहित्य पनि मर्दैन, समग्रमा भन्नुपर्दा हाम्रो भाषालाई फर्केर हेर्दाखेरी हामी कुन अवस्थाबाट कुन अवस्थामा फक्र्यौ यो गीतले प्रस्टरुपमा जानकारी गराउँछ ।

नेपालको असली चित्र सुदूरमा छ भन्छन् मानिसहरु, तपाईहरु जस्ता अग्रज राजधानीमा थुप्रिएकोले पनि सुदूर थप ओझेलमा परेको पो हो की ?
मलाई त्यस्तो लाग्दैन, म त राजधानीबासी होइन हेर्नुहोस् । म कारणबस् राजधानीमा बस्नुपर्ने बाध्यता छ । म त मेरै गाउँ सुदूर पश्चिमको हिमाली जिल्ला बझाङ्ग, जहाँ मानवताबादी राजा जयपृथ्बीबहादुर सिंह उदाएका थिए, म त्यै ठाउँको अझ भन्ने हो भने छिमेकी मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको करिब करिब नजिकको नेपालको एउटा अति बिकट तर सुन्दर उपोवन क्षेत्र, धर्म, संस्कृति र सामाजिक परिवेशमा अटाएको ठाउँमा जन्मेको भएकोले म यता भएपनि मेरा सारा इन्द्रियहरु दसैं, तिहार, बैशाखको बीसु संक्रान्ती, भदौको गौरा पर्व, माघी संक्रान्ति, भस्सो, देउणा, मागल त्यतैतिर रमाएको छु ।

देशका हरेक राजनीतिक परिवर्तनपछि पनि सुदुर उस्तै छ, जहाँको त्यहीँ छ । तपाइँहरु जस्ता सचेत अगुवाहरुले सरकारलाई दवाव दिन नसक्नुको परिणाम पो हो की ?
एक किसिमले यो यथार्थ हो । हामीले स्वीकार गर्नुपर्छ । अस्थायी रुपमा सिंहदरबारको छेउछाउँमा बस्छौं । सिंहदरबारभित्रै झण्डै १० वर्षसम्म नेपाल टेलिभिजनमा देउणाको कार्यक्रम संचालन गरेँ । सिंहदरबारभित्रै रहेको राष्ट्रको प्रमुख संचारमाध्यम रेडीयो नेपालमा २०३४ सालदेखि अनवरतरुपमा भाषा, साहित्य, संगीत सम्बन्धीका गीतहरु गाउँदै पनि आए । र, राज्यलाई सजग गराउनको लागि समय समयमा सिंहदरबारको दक्षिण ढोका, पश्चिम ढोकामा धर्ना बस्ने, हड्ताल गर्ने, प्रशासन घेर्ने र सँगसँगै राज्यका अरु अंगलाई सजग गराउदै आएका छौं । तर, त्यति हुँदाहँुदै पनि या त सिंहदरबार हामीलाई नदेखेको जस्तै गर्दै छ या त हामीले नै सिंहदरबारलाई घचघच्याउन नसकेको हुनुपर्दछ जस्तो लागिरहेको छ ।

वर्तमान सरकारले पनि कर्णालीका बिपन्न परिवारलाई जन्म र मृत्युमा २० किलो चामल बाँड्ने उर्दी ग¥यो । गरीवी पालेर, गरीव बढाएर भोको पेटलाई राज्यले सीदा बाँड्ने यो शैली आधुनिक समाजलाई नै कठोर व्यंग्य हैन र ?
म सबैलाई दोष दिन्न । यसो हुनुमा पहिलो भूगोलको पनि दोष छ । दोस्रो प्राचीन राजनीतिक संस्कृती र तेस्रो मानसिकताको नै हो लाग्छ । कर्णाली आफैमा सम्पन्न अञ्चल हो । प्रदेशको हिसावले ६ नम्बर प्रदेश जुन छ, यो प्रदेश भाषाका रुपमा सम्पन्न छ, आर्थिक रुपमा सम्पन्न, प्राकृतिक रुपमा सम्पन्न, खनिजका हिसावले सम्पन्न र राजनीतिकरुपमा पनि सम्पन्न छ तर, गजब छ कि कर्णालीका नाममा धेरै मानिसहरुलाई एनजिओ/आइएनजिओमार्फत काम दिलाउँछौं ।

त्यहाँका आर्थिक रुपमा विपन्न जनतालाई राजधानी तथा नेपालगंजबाट चीलगाढीमा सामान बोकेर हुम्ला, जुम्ला, मुगु, कालिकोट,डोल्पामा पु¥याउँछौं । यो आफैमा बिचित्र जस्तो लाग्दछ । दिउँसै रात पारेको आभाष भइरहेको छ मलाई । किन भने म गीतका लागि कर्णालीका सबै जसो जिल्लामा पुगेको छु । यी क्षेत्रहरु केही कुरामा पनि कमी पाइनँ मैले ।

नेपाली भाषाको उद्गमस्थान जुम्ला हो । हालको प्रचलनमा रहेको स्याउको भण्डार त्यही छ । सरकारले मुगुको राराताल, से फोक्सोन्डोले नेपाललाई पाल्न सक्छन् । चिलगाडीमा आवागमन गरेर त्यो पुरा हुँदैन, बाटो हुनुप¥यो । सुरक्षित र भरपर्दो बाटोघाटोको व्यवस्था गर्नुप¥यो । सरकारले बाटोको कथा नबनाई पूर्वाधार विकासकालागि राज्यले बजेट छुट्याउने गर्नुप¥यो ।

नेपालको पूर्वाञ्चलको एउटा जिल्लामा छुट्याउने गरेको बजेट कर्णाली अञ्चलका ५ वटा जिल्लाका लागि छुट्याउदै जुन आएको छ यो राज्यले जघन्य अपराध गरेको छ । र, गर्दै आएको छ जस्तो लाग्छ । जुम्लाको जुम्ली मार्सो तत्कालिन अवस्थामा राजा त्रिभुवनले मगाएर खान्थे । महेन्द्रले पनि मगाएर खान्थे रे । यो चामल बिदेशमा पनि पुग्छ रे । तर त्यसको उत्पादन घट्नुको कारण के ? सरसर्ती हेर्दाखेरी कर्णाली तथा सेती, महाकालीका जिल्लाहरुलाई सिँहदरबारभित्र सेतो कागजमा ठूलो अक्षरले लेखेर राजनीति नगर्नुहोस् । हाम्रा लागि कालो अक्षर भैसि बराबर हुन्छ । त्यसैले दिउसै रात पार्ने काम नगर्नुहोस् ।

सुदूरलाई देशको स्थायी सरकार भनिने कर्मचारी प्रशासन क्षेत्रले पनि निकै सताउने गरेको देखिन्छ हैन ?
यो त राम्रो प्रश्न गर्नुभयो । मनकै कुरा भन्नुभयो । सरुवा, बढुवादेखि जागिर खानका लागि पनि राजधानी आउँछौं । नियुक्ति पाउँछौं, जान्छौं । अहिले ५/६ वर्ष भयो कर्णालीमा बाटो पुगेको । त्यो भन्दा पहिले त चिलगाडीकै भर पर्नुपथ्र्यो ।

त्यतिबेला कहिले मौसम खराबी तथा कतिबेला अनेकन प्राविधिक कारण देखाउदै हप्ताको एक पटक संचालन हुने चीलगाडी समेत नियमित उडान गर्दैनथे । कर्मचारी थन्किएर तराइतिरै बस्ने । त्यहाँ गईसकेपछि पनि दशै, तिहार, भैपरी आउने, बिरामी बिदा जस्ता कारणले कर्णाली अञ्चल मात्रै हैन, मेरै जिल्ला बझाङ्गमा आफ्नै आँखाले देखेको छु । आफैले भोगेको छु ।

दशैका लागि कर्मचारी घर जानु स्वभाविकै हो । तर दशैको बिदा सकिएको लामो समयसम्म पनि प्रमुख जिल्ला अधिकारी वाहेक अरु कर्मचारी तिहार पछिको १५ दिन पछि आउँछन् । कसरी कार्यालय संचालन हुन्छन् ? अचम्म लाग्छ मलाई । यस्तो अवस्थाले गर्दा नै सरकारी काम कहिले जाला घाम त्यसै भनेको होइन रहेछ जस्तो पनि लाग्छ ।

म कसैलाई व्यक्तिगत रुपमा दोष दिन्न । यो प्रवृत्तिको दोष हो, कर्मचारीहरुमा ढिलासुस्ती ज्यादै छ । सेवाग्राहीहरुले यति धेरै दुख पाएका छन् कि बझाङ्गकै कुरा गर्ने हो भने जिल्लाको काँडाबाट नागरिकता बनाउन आउँदा ४ दिन लाग्छ त्यसमा अहिले प्रमुख जिल्ला अधिकारीले चाडो गरिदिनुहोस् भन्ने गरेका छन् । तर पनि अरु कर्मचारीले किन अलमल गर्छन् ? कारण के हो, त्यो चाहि बुझ्न सकेको छैन ।

किन सुदूरमा कर्मचारी या त जादैनन्, गए बस्दैनन्, बसे कामै गर्दैनन् त ?
मुल रुपमा ४ वटा कुरा छन् । सरकार परिवर्तन हुने वित्तिकै आपूmलाई मन नपरेका कर्मचारीलाई दुरदराजका जिल्लाहरुमा सरुवा गराउने । परिणाम कर्मचारीको मनोबल गिरेर आउँछ । नयाँ कर्मचारीलाई जिल्लामा घुलमिल हुन ४/५ महिना लाग्छ । भाषा, कार्यगत शैली, रहन सहन र परिवेशका कारण । त्यहाँ पनि स्थानीय सरकार छ । राजनीतिक पहूँच त जिल्लामा पनि छ । फलानो कर्मचारी आउँदैछ, उ फलानो पार्टी निकट छ । त्यसलाई सहयोग नगर्नु है भन्ने उर्दी जारी गरिएको हुन्छ दलका नेताबाट । परिणाम के हुन्छ भने काम गर्न खोज्ने राष्ट्रसेवक कर्मचारीले पनि काम गर्न पाएको हुँदैन । जसले राजनीतिक अन्यौलता बढेको हुन्छ ।

सबैभन्दा डर लाग्दो पक्ष भनेको भ्रष्ट्राचार नै हो । मैले सामान्य व्यक्तिबाट सुनेको छु: हजुर, कुनै सानो काम गर्दाखेरी पनि यहाँ घुस माग्दाछन् हजुर । कुर्सी मुनीबाट पनि पैसा माग्दाछन् हजुर क्याअरौं । कुनै नानो काम गद्दाखेरी पनि पैसा दिनु पन्या यसो क्या जमाना आयो हजुर यसो भनिकन गुनासो गरेका छन् । त्यसैले भ्रष्टाचार पनि एउटा प्रमुख कारण हो भन्ने मलाई लाग्छ ।

नेपाल सरकारले तलब दिएको छ । सम्मान दिएको छ । बेला बेलामा मान पदवी दिएको छ । कर्मचारीतन्त्रभित्र नराम्रो त छैन तर, घुस प्रवृत्तिले सारा जनजीवनलाई अस्तव्यस्त बनाएको छ । कर्णाली, सेती र महाकाली अञ्चलमा निकै जटिल छ । प्रशासनयन्त्र चलाउन धेरै अफ्ठेरो छ । बाहिरबाट हेर्दाखेरी त सामान्य नै देखिन्छ तर भित्र खोतल्दै जाने हो भने यी धेरै कारणले गर्दा प्रशासन ढिलासुस्ती, प्रशासन गैर जिम्मेवारपूर्ण, प्रशासन अल्छिपन, प्रशासन कहिले जाला घाम जस्ता कारणले धेरै सुस्ताएको मैले महसुस गरेको छु ।

यो अघोषित परम्परा झैं बनेको छ । अन्त्यकालागि तपाईहरु जस्ता सामाजिक अभियन्ताको दबाबी भुमिका पुगेन नी ? पुग्या छ र ?
हामीले भ्रष्टाचारबिरुद्ध केन्द्रमा त आवाज उठाएका छौं । तर, जिल्ला जिल्लामा पुगेको छैन । बरु स्थानीयस्तरमा महिलाहरुले बिभिन्न दबाब दिदै आएका छन् । कर्मचारी भित्रको चाँडो चाँडो सरुवाले पनि यसमा कठिनाई उत्पन्न गरेको छ ।

सुदूरका पनि अघि बढ्ने फड्को मारेका मा¥यै, पछि पर्ने पछि परेको प¥यै किन भए ?
यो बडा जटिल प्रश्न छ । सुविधाभोगी सुविधा भागेका भोग्यै छन् । गरिब गरिबै रहेका छन् । धनी धनी नै भईरहेको अवस्था यथार्थ हो । म मेचीदेखि महाकालीसम्मका जिल्लाहरुमा घुम्नेक्रममा मैले देखेकोमध्ये तीन वटा कारणले हाम्रो समाज परिवर्तन गर्न सकेका छैनौं ।

०६२/०६३ को जनआन्दोलनले राजा पर राखेर गणतन्त्र त आयो तर सुदूर पश्चिममा एक राजाको ठाउँमा १० राजा जन्मिए । उनिहरुलाई हामीले जसरी नै भएपनि १० औला जोड्नु पर्ने संस्कृति मौलाएको छ । जसको अन्त्य गर्नै पर्छ । दोस्रो नम्बर के छ भने हाम्रो समाज वीचको अवस्थामा छ । धनी र गरिव बीचको दूरीका कारण गरिब गरीबै रहे धनी माथि उक्लेर आए । र, उनीहरु अघि बढेको बढ्यै भए । तेस्रो महत्वपूर्ण कुरा के हो भने राज्यले जति नै परिवर्तनका नाराहरु लगाए पनि जातपातले गर्दा अहमता मौलाएको छ । जसले समाजमा बेमेल ल्याएको छ । कतिपय ठाउँमा जातीयताका नाममा समाजमा संघर्ष चलिरहेको छ ।

किन भएन त समान विकास ? अवसरमै विभेदले हो ?
पहिलो कुरा त पहुँचवालाहरुले मात्रै जागिर खाने थलो भयो काठमाडौं । पहुँचवालाले मात्रै राजनीति गर्ने क्षेत्र भयो सुदूर पश्चिम । पहुँचवालाले मात्रै प्रशासनको हालिमुहाली हुने ठाउँ भयो कर्णाली अञ्चल । जसको बोली बिक्छ , त्यो बोली बिक्नेको मात्रै आर्थिक र राजनीतिक उपार्जन भइदियो पूर्वाञ्चल । पहुँचवाला र रैथानेहरुको मात्रै भू–स्वर्ग भईदियो राजधानी र छेउछाउ । भनेपछि पहुच विहिनहरुले कहाँ गएर न्याय पाउने ? राज्यले त समान न्याय दिन सकेको छैन । सधैभरी अन्यायमा पर्दा खेरी बिद्रोह जन्मिदैन ? धनी र गरिब, पहुँचवाला र पहुँचविहिन, पढेका र नपढेका बिचको जुन खाडल बढ्दै गएको छ नी, त्यसैको परिणामस्वरुप समान विकास हुन नसकेको हो ।

पछिल्लो समय कर्मचारी प्रशासन क्षेत्रमा पनि सुदूरका भूमिपुत्रहरुको उल्लेख्य उपस्थिति देखिन्छ । तर, उनीहरु पनि आफ्नो क्षेत्रका विकासकालागि खोलो त¥यो लौरो बिस्र्यो जस्तो गरिराछन् नी किन होला ?
प्रहरी र सैनिक सेवामा बाहेक प्रशासन क्षेत्रमा सुदूर पश्चिमको कर्मचारी उपस्थिति ज्यादै कम छ । सुदूर पश्चिमका कर्मचारीमा सोझोपन बढी छ । असाध्यै सालिनता छ । त्यो सोझोपन र शालिनताको फाइदा अरु टाठाबाठाले उठाएका छन् । कुनै घटनालाई नै उदाहरणका रुपमा लिने हो उपल्लै तहमा पुगेका सुदूर पश्चिमका कर्मचारीबाट जघन्य अपराध भएको छानविनबाट पनि त देखिदैन नि, जति अरुबाट देखियो ।

यसबाट हामीले के बुझ्नुप¥यो भने सुदूरपश्चिमको राष्ट्रसेवक सज्जन छ, इमान्दार छ । अन्य टाठाबाठाहरुले चतु¥र्याइँ गर्ने गरेका कारण उनीहरुले नसकेर हो, बल नपुगेर हो । आर्थिक रुपमा पछाडि भएपनि सामाजिक रुपमा हामी धनी नै छौं ।

देश संघीयता र संविधान कार्यान्वयनको पेचिलो घडीमा छ । तपाईको भूमिका यो अभियानामा कहाँनेर कस्तो छ ? तपाई त २०६२/०६३ को आन्दोलनको एक लडाकु पनि हो ?
हाम्रा पनि गल्ती छन् । तर हामी पर्ख र हेरको अवस्थामा छौं । पहिलो पटकको संविधानसभाको चुनावमा संविधान निर्माणका लागि जति भूमिका खेल्नपथ्र्यो त्यति खेल्न सकेनौं । संविधान नेपाल आमाको गर्भमा रहेको अवस्थामा देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको परिवेशमा हामीले धेरै दबाब दिनुहुँदैन भनेर आफैले निर्णय गरेका हौं ।

परिणाम के भयो त भन्दाखेरी धेरै दबाब दिँदा उच्श्रृङ्खलता आउँथ्योे कम हुँदा गरेनन् भन्ने हुन्थ्यो । त्यसैले हामीले ठिकै मात्र दवाव दियौं । त्यसैले संविधान दिन सकेन पहिलो संविधानसभाले । पछिल्लो संविधान चुनावको लागि चुनाव यथाशिघ्र हुनुपर्छ भनेर नागरिक तहबाट बारम्बार दबाब दिएका थियौं । चुनाव भयो । त्यसपछि संविधान पक्कै पनि आउनेवाला छ भनेर बारम्बार दबाब दिन उचित ठानेनौं । सामाजिक संजालबाट दबाब दियौं ।

संविधान आयो तर कार्यान्वयनमा देखिएको ढिलासुस्तीले गर्दा अझै पनि संक्रमणकाल हटेको छैन । संविधान आएकै दिन संविधान सभा भवनमा खुसियालीमा पटाका पड्किदै गर्दा बाहिर चोकमा बिरोधका आवाज पनि उठिरहेका छन् । यसको जिम्मा नेतालाई छोडेका थियौं । तर अझै पनि ढुक्क भएर बस्ने अवस्था छैन ।

फर्केर हेर्नोस् त गणतन्त्रका १०÷१० बर्ष जनताकालागि किन भएन हर्ष ?
नेताहरुमा भएको अहम्पना र अकर्मन्यता हो । यसभन्दा धरै नबोलौं ।

फेरि एकपटक तपाईहरु सडकमा ओर्लेर संविधान कार्यान्वयनका लागि खबरदारी गर्ने बेला आएकै हो त ?
करिब करिब त्यस्तै लाग्छ । तर हामीले नेतालाई अझै पनि मौका दिनुपर्छ । किनभने राष्ट्र हाक्ने राजनीतिक दल नै हुन् । राजनीतिक दल भनेका लोकतन्त्रका उज्याला पक्ष हुन् हेर्नुहोस् । हामीले राजनीतिक दललाई सारै जिस्क्याउनु पनि हुँदैन । दलले नै देश निर्माण गर्ने हुन् । देशका भाग्यविधाता तिनै राजनीतिक दलहरु हुन् । तर राजनीतिक दलले आफु अनुकुलको ब्याख्या ग¥यो भने सारा जनताले सजकताकासाथ हेरीराखेका छन् । त्यो बेलामा हामी पनि अझ आँखा भिम्म नगरीकन हेर्ने पक्षमा छौं ।

देशमा पछिल्लो समय हिन्दु राष्ट्रको मागमा भईरहेको गतिबिधिप्रति के भन्नुु हुन्छ ?
धार्मिक स्वतन्त्रता हुनुपर्छ । धर्म निरपेक्ष पनि होइन, सापेक्ष पनि होइन । हो, म ब्राम्हणको छोरा गीता पढेर भोजन गर्ने मान्छे, ननुहाएर, पाठपूजा नगरीकन भोजन नगर्ने मान्छे । तर त्यसको ठीक विपरित अल्पसंख्यक मुसलमानहरुले पनि शुक्रबारको दिन अल्लाह भनेर भन्छन् नि । उनीहरुको धर्ममा हामीले हस्तक्षेप गर्न हुँदैन ।

हामी बुद्ध पुर्णिमामा भगवान बुद्धप्रति समर्पित हुन्छौं । शिवरात्रीमा भगवान शिवको पुजा नगरी खान अफ्ठेरो मान्छौं । भर्खरै दशै तिहार मनाएका छौं । ८१ प्रतिशत हिन्दु भएको मुलुकमा जमरा नराख्ने मान्छेहरुको कमी भएन । यदि वहुमतको कदर हुनुपर्ने हो भने ८१ प्रतिशत हिन्दु भएको मुलुकले हिन्दुराष्ट्र हुनुपर्ने हो । तैपनि हामीले यो गणतन्त्रको मुलुक भएकोले धर्म निरपेक्ष पनि हैन, धर्म सापेक्ष पनि होइन धार्मिक स्वतन्त्रता दिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

एकाथरी मान्छे त दलहरुको सयथरी राजा भन्दा एकथान राजै ठीक भन्न नी थालेका छन् नी । यहांको टिप्पणी के छ ?
यो असम्भव । यो धेरै असम्भव हो, खोला फर्केर आउँदैन । नेपालको आफ्नो भौगोलिक विशिष्ठता छ । आफ्नो राजनीतिक परिवेश छ । म जस्तै धेरै युवाहरुले आफ्ना कलिला बसन्तहरु लोकतन्त्रको लागि धेरै संघर्ष गरेका छौं । हाम्रो जिम्मेवारी कसले लिने ? त्यसैले मैले अघि पनि भने लोकतन्त्रका उज्याला पक्ष दल नै हुन् दललाई सच्याउनु पर्छ तर राजालाई फर्काउनु हुँदैन ।

लोकतन्त्रको गीत गाएर मात्रै लोकतन्त्र आउँछ त लोकतान्त्रिक व्यवहार हुन पर्दैन ?
हुनुपर्छ । हामी त्यो पक्षमा छौं । चुनावलाई अगाडि राखेर लोकतन्त्र भएन भन्न म सक्दिैन । लोकतन्त्र भनेको स्वतन्त्रता हो । राजा हुँदा प्रजातन्त्र भन्थ्यौं अब राजा छैनन् नि, त्यसैले लोकतन्त्र भयो । तर जुन चुनाव हुनुपथ्र्यो नहुनुमा चांहि त्यो दलहरुको पाखण्डीपन हो । हामीले चुनावको एजेन्डालाई अगाडि सार्ने कि सरकार गठन र विघटनको एजेन्डालाई अघि सार्ने ? स्वार्थै स्वार्थमा दलहरु लागेको भएर जनतामाथि पेचिलो प्रहार भएको छ । कर्णालीका जनताका लागि पेचिलो प्रहार भएको छ । एउटा बाटो खचपच्चिदा सबै हजारौं बाटाहरु बिग्रिन्छन् ।

अर्को कुरा नेपालमा प्रधानमन्त्री हुने वित्तिकै यी दुइवटा राष्ट्रको भ्रमण गर्नै पर्ने त्याहाको रैवार काठमाडौं ल्याउनै पर्ने, त्यो काठमाडौमा लागु गर्नै पर्ने किन ? यो ठूलो बिडम्बना हो । लोकतन्त्र बचाउनै पर्छ, अतिबादी शक्तिले दुःख दिन खोज्दा सजग हुनैपर्छ । धर्मका नाममा अधार्मिक काम भएको हुनाले बिचलन आएको छ । समाज अब युवाहरुको हातमा दिनुपर्छ । युवाहरुलाई बृद्धहरुले ज्ञान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस