पर्सा जिल्लास्थित चिनी मिल नजिकको सार्वजनिक जग्गा नेकपा (माओवादी केन्द्र) को नाममा दर्ताका लागि सिफारिस गरिएकाले खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले माग गरेको छ ।
स्थानीय सिफारिस समितिले ऐलानी जग्गा दलका नाममा दर्ता गर्न गरेको निर्णय आम सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो । यो तथ्य सार्वजनिक भएलगत्तै ट्रान्सपरेन्सीले खारेजीको माग गरेको हो ।
देशमा सयौँ दलका सञ्जाल गाउँ, गाउँ र नगरमा फैलिएकाले दललाई ऐलानी जग्गा दिने परम्परा सुरु गर्दा परिणाम भयानक हुनेतर्फ ट्रान्सपरेन्सीले सरकार र सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।
सत्ताको नेतृत्व गरेको दललाई जग्गा दिने निर्णयले अझ नराम्रो सङ्केत गर्ने ट्रान्सपरेन्सीले जनाएको छ । यो निर्णय तत्काल खारेज गर्न अध्यक्ष भरतबहादुर थापाले आज जारी गर्नुभएको विज्ञप्तिमार्फत माग गर्नुभएको छ । रासस