चितवन । सत्र वर्षदेखि एचआइभीसँग लड्दै आएकी अभियान्ता दीक्षा रिमाल यो सङ्क्रमण जीवनको अन्त्य नभएर शुरुआत भएको बताउँछिन्। एचआइभी सङ्क्रमित भनेपछि समाजले घृणा गर्ने पहिलेको समयमा सञ्चार माध्यमको अगाडि खुलेर आफू सङ्क्रमित भएको घोषणा गर्ने दीक्षा यतिबेला पनि सङ्क्रमण रोक्न र भैसकेकालाई प्रेरणाको जीवन बाच्न क्रियाशील छन् ।
भरतपुर महानगरपालिका–१२ निवासी रिमालमा विसं २०५८ मा एचआइभी सङ्क्रमण देखिएपछिका उनको जीवन निकै उतारचढावमा बित्दै आएका छन् । समाजलाई एचआइभी सङ्क्रमणको बारेमा बुझाउनेदेखि हुन नदिन र भैसकेकालाई सहज जीवनयापनका लागि उनको यात्रा जारी छ ।
लागुऔषधमा लिप्त श्रीमान्बाट सङ्क्रमित भएकी दीक्षाको सन्तान पनि सङ्क्रमणबाट मृत्यु भएपछि श्रीमान्बाट अलग जीवन बिताउँदै आएकी उनी यतिबेला सङ्क्रमित भएर पनि स्वस्थ देखिन्छिन्।
दैनिक एकपटक एन्टीरेक्टो भाइरल (एआरभि) प्रयोग गर्दै आएकी दीक्षाकै कारण सङ्क्रमण भएका समुदायमा खुल्न थाले । उनले भनिन्, “मेरो जीवन निकै कष्टकर बितेर यहाँसम्म आयो । अरु सङ्क्रमितले यो कष्ट व्यहोर्न नपरोस् भनेर सङ्घर्ष गर्दै आएकी छु ।”
उनले आफू सङ्क्रमित भएपछि चितवन सक्रिय समूहको नामबाट गैरसरकारी संस्था गठन गरिन् । समुदायलाई एचआइभीका बारेमा बुझाउन थालिन् । यसका लागि उनी पर्चा बोकेर सडकमा पनि पुगिन् ।
उनले स्मरण गरिन् “सडकमा मान्छेहरूले सोध्थे तपाइँहरू नि भारतको बम्बइबाट फर्केको हो ?” यस्ता प्रश्न आउन थालेपछि उनका साथी पर्चा टाँस्न जान हिच्किचाउन थाले । उनीहरुको अभियान जारी नै रह्यो । पछि उनीहरुले लोकदोहोरी कार्यक्रम गरेर संस्थाका लागि पैसा जम्मा गर्नथाले । “गाउँका मानिस सङ्क्रमितका कार्यक्रम हेर्न आउँदैनौ भन्थे । हामी घरघरमै गएर बुझाउने प्रयास गथ्र्यौं” उनले सङ्घर्षका दिन सम्झँदै भनिन् ।
अभियानका क्रममा खाजा खान रेष्टुरेण्टमा बस्दा सँगैको टेबुलमा बसेकाहरुले लामखुट्टेले टोकेर पनि सर्न सक्छ भनेर उठ्ने गरेको उनले बताइन् । उपचार गर्न अस्पताल पुग्दा चिकित्सकले उपचार नगर्ने, बसमा यात्रा गर्दा सँगै बस्न अरु नमान्ने जस्ता विभेद सहनु परेको रिमाल बताउँछन् ।
सबै सङ्घर्षसँगै समाज र विश्वले उनलाई सम्झेको छ । सङ्क्रमितको हौसला बढाउन सन् २००५ मा ‘मिस एचआइभी स्टिगमा फ्री’ प्रतिस्पर्धा आयोजना गरियो । एचआइभी सङ्क्रमित कम छैनन्, उनीहरूले केही गर्न सक्छन् भन्ने उद्देश्यले गरिएको प्रतिस्पर्धामा आठ जना सहभागी भएका थिए । उपाधि दीक्षाले नै जितिन् ।
उनको संस्थाको नाम दुई वर्ष अघिदेखि चितवन सक्रिय महिला प्रतिष्ठान भनेर संशोधन गरिएको छ । सन् २०१६ मा १० हजार अमेरिकन डलर राशिको अन्तर्राष्ट्रिय रेड रिभन अवार्ड जितेपछि उनी अन्तर्राष्ट्रिय जगतमा पनि चिनिएी छन् ।
रिमालले यसअघि १५ देशमा एचआइभी सङ्क्रमितको ‘केस स्टडी’ पुरस्कारसमेत पाएकी छन् । उनको विषयमा तयार गरिएको वृत्तचित्र सिङ्गापुरमा गएर देखाउने अवसर पनि रिमालले पाउनु भएको छ ।
समुदायले सहयोग गरेमा अरु सरह सङ्क्रमितहरु बाँच्न सक्ने उनको भनाइ छ । “मुख्य रुपमा सङ्क्रमितहरुमा आत्मबल हुनुपर्छ, अरुभन्दा स्वस्थ भएर हिड्न सकिन्छ” उनले भनिन् ।
उनकै नेतृत्वमा एचआइभी सङ्क्रमित बच्चाका लागि जिल्लामा साङ्गीतिक कार्यक्रम गरी रु १३ लाख सङ्कलन गरेर उनीहरुको पालनपोषणमा खर्च गरिदै आएको छ । यससँगै देशका विभिन्न जिल्लाका सङ्क्रमितका लागि रिमालको संस्थाले काम गर्दै आएको छ ।