काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
आज गृहमन्त्रालयमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६को प्रथम चौमासिक समीक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारबाही सन्तोषजनक रहे पनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।
उनले भने,‘ तपाइहरूलाई दिइएको जिम्मेवारी ईमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशील ढङ्गले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय तपाईँहरूको साथमा छ ।’
गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्य योजना बनाएको र सोही अनुरूप काम अघि बढिरहेको गृहमन्त्रीको भनाई छ ।
समीक्षाबाट निस्किएको सवलता र कमजोरी आधारमा आफ्ना कामकारबाहीलाई थप परिष्कृत बनाउँदै लैजानुहोस् । गृहमन्त्री थापाले भने ।
कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन गृहमन्त्रालयको महत्त्वपूर्ण भूमिका हुने भएकोले सोही अनुरूप काम गर्न मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।
उनले मन्त्रालयको कामकारबाही सही बाटोमा रहे पनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा गृह अन्तर्गतका निकायहरूले हालसम्म गरेका कामकारबाहीको बुँदागत रूपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामूहिक छलफल गरिएको थियो ।