काठमाडौँ । बालेन नेतृत्वको सरकारले सरकारी सेवा प्रवाहलाई सहज, छिटो र नागरिकमैत्री बनाउन घरमै सेवा उपलब्ध गराउने नीति अघि सारेको छ।
शासकीय सुधारअन्तर्गत पासपोर्ट, नागरिकता, सवारी चालक अनुमति पत्रलगायतका सेवाहरूलाई छिटो, सहज र बिचौलियामुक्त रूपमा पूर्वानुमेय समय (प्रिडिक्टेबल टाइम) भित्र उपलब्ध गराइने व्यवस्था गरिएको छ। साथै सम्पूर्ण सेवा प्रक्रियालाई फेस लेस, टाइम-बाउन्ड र डिजिटल प्रणालीमा रूपान्तरण गरिने उल्लेख गरिएको छ।
यसै सन्दर्भमा सरकारले ‘गभर्नमेन्ट कुरियर सर्भिस’ सञ्चालन गर्ने नीति लिएको छ, जसअन्तर्गत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायतका सरकारी कागजात तथा सामग्रीहरू सेवाग्राहीको घरमै पुर्याइने व्यवस्था गरिनेछ।
सरकारले उक्त सेवा १०० दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।
यस व्यवस्थामार्फत सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घटाउँदै सेवा प्रवाहलाई थप पारदर्शी, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।







