काठमाडौँ । टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को रोमाञ्चक खेलमा क्यानडाका १९ वर्षीय ब्याटर युवराज सिंह सामराले ऐतिहासिक शतक प्रहार गरे पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्।
न्युजिल्यान्डसँगको हारसँगै क्यानडासहित तीनवटा टोली आजैका दिन विश्वकपको अघिल्लो चरणको दौडबाट बाहिरिएका छन्।
न्युजिल्यान्डविरुद्धको खेलमा सामराले क्रिकेट कीर्तिमानी शतक प्रहार गरे। यो शतकसँगै सामरा पुरुष टी-२० विश्वकपमा शतक प्रहार गर्ने पहिलो एसोसिएट राष्ट्रका खेलाडी बनेका छन्।
सामराको सानदार ब्याटिङका बाबजुद न्युजिल्यान्डले आफ्नो अनुभव र सन्तुलित खेल प्रदर्शन गर्दै क्यानडालाई पराजित गर्यो। न्युजिल्यान्डको यो जितले समूह ‘डी’ को अंक तालिकाबाट दुई टोलीले सुपर-८ पुगेका छन्। न्युजिल्यान्डले महत्वपूर्ण २ अंक जोड्दै सुपर-८ मा पुगेको छ।
आजको खेलको नतिजा आएसँगै क्यानडाको विश्वकप यात्रा आधिकारिक रूपमा समाप्त भएको छ। क्यानडासँगै समूहका अन्य दुई टोली अफगानिस्तान र युएई पनि बाहिरिएका छन्। यसअघि यो समूहबाट दक्षिण अफ्रिका सुपर-८ मा पुगेको थियो। यो समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर-८ मा पुग्दा क्यानडा, अफगानिस्तान र युएई बाहिरिएका हुन्।
युवराजको ११० रनको मद्दतमा १७३ रन बनाएको क्यानडाले दिएको लक्ष्य न्युजिल्यान्डले २ विकेटको क्षतिमा १५.१ ओभरमै पूरा गरिदियो। उसका लागि ग्लेन फिलिप्सले ३६ बलमा नटआउट ७६ रन बनाए।







