काठमाडौँ । ०७९ सालको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल निष्कासन गरेको छ ।
नेपाली काँग्रेसमा इतर समूहमा रहेका खनाललाई ०७९ सालको निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेललाई असहयोग गरेको भन्दै पार्टीमा उजुरी परेको थियो ।
लामो समयपछि त्यो उजुरीलाई आधार मानेर काँग्रेस केन्द्रीय अनुशासन समितिले कारबाही गरी निष्कासन गरेको हो । समितिका सभापति आनन्दप्रसाद ढुंगानाले काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पत्र लेख्दै खनाललाई कारबाही गरेको जनाएका छन् ।
पत्रमा नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गते बसेको बैठकको निर्णयअनुसार नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १० निवासी नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणको आधारमा नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) र (घ) र उपधारा ८ (ड) बमोजिम निजलाई १ (एक) वर्षको लागि नेपाली काँग्रेसको सदस्यताबाट निष्कासन गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
असार १६ गते सुरु भएको काँग्रेस केन्द्रीय समिति बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो । महामन्त्री खनालले आफूलाई कारबाही गर्ने सूचना पाएसँगै जिल्लामै पत्रकार सम्मेलन गरेर त्यसको प्रतिवाद गरेका थिए ।








