पाल्पा । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहोर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहोरमै भविष्य देख्नेहरू पनि छन् ।
यहाँको तानसेन नगरपालिका-६ पदम टारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहोरमा मोहर खोज्दै छन् । यहाँका सुशील, उमेश र टार्जन भण्डारीले तानसेन-७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी फोहोरबाट मोहर खोज्दै आएका हुन् ।
तानसेन बजारबाट दैनिक निस्कने फोहरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले तीन दाजुभाइ मिलेर कवाडी संकलन र प्रशोधित गरी आम्दानी लिइरहेका छन् । उनीहरूले उद्योग दर्ता गरी केही युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन् । उनीहरूले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोगविहीन वस्तुहरू संकलन गरी प्रशोधन गरेर आम्दानी गरिरहेका छन् ।
तीनै दाजु भाइले स्नातक सम्मको अध्ययन गरेका छन् । सुशील जसले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दै छन् । उमेशले विएस्सी सकेर हाल एमए इकोनमिक्समा अध्ययनरत छन् र टार्जनले बिबिए पूरा गरिसकेका छन् । तर उनीहरूमा न विदेश जाने सोच छ नत सरकारी जागिर नै । तीन दाजुभाइको एउटै सोच छ तानसेनलाई फोहरमुक्त सहर बनाउने । संकलित कवाडी वस्तुहरूको वर्गीकरण गरी उनीहरूले भैरहवा, काठमाडौँ, वीरगञ्जलगायत ठूला सहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए ।
केही वस्तुहरू भने आफैँ रिसाइकल गर्ने गरेको उनको भनाइ छ । उनीहरूले कवाडी संकलनबाटै वार्षिक ३० देखि ५० लाखसम्म कमाइ गर्दै आएका छन् । कवाडी संकलनका लागि उनीहरूले छ जनालाई रोजगारी दिएका छन् । यहाँ तीन जना नेपाली र तीन जना भारतीय नागरिकले रोजगार पाएका छन् ।
सुरुमा पढेका युवाहरूले फोहर संकलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए, तर अहिले उनीहरूको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन् । उमेश सुरुका दिन सम्झँदै भन्छन्, “सुरुवातमा हामीलाई यो काम गर्न त्यति सहज थिएन, कसैले सोचेका थिएनन्, पढेका युवाले कवाडी संकलन गरेर खाला भनेर, त्यति बेला नत स्थानीय सरकारले सहयोग गर्यो न त समाजमा कसैले साथ दिए । परिवारलाई बुझाउन गाह्रो भो, बरु हामीले फोहर संकलन गरेको देखेर समाजका केही व्यक्तिहरूले त फलाम, प्लास्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए ।”
पहिले–पहिले फोहर संकलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे । तर, अहिले ग्राहक ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन् । प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी संकलन हुन्छ । संकलन भएका फोहरलाई त्यसको प्रकारका आधारमा छुट्टाएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन् । कवडीबाट प्राप्त आम्दानीबाट उनीहरूले तानसेन नगरपालिकालाई कर बुझाउँदै आएका छन् ।