काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरको एक सामान्य बिहान असामान्य घटनाको साक्षी बन्यो । सडकछेउमा अस्वाभाविक व्यवहार गरिरहेकी एक महिलालाई देखेर स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे ।
धेरैको नजरमा ती महिला अनौठो र समस्याजनक थिइन् । कोही नजिक जान पनि मानेनन् । तर, प्रहरीले त्यो दृश्यमा मानवीय संवेदनाको स्पर्श थपे ।
प्रहरी बिट खैरानामा कार्यरत प्रहरी वरिष्ठ हवलदार धरमानन्द भट्ट र प्रहरी जवान चन्द्रीका कुमारी देउवाले उक्त घटनाको खबर पाएपछि तुरुन्तै घटनास्थल पुगे । जब उनीहरू नजिक पुगे, तब मात्र खुल्यो वास्तविकता–वर्ष २४ की महिला सुत्केरी व्यथामा छटपटाइरहेकी थिइन् । यो घटना मंगलबार बिहान ८:३० बजेको हो ।
सबैले टाढा भए, प्रहरी नजिकिए
प्रहरी वरिष्ठ हवलदार धरमानन्द र प्रहरी जवान चन्दिकाले एक छिन पनि ढिला नगरी ती महिलालाई सडकछेउबाट नजिकैको एक व्यक्तिको आँगनमा लगे । अस्पताल लैजाने अवस्था थिएन, तत्कालै त्यहीँ सुरक्षित स्थान बनाएर प्रसूतिको तयारी गरे । अपरिचित व्यक्ति भनेर त्यहाँका स्थानीयले सुत्केरीलाई सहयोग गर्न हिचकिचाएका थिए ।
“सुत्केरी व्यथाले छटपटाइरहेकी चन्द्रा आचार्यलाई सबैले अस्वाभाविक व्यवहार गरेको भनेर हेरेका थिए, तर हामी नजिक जाँदा उहाँ सुत्केरी व्यथाले अत्यन्तै पीडामा हुनुहुँदो रहेछ,” प्रहरी वरिष्ठ हवलदार भट्टले प्रशासनसँग भने, “कोही पनि छुन, बोल्न वा सहयोग गर्न तयार थिएनन् ।”
उक्त स्थानमा उपलब्ध स्रोतसाधन अत्यन्त सीमित थिए । प्रहरीले स्थानीय एक व्यक्तिसँग एकसर्को कपडा मागी सुत्केरी महिलाको उद्धार गरे। केही समयमै ९:३६ बजे चन्द्राले एक स्वस्थ बालकलाई जन्माइन् । “अस्पताल लैजाने समय थिएन । तुरुन्तै केही उपाय गर्नैपथ्र्यो,” प्रहरी वरिष्ठ हवलदार भट्टले भने, “त्यसैले सक्दो गर्यौँ। अहिले हेर्दा लाग्छ-त्यो बच्चा बाँच्नु नै सबैभन्दा ठूलो सफलता हो ।”
प्रहरी जवान चन्दीकाको संवेदनशीलता र साहस
यो घटनामा प्रहरी जवान चन्द्रीका कुमारी देउवाको भूमिका विशेष रह्यो । उनले सुत्केरी महिलालाई देख्दा आफ्नो कर्तव्य र मानवीयताको भावनाले तत्काल सहयोग गर्ने निर्णय लिएकी थिइन् । “जुन अवस्थामा उहाँलाई भेटेँ, उहाँसँगको कुरा भन्दा पनि पीडालाई महसुस गरेर मैले गर्नुपर्छ, मेरो कर्तव्य हो भन्ने लाग्यो, यदि म प्रहरी नभएको भए पनि, व्यक्तिका रूपमा मानवीयताका नाताले गर्नुपर्छ भन्ने लागेर मैले उहाँलाई सघाउने सोच बनाएँ,” चन्दीकाले भनिन् ।
उनले थपिन्, “यो पीडा त मैले आफूले पनि भोगेको छु । यस्तो अवस्थामा गरेको सहयोग धेरै पुण्य हो । मलाई जस्तै उहाँलाई पनि पीडा भएको होला भनेर मैले उहाँलाई हिम्मत दिएँ, उनले प्रशासनसँग थपिन्, ‘म तपाईँको साथमा छु । केही पनि हुँदैन । तपाईँ र तपाईँको बच्चालाई जन्माउने जिम्मा मेरो भयो, तपाईँ साहस गरिदिनुहोस् । जे गर्नुपर्छ, म सघाउँला,’ भनेपछि उहाँमा एक प्रकारको ऊर्जा थपियो। त्यसपछि उहाँले सहजै बच्चा जन्माउनुभयो ।”
सीमित स्रोतसाधनका बीच सुत्केरी प्रक्रियालाई सुरक्षित बनाउन उनले स्थानीयलाई मनाएर सहयोग जुटाइन् । “मैले त्यो घरका मानिसलाई कन्भिन्स गरेँ । सबैको घरमा यस्तो हुँदैन । तपाईँको घरमा भगवानले पठाइदिनु भएको हो । यो गर्नु भनेको ठूलो धर्म हुनेछ । तपाईँले पहिलो जन्ममा केही पुण्य काम गरेको हुनाले डेलिभरी हुँदै गर्दा यी महिला यहाँ आई पुगिन् । पुण्यको हिसाबले मलाई सहज बनाउन कपडा दिनुहोस्,” आफूले गरेको अनुरोधपछि घरका मानिसले गरेको सहयोग सम्झिँदै उनले भनिन् । प्रसव पीडामा रहेकी महिलालाई आत्मबल दिँदै र सर्वसाधारणलाई आग्रह गर्दै उनले सफलतापूर्वक डेलिभरी गराइन् ।
मानवताको उज्यालो अनुहार
बालकको जन्मपछि चन्द्रा र शिशुलाई अत्तरियास्थित पद्मा अस्पताल पुर्याइएको थियो । वडा नं. १ वडाध्यक्ष गोपाल दत्त भट्टले एम्बुलेन्सको व्यवस्था गरेका थिए । सुत्केरी व्यथाले छटपटाइरहेकी चन्द्रा बोल्न सक्ने अवस्थामा थिइनन् ।
प्रहरी बिट खैरानाका अनुसार, २४ वर्षीया ती महिलाको माइती घर सुर्खेत र पोइली घर बझाङ हो । उनी अत्तरियामा डेरा गरी बस्दै आएकी थिइन् । उनका श्रीमान् कामको सिलसिलामा भारतमा छन् ।
अहिले आमा र शिशु पद्मा अस्पतालमा उपचाररत छन् । तर, उनकाका आफन्त अहिलेसम्म सम्पर्कमा आएका छैनन् । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच, नेपाल प्रहरीले प्रहरी जवान चन्द्रीका कुमारी देउवालाई पुरस्कृत गरेको छ । आम सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म उनको कार्यको प्रशंसा भइरहेको छ । यो घटना केवल प्रहरीको नियमित ड्युटीको कथा होइन । यसले देखाएको छ–प्रहरीको भूमिकामा कानुनी कार्यान्वयन मात्र होइन, मानवीय सेवा पनि समावेश हुन्छ ।

प्रहरी वरिष्ठ हवलदार भट्ट र प्रहरी जवान देउवाको तत्काल निर्णय, संवेदनशीलता र साहसले एउटा जीवनको रक्षा मात्र गरेन, राज्य र समाजको सम्बन्धलाई झन् बलियो बनाएको छ ।