काठमाडौँ । नेपालको निजामती सेवाको भर्ना प्रणालीमा ठूलो परिवर्तन हुने भएको छ। सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) पदमा खुला प्रतिस्पर्धा पूर्ण रूपमा बन्द गर्न लागिएको हो। अब यो पदमा आन्तरिक (अन्तर तह) प्रतिस्पर्धामार्फत मात्र भर्ना गरिनेछ। खरिदार, अधिकृत र उपसचिव पदमा भने खुला र आन्तरिक दुवै प्रतिस्पर्धा कायम रहनेछ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा सहसचिव पदको खुला प्रतिस्पर्धा बन्द गर्ने सहमति जुटाएको हो। विगतमा पनि यस्तो व्यवस्था ल्याउने प्रयास भएको थियो। २०७६ भदौ २० मा समितिले निजामती कर्मचारीले उपसचिव र सहसचिवको खुला परीक्षामा सहभागी हुन राजीनामा दिनुपर्ने व्यवस्था गरेको थियो, तर ऐन पास नहुँदा यो लागू हुन सकेन।
वर्षौँदेखि छलफलमा रहेको विधेयकमा सहसचिवको खुला प्रतिस्पर्धा बन्द गर्ने व्यवस्थासहित पास भएसँगै पुनः चर्चा सुरु गरेको छ।
यसअघि निजी क्षेत्रसँग प्रतिस्पर्धा र सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यले सहसचिव पदमा खुला प्रतिस्पर्धा खुला गरिएको थियो। तर, खुला प्रतिस्पर्धाबाट आएका सहसचिवहरूले अपेक्षित नतिजा दिन नसकेको, अनुभवको कमीले निर्णय क्षमता कमजोर भएको र सेवाभित्रका कर्मचारीको तुलनामा कम प्रभावकारी भएको गुनासो थियो।
साथै, कर्मचारीहरू जागिर सुरु गरेदेखि नै माथिल्लो तहको परीक्षाको तयारीमा लाग्दा समय र सरकारी स्रोतको दुरुपयोग भएको, जसले सेवा प्रवाहमा समेत असर पारेको बताइँदै आइएको छ ।