उदयपुर । वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान वर्षासँगै हावाहुरी र आँधी आउँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय तथा घरमा क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जिल्लाको चौदण्डीगढी नगरपालिका-१० खैराहा झोडामा हावाहुरीका कारण स्थानीय हर्क श्रेष्ठको घर, ध्रुव खत्री, सम्भव अधिकारीको घरको छानो उडाएको जानकारी दिए ।
उदयपुरगढी गाउँपालिका-६ को जगेटारस्थित माध्यमिक विद्यालयको सबै छानो हावाहुरीले उडाएको छ । त्रियुगा नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हावाहुरीका कारण करिब रु. २२ लाख ६० हजारभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक दोङले बताए । जिल्लाको अन्य स्थानमा थप क्षति भएका हुनसक्ने भन्दै तथ्यांक संकलन कार्य भइरहेको उनले जानकारी दिए ।