काठमाडौँ । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि मुछिएको उमागौरी सहकारीको रकम हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले मिसिल झिकाउन आदेश दिएको छ।
उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले बिहीबार मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिँदै आगामी बिहीबारका लागि पेसी तोकिएको छ।
यसअघि उच्च अदालतका दुई न्यायाधीशको राय बाझिएपछि अन्जला कोइराला सहितका प्रतिवादीहरूलाई थुनामा राख्न माग गर्ने जिल्ला सरकारी वकिल कार्यालयको माग अनिर्णीत बनेको थियो।
एक साताअघि उमागौरी कृषि सहकारी रकम हिनामिना प्रकरणको पेसी स्थगित भएर बिहीबारलाई पेसी तोकिएको थियो।
कोइराला सहितका ६ जनालाई धरौटीमा छाड्ने जिल्ला अदालतको यसअघिको आदेश वेरितको भएको भन्दै सरकारी वकिल कार्यालयले थुनामा राख्न माग गर्दै उच्च अदालतका निवेदन दिएको थियो।
उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना भएको अभियोगमा २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
सभापति ऋषिकेश पत्नी अन्जला लामो समय फरर भएर पुस २४ मा जिल्ला अदालतमा हाजिर भएकी थिइन्। उनी सोही दिन १० लाख धरौटीमा छुटेकी थिइन्। अरू पाँच जना भने पाँच–पाँच लाख धरौटीमा छुटेका थिए।