भोजपुर । भोजपुरको दक्षिणमा रहेको हतुवा गढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित हतुवा गढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको सो शिविरमा ३०५ जनाले आँखा जाँचको सेवा लिएका थिए । शिविरमा मोतीबिन्दु र मासु पलाएको समस्याको नि:शुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो ।
विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई पायक पर्ने स्थानमै उपचार गर्न पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । उनले भने, “आर्थिक अवस्था कमजोर भएर अन्यत्र उपचारमा जान नपाएका पालिकावासीलाई स्थानीय स्तरमै सञ्चालन हुने स्वास्थ्य कार्यक्रमले राहत पुर्याउँदै आएको छ ।”
ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका आँखा शिविर प्रभावकारी बनेको हतुवा गढी आँखा उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए । उनले भने, “शिविरमा विज्ञ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार गरिने भएकाले शिविरहरू प्रभावकारी छन, यसले आर्थिक अवस्थाका कारण सेवा पाउनबाट वञ्चित नागरिकलाई पनि सहजता दिएको छ ।”
गाउँघरमै नि:शुल्क आँखाको परीक्षण, उपचार तथा शल्यक्रिया सेवा पाएपछि स्थानीयमा पनि उत्साह देखिएको छ । शल्यक्रियामार्फत आँखा देख्न पाएकोमा वृद्ध वृद्धा खुसी भएका थिए ।