काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवल र नेपालगञ्जमा पार्टी कार्यकर्तालाई वैचारिक रूपमा स्पष्ट गर्न स्थायी रूपले स्कुल सञ्चालन गर्ने भएको छ ।
प्रदेश पार्टी स्कुल विभागद्वारा आयोजित पार्टी सञ्चालनसम्बन्धी दुई दिने कार्यशाला गोष्ठीले सो सम्बन्धी निर्णय गरेको हो । आगामी साउन ७ गते पुष्पलाल जन्म जयन्तीको अवसर पारेर औपचारिक प्रारम्भ गरिने कुराको घोषणा पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गरेका छन् ।
पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले स्कुलका लागि तीन तहको स्कुल र चार तहको पाठ्यक्रम बनाइएको जानकारी दिँदै जिल्ला कमिटीले आधारभूत तह, प्रदेशले माध्यमिक तह र केन्द्रले उच्च तहको प्रशिक्षण दिने गरी तयारी गरिएको बताए । यसबाहेक पनि अध्ययन, अनुसन्धान र नीतिसम्बन्धी पनि प्रशिक्षणको व्यवस्था गरिएको छ ।
पार्टीले अबदेखि आधारभूत तहको प्रशिक्षण नलिएको कार्यकर्ता कुनै पनि राजकीय पदमा प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था गरिएको प्रचार विभागका प्रमुख डिआर घिमिरेले जनाएका छन् ।
कार्यशाला गोष्ठीको दोस्रो दिन छ वटा समूह बनाई वैचारिक राजनैतिक कामको अवस्था र समस्या, यसमा पार्टी स्कुलको भूमिका, वैचारिक/राजनैतिक काममा तय भएका पाठ्यक्रमहरूको उपयोगिता, पार्टी स्कुलमार्फत नियमित स्कूलरप्रशिक्षण कार्यक्रम सञ्चालन गर्न के गर्न पर्ला, कमिटी र कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधार्न कस्तो शिक्षाको आवश्यकता तथा नियमित पार्टी स्कुल/प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि आवश्यक योजना निर्माण, समन्वय र सहयोगका लागि सम्बन्धित पार्टी कमिटीको भूमिकाजस्ता विषयमा ठोस र मूर्त रूपले छलफल गरी समूहगत सुझाव प्राप्त भएका छन् ।
केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरू रामशरण प्याकुरेल र बद्री खनालले सहजीकरण गरेका थिए । कार्यशालाको प्रतिवेदन तयार गर्न गठित स्टेरिङ् कमिटीको तर्फबाट डीआर घिमिरेले १५ दिनभित्र सम्पूर्ण विवरण र आवश्यक सुझावसहितको प्रतिवेदन बुझाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त कमिटीमा दलबहादुर गुरुङ, युवराज घिमिरे, कल्पना थापालगायत ५ जना छन् । कार्यक्रमको समापनका अवसरमा प्रदेश स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले रुपन्देही र बाँके जिल्लाबाट विशेष प्रतिबद्धता लिदै अबका दिनमा स्कुललाई व्यवस्थित गरिने जानकारी दिए ।