काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज (बुधबार) फेरि ५० अर्ब रुपैयाँ बजार झिक्न लागेको छ ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको सूचनामा उल्लेख छ ।
बजारमा आवश्यकभन्दा धेरै पैसा(तरलता) भएको भन्दै त्यसलाई कम गरेर ठिक्क बनाउन(व्यवस्थापन गर्न) राष्ट्र बैंकले आज उल्लिखित रकम झिक्न लागेको हो । करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित रूपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज फेरि झिक्न लागेको हो ।
निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिन्छ ।