काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब देशका लागि काम गर्न सुझाव दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहीले विदेशीको गुलामी जति गर्नु थियो गरिसकेको भन्दै अब देशका लागि काम गर्न सुझाव दिएका हुन्।
‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धुरै चुरीफुरी नगर्न चेतावनी दिएपछि राप्रपाका सांसदसमेत रहेका शाहीले उक्त सुझाव दिएका हुन्।
‘यस्तै भट्किला, झुठा भाषण गर्दै हिँड्यौ भने ‘प्रचण्ड’जी नेपाली जनताले तपाईँलाई माफी दिने छैनन्। त्यसैले भन्छु– नवीनतम सम्झौतामा आउनुस्, विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नुभयो अब देशका लागि केही काम गर्नुस्,’ उनले लेखेका छन्।
‘प्रचण्लेड’ भारतमा लुकेर नेपालमा १७ हजार नेपालीलाई मारेको आरोप लगाए। उनी लेख्छन्,’भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो ? तपाईँले मार्यो। निहत्था नागरिकलाई बाटोबाटोमा बम थाप्दै कसले हत्या गर्यो ? तपाईँले।’
‘प्रचण्ड’ले क्यान्टोनमेन्ट घोटाला गरेको उनको भनाइ छ। ‘प्रचण्ड’ले तत्कालीन सरकारसँग मिलेर विदेशीको इसारामा राजा वीरेन्द्रको वंश नाश गरेको शाहीको आरोप छ।
‘विदेशीको इसारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईँले रेट्यो। ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईँले गर्यो। क्यान्टोन्मेन्ट घोटाला कसले गर्यो ? तपाईँले गर्यो। सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईँ र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौँ,’ उनले लेखेका छन्।
