बागलुङ । धवलागिरि आँखा अस्पताललाई आवश्यक पर्ने उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । लायन्स क्लब इन्टरनेशनल (डिस्ट्रिक ३२५ के)ले आँखा अस्पताललाई आँखा उपचारमा सहयोग पुर्याउन रु. ८० लाख बराबरको उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ नेपालका पूर्व गभर्नर राजेन्द्र बाटाजुले जानकारी दिए ।
धवलागिरि आँखा अस्पतालमा आँखाको उपचार गर्न आउने बिरामीलाई काठमाडौँ तथा पोखराको जस्तो स्वास्थ्य सेवा दिने उद्देश्यले आँखा उपचारमा सहयोग पुर्याउन उक्त उपकरण सहयोग गरिएको छ ।
अहिले प्राप्त भएको अटो टाइपको मेसिनबाट अस्पतालमै सहज र सुरक्षित अनि छिटो आँखाको उपचार गर्न सहज हुने धवलागिरि आँखा अस्पतालका नेत्र सहायक बिनम लामिछानेले जानकारी दिए । रु. ८० लाख बराबरको आँखाको क्षमता परीक्षण गर्ने अत्याधुनिक उपकरण, आँखाको शल्यक्रिया गर्ने उपकरण, फेको प्रविधिका अन्य सामग्री तथा आँखा उपचारमा सघाउने स्वास्थ्य सामग्री तथा उपकरण सहयोग प्राप्त भएको हो ।
उक्त उपकरण खरिदमा लागेको ३० प्रतिशत रकम बागलुङ नगरपालिका र धवलागिरि आँखा अस्पतालको साझेदारीमा संयुक्त लगानी गरिएको हो । अस्पतालमा दैनिक ३० जना आँखाका बिरामी आउने गरेका छन् । पछिल्लो समय मोबाइल तथा कम्प्युटरजस्ता विद्युतीय उपकरणको प्रयोगबाट आँखामा समस्या आउन थालेपछि बिरामीको सङ्ख्या बढ्दै गएका छन् ।