काठमाडौँ । माओवादी केन्द्र चौरजहारी नगर समितिका अध्यक्षसहित ६ सदस्यले राजीनामा दिएका छन् । अध्यक्ष सुन्दर शर्मासहितका सदस्यले आज समितिका उपाध्यक्षसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।
आफूसहित सदस्यहरू लालबहादुर कामी, परशुराम लामिछाने, भद्रबहादुर बुढा, असारी दमाई र ललिता विष्टले सामूहिक राजीनामा पत्र बुझाएको अध्यक्ष शर्माले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘सुदृढ संगठन एकताबद्ध एवम् सक्रिय चौरजहारी पार्टी निर्माण गर्न हाम्रो साझा धारणा छ । जस्तोसुकै परिस्थितिमा पनि माओवादी आन्दोलनको शिर झुक्न दिइनेछैन । पार्टी सदस्य भएर निरन्तर समाज सेवामा लाग्ने प्रतिबद्धता गर्दछु ।’
गत पुस १३ देखि १७ गतेसम्म चलेको तेस्रो चौरजहारी नगर अधिवेशनबाट शर्मा अध्यक्षमा निर्वाचित भएपछि पार्टीभित्र यस विषयमा विवाद भएको थियो । ‘माओवादी केन्द्रको निर्वाचन आचारसंहिताअनुसार नगर अधिवेशनका लागि सम्बन्धित वडाबाट प्रतिनिधिका रूपमा निर्वाचित भएर आउने व्यवस्था थियो, ‘माओवादी जिल्ला समन्वय समिति संयोजक गोविन्द रोकाले भने, ‘तर अध्यक्ष शर्मा चौरजहारी १३ बाट र लालबहादुर कामी वडा नं. १० बाट प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा पराजित भएको तर नगर समितिमा मनोनीत भएकाले विवाद भयो ।’ अध्यक्ष शर्मा र सदस्य कामी तथा अरु चार जना नगर समितिमा मनोनीत भएर आएको उनले बताए । प्रतिनिधिको निर्वाचनमा हारेर पनि नगर समितिको अध्यक्ष र सदस्य भएको र मनोनीतहरूलाई नै नगर समितिमा समेटिएको विषयमा पार्टीको निर्वाचन समितिमा उजुरी परेको उनको भनाइ छ । ‘यही विषयको विवाद थप लामो नहोस् भनेर उहाँहरूले राजीनामा दिनुभएको हुन सक्छ, ’उनले भने ।
अध्यक्ष शर्माले नै सार्वजनिक गरेको राजीनामा पत्रमा निर्वाचन आयोगमा आफूहरूको विषयमा उजुरी परेको र त्यसको निरूपण हुन नसकेको भनिएको छ । जिल्ला संयोजक रोकाले राजीनामा स्वीकृत गर्ने वा नगर्ने बारेमा सम्बन्धित नगर समिति नै सर्वाधिकार सम्पन्न भएको स्पष्ट पारे । ‘अगामी कदमका बारेमा पनि नगर समितिले नै निर्णय गर्नेछ । यसमा हाम्रो (जिल्ला समन्वय समितिको) को कुनै भूमिका हुँदैन, उनले भने ।