काठमाडौं । क्रसर र खानीको जिल्ला उपमा पाएको काभ्रेका राजमार्गमा जोडिएका प्रहरी चौकीले ट्रिपरहरुबाट अवैध रुपमा रकम संकलन गर्ने गरेको पाइएको छ।
रकम नदिए बेहोर्नुपर्ने हैरानीका कारण पनि ट्रिपर चालकहरु राजमार्गका प्रहरी चौकीलाई सहजै रकम बुझाउन राजी हुन्छन्। यो रकम मासिक झण्डै ७० लाख रुपैयाँ जति हुने अनुमान गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको तथ्यांकअनुसार, जिल्लामा दैनिक १ हजार २ सयभन्दा बढी ट्रिपर गुड्ने गर्छन्। त्यसमध्ये आधा भन्दा बढी ट्रिपर चालकले दैनिकी रुपमा प्रहरी-ट्राफिक प्रहरीलाई रकम बुझाउँदै आएका छन्।
काभ्रेका राजमार्गसँग जोडिएका मंगलटार, भकुन्डे, काभ्रे भज्याङ, साँगा, पाँचखाल, खावा, हिगुवापाटी, सिपाघाट र दोलालघाट प्रहरीचौकी छन्।
यी प्रहरी चौकीलाई भन्डै ८ सय ट्रिपरले हरेक महिना रकम बुझाउनु पर्ने बाध्यता छ। ‘प्रहरी र ट्राफिक प्रहरीसँग निहुँ खोज्नु भन्दा मासिक रुपमा रकम बझाउनै फाइदा,’ एक ट्रिपर चालक भन्छन्, ‘बुझाएन भने ओभरलोड भन्दै दैनिक चेक गर्छन, यस्तो टेन्सन किन बोक्नु ?’ आजको राजधानी दैनिकमा खबर छ ।