परिचय
रोजगारी सिर्जना भनेको व्यक्तिहरूको सहज जीवनयापन गर्न वा अर्थतन्त्रलाई मजबुत बनाउन कुनै पनि क्षेत्रमा काम गर्ने अवसरको सिर्जना गर्नु हो । रोजगारी सिर्जना भन्नाले कुनै पनि क्षेत्रमा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने क्रियाकलापलाई बुझिन्छ । यसले व्यक्तिहरूलाई आफ्नो सीप र क्षमताको प्रयोग गर्न सक्षम बनाउने काम गर्दछ । रोजगारी सिर्जनाका मुख्य स्रोत नै निजी क्षेत्र रहेको छ । नेपालमा सिर्जना हुने रोजगारीहरू मध्ये करिब ८५ प्रतिशत जति रोजगारी निजी क्षेत्रले सिर्जना गर्ने गर्दछ भने तथ्याङ्कले देखाउँछ । नेपालको आन्तरिक श्रम बजारमा वार्षिक करिब तीन लाखको हाराहारीमा रोजगारी सिर्जना हुने गर्दछ जबकि पाँच लाख श्रम शक्ति श्रम बजारमा प्रवेश गर्दछ ।
रोजगारी सिर्जनामा प्रभाव पार्ने कारक तत्त्वहरू
रोजगारी सिर्जनालाई विभिन्न कारक तत्त्वहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गर्दछ । जसमध्ये केही प्रमुख कारक तत्त्वहरू यस प्रकार रहेका छन् ।
१. सरकारी नीति: सरकारले अवलम्बन गर्ने आर्थिक र मौद्रिक नीतिहरूले रोजगारी सिर्जनामा ठूलो प्रभाव पार्दछ । रोजगार नीति, कर नीति, कर प्रणाली, श्रम कानुन, विकास योजना र आर्थिक प्रोत्साहनका कार्यक्रम (अनुदान) जस्ता तत्त्वहरूले रोजगारी सिर्जनामा प्रत्यक्ष प्रभाव पार्छ । समयानुकूल रोजगार नीति, योजना तथा कार्यक्रम भए रोजगारीका अवसरहरू तीव्र रूपमा सिर्जना वा वृद्धि हुन्छ ।
२. आर्थिक अवस्था: रोजगारी अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । त्यसैले रोजगारी सिर्जनामा अर्थतन्त्रले महत्त्वपूर्ण प्रभाव पार्दछ । अर्थतन्त्रको वृद्धि र विकासले उद्योग, कृषि, पर्यटन, सेवा क्षेत्र र व्यापारको क्षेत्रमा रोजगारीको मागमा वृद्धि ल्याउँछ र रोजगारीका अवसरहरू सिर्जना हुने गर्छ भने आर्थिक मन्दीले रोजगारीका अवसरहरूमा सङ्कुचन ल्याउँछ । आर्थिक वृद्धि वा गिरावटले रोजगारी सिर्जनाको गतिलाई निर्धारण गर्ने गर्दछ ।
३. श्रम बजारको माग र आपूर्ति: श्रम बजारको माग र आपूर्तिले रोजगारी सिर्जनामा अत्यन्त ठूलो प्रभाव पार्दछ । श्रम बजारमा कुन क्षेत्रमा के कति संख्यामा जनशक्तिको माग रहेको छ सोही अनुसारको दक्ष जनशक्ति उत्पादन गरी आपूर्ति गर्नु पर्दछ । यसले अन्डर सप्लाई र ओभर सप्लाइलाई सन्तुलन गर्दछ । माग र आपूर्ति बीचको सन्तुलनले रोजगारी सिर्जनालाई सहज बनाउँछ ।
४. सीप र योग्यता: रोजगारी सिर्जनामा सीप, योग्यता र क्षमताले पनि निकै ठूलो प्रभाव पार्दछ । सीपले मानिसलाई रोजगारीका नयाँ नयाँ अवसरहरू सिर्जना गर्न सक्षम बनाउँछ । यसले रोजगारीका क्षेत्रमा सुधार गर्न सघाउँछ । सीपयुक्त दक्ष जनशक्तिलाई रोजगारीका अवसर सजिलै प्राप्त हुन्छ । योग्य र दक्ष जनशक्तिको विकासले अर्थतन्त्रमा दिगो सुधार ल्याउँछ ।
५. वैदेशिक लगानी: वैदेशिक लगानीले नयाँ नयाँ उद्योगहरूको स्थापना, विकास र विस्तार गर्न, नयाँ प्रविधिहरू भित्र्याउन, नवप्रवर्तन तथा ठुलठुला पूर्वाधारहरूको विकास गर्न मद्दत गर्दछ । जसको परिणाम स्वरूप विभिन्न क्षेत्रमा भारी संख्यामा रोजगारीका अवसरहरू सिर्जना हुने गर्छ । यसले आन्तरिक श्रम बजारलाई सक्रिय एवम् गतिशील बनाई दीर्घकालीन रूपमा रोजगारी सिर्जनाको गुणस्तरलाई बढाउँछ ।
रोजगारीका क्षेत्रहरूको पहिचान गर्ने तरिका
रोजगारीका क्षेत्रहरूको पहिचान गर्ने विभिन्न विधि र तरिकाहरू रहेका छन् । जसले श्रम बजारमा उपलब्ध रोजगारीका अवसर र आवश्यकताहरूको विश्लेषण गर्न मद्दत गर्दछ । रोजगारीका क्षेत्रहरूको पहिचान गर्ने प्रमुख विधिहरू यस प्रकार रहेका छन् ।
१. नीति तथा कार्यक्रमहरूको मूल्याङ्कन: रोजगारीका क्षेत्र पहिचान गर्न रोजगार सम्बद्ध नीतिहरूको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहन्छ । नीति निर्माणकर्ता, नियामक र कार्यान्वयनकर्ता सरकार नै रहने हुनाले श्रम बजारमा देखिएका समस्या र चुनौतीहरूको समाधान गर्न तथा रोजगारीका अवसरहरूको सिर्जना गर्न नीतिले मार्ग निर्देश गर्दछ । रोजगारी सिर्जनालाई प्रोत्साहन गर्न सक्ने आर्थिक एवम् मौद्रिक नीति, रोजगार नीति, कृषि नीति, पर्यटन नीति, लगानी नीति र कर प्रणाली जस्ता रोजगारीसँग अन्तर सम्बन्धित विभिन्न नीति तथा कार्यक्रमहरूको प्रभाव मूल्याङ्कन एवम् विश्लेषण गरेर सम्भावित रोजगारीका क्षेत्रहरूको पहिचान गरिन्छ । नीतिहरूले श्रम बजारमा समुचित हस्तक्षेप गरी रोजगारीका सम्भावित क्षेत्रहरूको पहिचान एवम् अवसरहरूको सिर्जना गर्न सघाउँछ ।
२. शैक्षिक प्रणालीको विश्लेषण: शैक्षिक प्रणालीले श्रम बजारका आवश्यकताहरूको आधारमा दक्ष जनशक्ति तयार गर्न अहम् भूमिका निर्वाह गर्दछ । शैक्षिक कार्यक्रमहरू श्रम बजारका आवश्यकता, उद्योगहरूको प्रवृत्ति र आर्थिक विकासका लक्ष्यहरू अनुसार डिजाइन हुनु पर्दछ । शैक्षिक प्रणालीले रोजगारीको माग अनुसारको दक्ष, योग्य र सीपयुक्त जनशक्ति तयार गर्न सकेन भने दक्ष जनशक्तिको अभावमा उपलब्ध रोजगारीका अवसरहरू पनि खेर जान सक्ने सम्भावना उच्च हुन्छ र बेरोजगारी दर बढ्न सक्छ । त्यसैले रोजगारीका क्षेत्र पहिचान गर्न शैक्षिक प्रणाली र श्रम बजारको आवश्यकता बीच तालमेल मिलाउन शैक्षिक प्रणालीको विश्लेषण अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।
३. श्रम बजार सर्वेक्षण: रोजगारीका क्षेत्रहरूको पहिचान गर्न श्रम बजारको सर्वेक्षण एक महत्त्वपूर्ण साधन हो । यसले आन्तरिक श्रम बजारमा रोजगारीको अवस्था, बेरोजगारीको तीव्रता, श्रमिकको दक्षता, सीपको आवश्यकता र उपलब्धता, श्रमिकको माग र आपूर्तिको अवस्था लगायत विभिन्न पक्षहरूको बारेमा विस्तृत जानकारी प्रदान गर्दछ । श्रम बजार सर्वेक्षणले विभिन्न क्षेत्रमा रहेको रोजगारीका अवसर एवम् सम्भावनाहरूको पहिचान गर्न, श्रम बजारमा देखिएका चुनौतीहरू बुझ्न र रोजगारीका कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक तथ्याङ्क उपलब्ध गराउँछ । यसले सरकार, रोजगारदाता र नीति निर्मातालाई श्रम बजारको बारेमा आवश्यक जानकारी प्रदान गर्दछ । जसले श्रम बजारका समस्याहरूको समाधान गर्न र रोजगारीका नयाँ नयाँ अवसरहरू सिर्जना गर्न सघाउँछ ।
४. तथ्याङ्क सङ्कलन तथा विश्लेषण: श्रम बजारको वास्तविक अवस्था चित्रण गर्न तथ्याङ्क सङ्कलन तथा विश्लेषणको महत्त्वपूर्ण योगदान हुने गर्दछ । तथ्याङ्क सङ्कलन तथा विश्लेषणले श्रम बजारको वास्तविक अवस्था बुझ्न, रोजगारी सम्भावनाहरू पत्ता लगाउन, नीति निर्माणका लागि आधार तयार गर्न तथा श्रम बजार सुधारका लागि प्रभावकारी सुझावहरू प्रदान गर्न सहयोग गर्दछ । यसले रोजगारीका क्षेत्रहरूको पहिचान एवम् सुधार गर्न आवश्यक नीतिगत तथा कार्यक्रमगत ठोस कदम चाल्न सरकार र सरोकारवालाहरूलाई मद्दत गर्छ ।
५. अध्ययन तथा अनुसन्धान: विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक संस्था, विकास साझेदार संस्था र दातृ निकायहरूको समन्वय, सहयोग र सहकार्यमा रोजगारी सम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गरी रोजगारीका प्रमुख क्षेत्रहरूको पहिचान गर्न सकिन्छ । ग्रामीण, शहरी, तराई, पहाड, हिमाल जस्ता क्षेत्रहरूमा रोजगारीका सम्भावनाहरू फरक फरक हुन सक्छ । विभिन्न क्षेत्रका विशेषज्ञ, परामर्शदाता, रोजगारदाता र व्यावसायिक सङ्घ संस्थाहरूसँग छलफल गरी रोजगारीका सम्भावित क्षेत्र र सम्भावनाहरूको पहिचान गर्न सकिन्छ । भौगोलिक दृष्टिकोणले कुन क्षेत्रमा के कस्ता रोजगारी अवसरहरू उपलब्ध रहेका छन् भने उद्योग, पर्यटन, सूचना प्रविधि, स्वास्थ्य सेवा वा निर्माण क्षेत्रमा रोजगारीका के कस्ता माग छ भनेर अध्ययन अनुसन्धान गरी रोजगारीका क्षेत्रहरूको पहिचान गर्नु पर्दछ ।
रोजगारीका सम्भावित क्षेत्रहरू
नेपालको आन्तरिक श्रम बजारमा रोजगारी सिर्जना गर्न सकिने क्षेत्रहरू धेरै छन् । ती मध्ये केही प्रमुख क्षेत्रहरूमा लगानी, प्रविधिको प्रयोग एवम् विस्तार र सीपमूलक तालिम जस्ता विषयहरूको सही उपयोग गरेर ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । रोजगारीका सम्भावित क्षेत्रहरू मध्ये प्रमुख क्षेत्रहरू निम्नानुसार रहेका छन् ।
१. कृषि क्षेत्र: कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र विस्तार गरेर ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ । आधुनिक कृषि प्रविधि, सिँचाइ, मल, बीउ बिजनको प्रयोग, व्यावसायिक कृषि, कृषि उद्यम, कृषि पर्यटन जस्ता क्षेत्रहरूमा लगानी गरेर पनि कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ । कृषि उत्पादनको मूल्य शृङ्खला तथा माग र आपूर्ति शृङ्खलाको विकास गरी उत्पादित वस्तुहरूको बजार विस्तार गरी कृषि क्षेत्रलाई रोजगारीको हब र अर्थतन्त्रको मेरुदण्डको रूपमा विकास गर्न सकिन्छ ।
२. सेवा क्षेत्र: रोजगारी सिर्जनाको हिसाबले सबैभन्दा ठूलो क्षेत्र रहेको र यो क्षेत्रमा धेरै मात्रामा रोजगारीका सम्भावना समेत रहेको छ । शिक्षा, स्वास्थ्य, थोक तथा खुद्रा व्यापार, सञ्चार, विद्युतीय, बैंकिङ तथा वित्तीय सेवा, मेकानिक्स जस्ता सेवा प्रदान गर्ने अन्य विभिन्न क्षेत्रहरूमा रोजगारी सिर्जना गर्न सकिन्छ ।
३. निर्माण क्षेत्र: रोजगारीको उच्च सम्भावना भएको क्षेत्रहरू मध्येको एक हो । विभिन्न पूर्वाधारहरू सडक, पुल, जलविद्युत, सिँचाइ, घर निर्माण लगायत अन्य ठुला परियोजना जस्ता भौतिक पूर्वाधार निर्माणमा ठूलो मात्रामा रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ ।
४. उद्योग क्षेत्र: उद्योग क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्न औद्योगिक पूर्वाधारहरूको विकास, साना तथा मझौला उद्योगको स्थापना, प्रवर्द्धन एवम् प्रोत्साहन र औद्योगिक क्षेत्रहरूको विकास एवम् विस्तार गरी रोजगारी सिर्जना गर्न सकिन्छ ।
५. पर्यटन क्षेत्र: पर्यटन क्षेत्रमा रोजगारीको उच्च सम्भावना रहेको छ । पर्यटकीय पूर्वाधारहरूको विकास, नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, पर्यटनमा नवप्रवर्तन र प्रविधिको प्रयोग, होटेल एवम् रेस्टुरेन्ट, होम स्टे, पर्यटक गाइड, पद मार्ग, स्थानीय कला, संस्कृतिको संरक्षण एवम् संवर्द्धन जस्ता क्षेत्रहरूमा लगानी गरेर पर्यटन क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ ।
६. सूचना प्रविधि क्षेत्र: सूचना प्रविधिको क्षेत्रमा भएको अप्रत्याशित विकासले विश्व श्रम बजारमा कृत्रिम बौद्धिकता, स्वचालन र डिजिटलाईजेसन युगको सुरुआत भएको छ । यस क्षेत्रमा रोजगारीका प्रशस्त सम्भावना रहेको देखिन्छ । सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गरेर विश्व श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । डिजिटल नेपाल फ्रेमवर्कले सूचना प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्न सक्ने ठोस आधार तयार गरेको छ ।
रोजगारी सिर्जनामा सरोकारवालाहरूको भूमिका
रोजगारी सिर्जना एक जटिल विषय र प्रक्रिया हो । रोजगारीको आफ्नो कुनै विशेष क्षेत्र हुदैन् । रोजगारी आफै सिर्जना हुने पनि होइन । सरोकारवालाहरूले आ-आफ्नो क्षेत्रबाट गर्ने योगदानको परिणाम स्वरूप विभिन्न क्षेत्रहरूमा रोजगारी सिर्जना हुने गर्दछ । रोजगारी सिर्जनामा सरोकारवालाहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा महत्त्वपूर्ण भूमिका हुने गर्दछ ।
१. सरकारको भूमिका: रोजगारी सिर्जना गर्न उपयुक्त नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने काम सरकारको हो । सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न समयानुकूल शिक्षा प्रणालीमा सुधार गर्नु र व्यावसायिक तालिम कार्यक्रमहरू सञ्चालन गर्नु सरकारको प्रमुख दायित्व हो । यसले बेरोजगारहरूलाई रोजगारयोग्य बनाउन मद्दत गर्छ । वैदेशिक लगानी आकर्षित गर्ने नीति ल्याई नयाँ नयाँ उद्योग र व्यवसाय स्थापना गर्ने काम पनि सरकार हो । यसले रोजगारी सिर्जनामा टेवा पुर्याउँछ । रोजगारीमैत्री नीति, कर प्रणाली एवम् कर छुट, साना तथा मझौला उद्योगहरूलाई सहुलियत र रोजगार प्रवर्द्धनका कार्यक्रमहरूले रोजगारीका अवसरहरू बढाउँछ । स्थानीय परिवेश र श्रम बजारको आवश्यकता अनुसारको नीति तथा कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन गरेर रोजगारी सिर्जना गर्ने काममा सरकारको महत्त्वपूर्ण भूमिका रहने गर्दछ ।
२. निजी क्षेत्रको भूमिका: नेपालमा कुल रोजगारीको ८५ प्रतिशत भन्दा बढी रोजगारीका अवसरहरू निजी क्षेत्रले सिर्जना गर्ने गर्दछ । देशको आर्थिक वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको अत्यन्त महत्त्वपूर्ण योगदान रहेको छ । कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्छ । जसले दक्ष कामदारको मागलाई पूर्ति गर्न र उत्पादकत्व बढाउन मद्दत गर्छ । निजी क्षेत्रले नयाँ उद्योग व्यवसायहरूको स्थापना र विस्तार गरेर रोजगारीका अवसरहरू सिर्जना गर्दछ ।
३. शैक्षिक संस्थाहरूको भूमिका: शैक्षिक संस्थाहरूले वर्तमान र भविष्यमा श्रम बजारमा खपत हुन सक्ने वा आवश्यक पर्ने ज्ञान र सीपमा आधारित पाठ्यक्रमहरू तयार गर्ने गर्दछ । उद्योगहरूसँगको सहकार्यमा प्राविधिक एवम् व्यावसायिक तालिम कार्यक्रमहरू सञ्चालन गर्दछ । जसले दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा सहयोग पुर्याउँछ । श्रम बजारको माग अनुसार वा रोजगारी सिर्जनामा योगदान गर्न सक्ने विषयवस्तुहरूलाई समेटेर पाठ्यक्रम निर्माण गर्न अहम् भूमिका रहन्छ ।
४. अनुसन्धानमूलक संस्थाहरूको भूमिका: रोजगारीका नयाँ नयाँ क्षेत्र र सम्भावित क्षेत्रहरूको पहिचान गर्न अनुसन्धानमूलक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यसले क्षेत्रगत विश्लेषण गरी रोजगारी सिर्जना वा वृद्धि गर्न दिशानिर्देश गर्दछ । रोजगारी सिर्जनामा सहयोग गर्न नसक्ने नीतिहरूमा समयानुकूल संशोधनका लागि आवश्यक सुझाव प्रदान गर्ने गर्दछ । जसको आधारमा रोजगारी सिर्जना सम्बन्धी सही र उपयुक्त नीति, योजना तथा कार्यक्रमहरू तर्जुमा गर्न सहयोग मिल्छ ।
५. अन्तर्राष्ट्रिय सङ्घ संस्था एवम् दातृ निकायहरूको भूमिका: रोजगारी सिर्जना, सीप तथा क्षमता विकास, प्रविधि हस्तान्तरण जस्ता विषयमा आर्थिक एवम् प्राविधिक सहयोग र सहायता प्रदान गर्नुको साथै रोजगारी प्रवर्द्धनका परियोजनाहरू सञ्चालन गर्न अन्तर्राष्ट्रिय सङ्घ संस्था एवम् दातृ निकायहरूको सहयोग अपरिहार्य रहन्छ । साना तथा मझौला उद्यमलाई आर्थिक सहायता, अनुदान वा ऋण, परामर्श उपलब्ध गराएर रोजगारीका अवसरहरू सिर्जना गर्न अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले अहम् भूमिका खेल्दछ ।
निष्कर्ष
सरकारी क्षेत्रको रोजगारी मात्र रोजगारी होइन, निजी क्षेत्रको रोजगारी पनि रोजगारी नै हो । विभिन्न तहगत सरकार, अन्तर मन्त्रालय एवम् निकायहरूसँगको समन्वय र सहकार्यमा रोजगारी सिर्जना वा अभिवृद्धि गर्न सकिन्छ । सरकारले सरोकारवालाहरूको समुचित परिचालन र आबद्ध गर्ने आवश्यक नीति, रणनीति एवम् पहलहरू अवलम्बन गर्न जरुरी रहेको छ । रोजगारी सिर्जना हुन सक्ने क्षेत्रमा विकास साझेदार संस्थाहरूको सहभागिता अभिवृद्धि गर्नु पर्दछ । जसले अधिक भन्दा अधिक रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ । रोजगारी सिर्जनामा तहगत सरकारहरूको समेत अहम् भूमिका हुने गर्दछ । रोजगार सेवालाई व्यवस्थित र एकद्वार प्रणाली मार्फत सञ्चालन गर्न सकियो भने अहिलेको अवस्थाको अन्त्य गर्न सहयोग पुग्नेछ । तहगत सरकारहरूले रोजगारी पुर्नउत्पादन गर्ने तर्फ लाग्नु पर्छ अनि मात्र अत्यधिक मात्रामा रोजगारी सिर्जना गर्न सकिन्छ ।