काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाको १०औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले काम गरिरहेको उनको दाबी छ । उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए ।
‘जनचाहनाअनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’ उनले भने । उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानुनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिए । उनले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको समेत दाबी गरे ।
उनले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मक रूपमा अहिले राम्रो हुँदै गएको बताए ।सरकार घरीघरी परिवर्तन भइरहँदा नैराश्यता देखिएकोले संघीय संसद्का दुई ठूला दल काँग्रेस र एमाले मिलेर अहिलेको सरकार बनाइएको सिंहले बताए ।