काठमाडौँ । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । भौगोलिक रूपमा अति विकट र दुर्गम भए तापनि, भौगोलिक विविधतासँगै पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको यो पालिका जडीबुटीसँगै फलाम खानी तथा जल सम्पदाका दृष्टिकोणले पनि प्रचुर सम्भावना बोकेको पालिकाका रूपमा रहेको छ । विभिन्न जातजाति, भाषाभाषी तथा धर्म संस्कृतिका मानिसहरूको बसोबास रहेको यस पालिकामा क्षेत्रीहरूको बाहुल्यता छ ।
यसै गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका हुन् । राजनीतिबाटै देश विकास सम्भव देखेर करिब दुई दशकको पत्रकारिता छोडेर राजनीतितिर लागेका गिरी २०७९ सालदेखि बारेकोट गाउँपालिकाको अध्यक्षको भूमिकामा छन् । उनीसँग गाउँपालिकाका विविध विषयमा केन्द्रित रहेर भावना हमालले गरेको कुराकानीको सम्पादित अंश:
प्रदेश राजधानीबाट करिब १९२ किलोमिटर टाढा रहेको यस पालिकाको अधिकांश भू-भाग उच्च पहाडी भू-भागले ढाकेको छ । यहाँका नागरिकको अवस्था कस्तो छ ?
भौगोलिक बनावटका कारण यहाँका नागरिकको अवस्था सामान्य छैन । खासगरी भूकम्पपछिको अवस्थाले सिर्जना गरेका समस्याहरूका कारण नागरिकको अवस्था केही असामान्य बनेको हो । अहिले यहाँका नागरिक अत्यन्तै त्रासमा रहेका छन् । सबै ठाउँमा बाढी र पहिरोको उच्च जोखिम रहेको छ । भूकम्पपछि ढुङ्गा र माटोको सम्बन्ध बिग्रिएको छ । रुख र माटोको सम्बन्ध पनि बिग्रिएको छ । पहिले माटोले ढुङ्गा र रुखलाई राम्रोसँग समातेको थियो भने अहिले भूकम्पले गर्दा थोरै मात्रामा पानी पर्दा पनि बाढी र पहिरो आउने सम्भावना धेरै नै रहेको छ ।
गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट १५७ जनाको ज्यान गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा हजारौँ घर भत्किएका थिए । भूकम्पपछि यहाँको जमिन भासिएको छ । तर पनि यहाँका मानिसका लागि सुरक्षित स्थान पालिकाले निर्धारण गरेको छ ।
पर्यटकीय महत्त्व बोकेका १२ वटा कोटहरूको नामबाट नै यस पालिकाको नामकरण भएको भनिन्छ । ती कोटहरूले पर्यटक आकर्षण गर्ने सम्भावना के कस्तो रहेको छ ? पालिकाले के प्रयास थालेको छ ?
पालिकाले बारेकोट चिन्ने र चिनाउने अभियान थालेको छ । यसका लागि नीति, कार्यक्रम, र बजेटको व्यवस्थापन गरिएको छ । यहाँको भौगोलिक बनावट सुन्दर हुनुका साथै ऐतिहासिक महत्वको बोकेको छ । बारेकोटको उच्च लेकाली क्षेत्रमा करिब १२ बटा रमणीय तालहरू छन् भने शिल्पाचौरको बस्ती लगायतका विभिन्न ठाउँहरू पर्यटक आकर्षणका केन्द्रबिन्दु हुन् ।
विभिन्न प्रजातिका जीवजन्तुहरू पाइनुका साथै विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको बासस्थान बारेकोटमै रहेको छ । बारेकोट विभिन्न प्रकारका जडीबुटीको पनि भण्डारण मानिन्छ । सबै कुराको संयोजन मिलेको सुन्दर पालिका बारेकोटको पर्यटन प्रवर्द्धनलागि गुरुयोजना बनाएर विश्व मानचित्रमा बारेकोटलाई चिनाउनका लागि पालिका अग्रसर रहेको छ ।
स्थानीय तहका प्रमुखसँग जनताले कस्ता किसिमका अपेक्षाहरू राख्ने रहेछन्? यहाँको अनुभव के छ ?
आफ्नो व्यक्तिगत फाइदाका लागि जानेबुझेका अर्थात् टाठाबाठा मान्छेले अनुकूलका मागहरू राख्ने गरेका छन् । तर सर्वसाधारण मानिसहरूले भने स्वास्थ्य, शिक्षा लगायत साझा सरोकारका विषयमा अपेक्षा राख्ने गरेका छन् । जनताले स्थानीय तहका प्रमुखसँग अपेक्षाहरू राख्दा खासगरी व्यक्तिकेन्द्रित भएर धेरै अपेक्षा आउने गर्छन् । जुन अपेक्षाले सार्वजनिक हित र सार्वजनिक सरोकारका विषयलाई भन्दा व्यक्तिलाई प्राथमिकता दिनुपर्छ भन्ने देखिन्छ । यस्ता मागहरूले काम गर्न केही असहज महसुस हुन्छ ।
जनता सबै एकै किसिमका हुँदैनन् । उनीहरूको चेतना अनुरूप अपेक्षा राख्ने गरेका छन् । कयौँ जनताहरू समग्र पालिकाका बारेमा भलो सोच्ने गर्दछन् । समग्रमा भन्नुपर्दा जनताको चेतना अनुसार उनीहरूको माग र अपेक्षा हुन्छ ।
अलग मानव घर, अलग पशु घर निर्माण कार्यक्रम लागू गर्नुभएको छ । यो कार्यक्रमको बारेमा पनि केही बताइदिनुस् ?
बारेकोट पालिकाका लागि अलग मानव घर, अलग पशु घर निर्माण कार्यक्रम लागू भएको छ । यो नयाँ कार्यक्रम लागू भएयता यहाँका धेरै मानिस खुसी भएका छन् । अहिले पनि देशका धेरै भागमा एउटै घरमा मानिस र पशु बस्ने गरेको पाइन्छ । यसले गर्दा मानव स्वास्थ्यमा धेरै नै असर परेको हुन्छ । यस कारण पनि बारेकोटमा अलग मानव घर र अलग पशु घर निर्माण गर्ने कार्यक्रम लागू गरिएको हो ।
यो कार्यक्रम लागू भएयता अघिल्लो वर्ष ७ वटा पशु घर निर्माण गरिएको थियो भने यो वर्ष ८८ वटा पशु घर बनाउन सफल भएका छौँ । यस्तै, आउने आर्थिक वर्षमा पनि करिब एक सय वटा पशु घर निर्माण गर्ने लक्ष्य पालिकाले लिएको छ । यसले गर्दा मानव स्वास्थ्य र पशु स्वास्थ्यमा प्रवर्द्धनका साथसाथै स्वास्थ्य सरसफाइका हिसाबले सामुदायिक सरसफाइमा यसले टेवा पुर्याउने हिसाबले अगाडि बढाइएको छ । यो कार्यक्रम लोकप्रिय रूपमा परिचित रहेको छ । यो कार्यक्रम लागू भएयता यहाँका स्थानीय निकै खुसी छन् ।
स्थानीय सरकारलाई घर–घरको सिंहदरवार पनि भनिँदै आइएको छ । यहाँका नागरिकलाई त्यसको महसुस गराउन सक्नु भएको छ कि छैन त ?
स्थानीय सरकारलाई सबैभन्दा नजिकको सरकार भनिन्छ । सरकार सञ्चालनको निम्ति सबैभन्दा मुख्य शक्ति भनेको स्रोत हो । स्रोतको अभावका कारण नागरिकले जसरी सरकारप्रति विश्वास राखेका छन्, त्यो विश्वासलाई बचाउनको लागि स्रोतको अभाव छ । स्थानीय सरकार सञ्चालनको लागि विकटको पालिका बारेकोट गुनासो सुन्ने र गाली खाने ठाउँमा छ । जनताका समस्या समाधान गर्नको लागि पालिकासँग प्राप्त मात्रामा स्रोत र साधन नभएका कारण समस्या समाधान गर्न सकिएको छैन ।
स्रोत र सामर्थ्यको अभाव हुँदा जनताले खोजेको, जनताले रोजेको जस्तो सेवा व्यवस्थापन गर्न निकै नै चुनौती छ । अहिले पनि संघ र प्रदेश सरकारको वित्तीय समानिकरण र राजस्व बाँडफाँडको भरमा स्थानीय सरकार सञ्चालन गर्नुपर्ने बाध्यात्मक स्थिति छ । सरकारले उपलब्ध गराउने बजेट पालिकाहरूको परिस्थिति हेरेर बाँडफाँड गर्नुपर्छ । यसो भएमा विकासले फड्को मार्छ । स्रोत र सामर्थ्यको अभावका कारण यहाँका नागरिकको आशालाई पूरा गर्न नसकिएको अवस्था छ । तैपनि, सबै कामलाई मिलाएर विकासका काम गरिरहेका छौँ । विभिन्न काम गरेर हामीले स्थानीय सरकार छ है भन्ने अनुभूति दिलाउने प्रयास गरेका छौँ ।
प्रदेश र संघीय सरकारबाट के कति मात्रामा सहयोग पाइरहनु भएको छ ? कस्तो छ समन्वय ?
संघ र प्रदेश सरकारबाट पाउनु पर्ने सहयोग पालिकाले पाएको छ । सरकारले पालिकाहरूको आवश्यकतालाई हेरेर जुन वित्तीय समानिकरणको अनुदानलाई बढाउनुपर्ने र सशर्त अनुदानलाई घटाउनुपर्नेमा सशर्तको अनुदानलाई बढावा दिएको छ । यसको मात्रा निकै नै ठूलो छ । त्यसकारण पनि पालिकाका कार्यक्रम बनाउँदा समस्या भइरहेको छ ।
सरकारले नीतिगत व्यवस्थापन गरेर पालिकाहरूले आफ्नो आर्थिक, भौगोलिक अवस्था र आवश्यकतालाई हेरेर बजेट विनियोजन गर्नुपर्ने हो, तर त्यस्तो नभएको अवस्था छ । यस्तै, योजनाका कुरा गर्ने हो भने हाम्रा पालिकाबाट पठाएका योजनाका लागि बजेट नै भित्रिँदैन । विशेष समपूरक बजेट पनि हालिँदैन । अवस्था यस्तो छ । तैपनि, संघ र प्रदेश दुवैले सबै पालिकालाई समान खालको व्यवहार गर्नुपर्छ ।
निर्वाचनका समयमा तपाईँले घोषणापत्रमार्फत मतदातासँग गर्नुभएको कति बाचाहरू पूरा गर्नुभयो ?
निर्वाचनको बेला धेरै कुरा बोलियो तर कुरा गर्दा जति सहज हुन्छ, काम गर्दा भने गाह्रो छ । हामीले निर्वाचनको बेला एक घर एक धारा निर्माणको काम अगाडि बढाउँछौँ भनेका थियौं । त्यसै अनुरूप गत वर्ष १५०० घरधुरीमा खानेपानीको पहुँच पुर्याएका छौं । यस वर्ष पनि यसै कामलाई निरन्तरता दिएका छौं ।
यस्तै, बारेकोटमा अलग मानिस घर र अलग पशुगोठ निर्माणको काम अगाडि बढाएका छौँ । त्यसका साथसाथै मान्छेमा पनि विभेद गर्नु हुँदैन भन्ने हेतुले एकल महिलाले भत्ता पाउँछन् भने सँगिनी गुमाएका पुरुषलाई पनि विदुर भत्ताको व्यवस्था गरिएको छ । जटिल रोग लागेका विपन्न नागरिकका लागि उपचारको व्यवस्था गरिएको छ । पालिकाबाट एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ । त्यसका साथै कृषिमा पकेट क्षेत्र निर्धारण गरेर तरकारी र फलफूल खेतीको कार्यक्रमलाई अगाडि बढाइएको छ ।
त्यसैगरी, पशुपालनमा कृषकलाई आकर्षण गराउनको लागि गोठाले भत्ता कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ । गोठाले भत्ता कार्यक्रम लागू भएयता पशुपालनमा किसानको आकर्षण पनि बढ्दै गएको छ । यीबाहेक पनि थुप्रै कामहरू पालिकामा भएका छन् । अरू थप कामहरू क्रमशः गर्दै जाने पालिकाको योजना छ ।
बारेकोट गाउँपालिकामा तपाईँका आगामी प्राथमिकताहरू के–के छन ? र, तिनीहरूलाई कसरी पूरा गर्ने सोच बनाउनु भएको छ ?
बारेकोट गाउँपालिका भौगोलिक रूपमा विकट भएकाले धेरै किसिमका समस्या छन् । ती समस्या समाधान गर्नको निम्ति पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, शिक्षामा समयअनुकूल सुधार, स्वास्थ्यमा उचित व्यवस्थापन, र पर्यटन विकासका निम्ति पर्यटन गुरुयोजना निर्माण लगायत विभिन्न आधारमा बारेकोटलाई बनाउने र चिनाउने अभियानमा लागि परेका छौं ।
खासगरी बारेकोटको विकासका निम्ति धेरै जटिलता त छ नै, स्थानीय सरकार सञ्चालनका सन्दर्भमा आन्तरिक शक्तिकै कमजोरी छ । संघ प्रदेशको वित्तीय समानिकरणको सहयोगमा मात्रै गाउँपालिकालाई चलाउनु पर्ने र बनाउनुपर्ने जिम्मेवारी छ । त्यसैले गर्दा प्राथमिकतामा राखिएका धेरै कामहरू सम्पन्न गर्न समस्या भइरहेको छ ।
यस्तै, पालिकाले मुख्य प्राथमिकतामा सडकलाई राखेको छ । पालिकाभरि नै सडकलाई जोड्नुपर्ने आवश्यकता छ । बारेकोटमा सडक पुल एउटा पनि निर्माण भएको छैन । यसका लागि पनि संघ र प्रदेश सरकारको बजेटको भर पर्नुपर्ने अवस्था छ । अहिलेसम्म पनि केन्द्र सरकारको नजर बारेकोट गाउँपालिकामा पुगेको छैन ।
करिब एक दर्जन सडक पुल बनाएमात्रै पालिकाको सबै ठाउँमा सडक पुर्याउन सकिन्छ । अहिले सबै वडामा सडक त विस्तार गरिएको छ । तर, त्यसको दीर्घकालीन सञ्चालनको लागि सडक पुल निर्माणको काम हुन सकेको छैन । यस्तै, गरिबी निवारण र रोजगारी सिर्जनाको लागि कम्तिमा एक वडा एक उत्पादनको कामलाई अगाडि बढाउन लागि परेका छौं । त्यसका निम्ति पनि कार्यक्रम र नीति भएता पनि त्यसलाई कार्यान्वयनका निम्ति बजेटको अभावको कारण उक्त कामबाट पछि हट्न परेको अवस्था छ ।
पछिल्लो समय भ्रष्टाचार हुने निकायहरूमा स्थानीय तहको नाम अग्रणी आइरहेको छ, के भन्नुहुन्छ ?
जाजरकोटका सात वटा स्थानीय तहमध्ये बारेकोट गाउँपालिकाको उजुरी अख्तियारमा परेको छैन । धेरै मानिसले पैसा नै शक्तिशाली चीज हो भनेर जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोचमा देखिन्छन् । तर, त्यसले एक दिन न एक दिन अवश्य कारबाही भोग्नुपर्छ भन्ने कुरा बिर्सन पुग्दा समस्या आउने गरेको छ । कतिपयले काम गर्न नजानेर पनि त्यस्तो खालको स्थिति सिर्जना हुन्छ भने कतिपयले त्यस्तै नियत राखेर काम गर्ने भएकाले पनि स्थानीय तहलाई भ्रष्टको दृष्टिकोणले हेर्ने गरेको पाइन्छ ।
म पालिकाको प्रमुख भएर आइसकेपछि भ्रष्टाचारलाई शून्य सहनशीलतामा झारेका छौँ । राजनीतिमा लाग्ने पछिल्लो पुस्ताले आम नागरिकलाई राजनीति प्रति विश्वास जगाउने गरी काम गर्नुपर्छ। राजनीतिमा पनि इमान्दारीता हुन्छ भन्ने प्रमाणित गर्नुपर्छ ।