काठमाडौँ । सत्ता गठबन्धनका नेताहरुबीच बालकुमारी घटनाको प्रतिवेदनबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । देउवा, पार्टी उपसभापति समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका थिए ।
नेताहरुबीच प्रतिवेदन अध्ययन गरेर एउटा निष्कर्षमा पुग्ने समझदारी भएको छ ।
दुई जनाको ज्यान जाने गरी १३ पुसमा भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा घटना हुनुमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उनका पीएसओ र प्रहरीका फिल्ड कमाण्डर डिएसपीलाई जिम्मेवार ठहर गरिएको छ ।
यसलाई लिएर आइतबार एमालेसहितका विपक्षी दलहरूले भौतिक पूर्वाधार मन्त्री ज्वालाको राजीनामा समेत मागेका थिए ।