काठमाडौँ । पोखरा महानगरले उठाउने करको दर बढाएको भन्दै विवाद चर्किएपछि नगरसभाले पुनरावलोकन गर्न समिति गठन गरेको छ।
नगरसभाले १५ दिनभित्र कर वृद्धिका विषयमा अध्ययन गरी सुझाव पेश गर्न समितिलाई कार्यादेश दिएको छ।
आइतबार पोखरा सभागृहमा बसेको नगरसभाले पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा पुनरावलोकन समिति गठन गरेको हो। समितिका सदस्यहरूमा वडाध्यक्षहरू किरण बराल, प्रेमप्रसाद कर्माचार्य, तोरण बानिया, अमृत तिमिल्सिना, गंगाबहादुर केसी, कार्यपालिका सदस्यहरू निर्मल दियाली, हरिमाया विक र सदस्य सचिवमा महानगरका राजश्व प्रमुख दीपेन्द्र पण्डित छन्।
अध्ययन समितिले विभिन्न क्षेत्रका विज्ञसँग सुझाव लिएर प्रतिवेदन बनाउने छ।
चालु आर्थिक वर्षका लागि ल्याइएको आर्थिक ऐन २०८० को पुनरावलोकन प्रतिवेदन बुझाए लगत्तै नगरसभा बैठक बसेर कर समायोजन गर्ने महानगरको तयारी छ। नगरसभाको आगामी बैठक माघ १८ गतेका लागि बोलाइएको छ।