केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ। समितिको शुक्रबारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको हो।

शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत समिति सदस्यहरूले आगामी दिनमा विधेयकमाथिको छलफललाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा धारणा राखेका छन्।

समिति सभापति विमला सुवेदीले समितिको आगामी बैठकबाट विधेयकमाथि दफाबार छलफल हुने बताइन्।

उनले आगामी दिनमा विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुतकर्ता सदस्यहरूसँग छलफल, विधेयकका सरोकारवाला मन्त्रालय-निकायहरूसँग छलफल र विधेयकका सरोकारवाला सङ्घ, संस्था वा समूहहरूसँग छलफल हुने बताइन्। त्यसपछि विधेयकका विषयमा दफावार छलफल, प्रतिवेदन लेखन र विधेयकको प्रतिवेदन पारितको कार्यसूची रहेको उनले बताइन्।

सभापति सुवेदीले अब समितिको बैठक सार्वजनिक बिदाको दिनबाहेक नियमित रूपमा बस्ने भन्दै बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई आग्रह गरिन्। समितिको आगामी बैठक पुस ८ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस