काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार राम्रो काम मात्र गर्ने गरी अगाडि बढिरहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारको काममा बुद्धिजीवी र नागरिक समाजको साथ हुने आशा पनि व्यक्त गरे ।
कम्युनिस्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने भन्ने अठोटका साथ अगाडि छौँ । यहाँहरूले देख्नुभएको छ । सरकारले सानादेखि ठुलासम्म राम्रा काम गर्ने, राम्राबाहेक नराम्रो गर्दै नगर्ने भनेर लागेका छौँ । मलाई विश्वास छ, सुशासनको निम्ति, सामाजिक न्यायका निम्ति र समृद्धिका निम्ति हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारी, बुद्धिजीवी नागरिक समाज र आम जनताको पनि साथ हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु र अपिल पनि गर्न चाहन्छु । म बढी भन्न आवश्यक ठान्दिन । फेरि पनि सुशासनका लागि हामी गम्भीर भएर अठोटका साथ अगाडि बढेका छौँ । सामाजिक न्याय र समृद्धिका लागि पनि अगाडि बढेका छौँ ।’