काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।
छैटौं जितपछि ११ खेलबाट १२ अङ्क जोडेर मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । पराजित बेंगलोर ११ खेलबाट १० अङ्कसहित सातौं स्थानमा रहेको छ ।
घरेलु मैदान वाङखडे स्टेडियममा सूर्य कुमार यादव र नेहाल वाडेराले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बईले २०० रनको लक्ष्य १६.३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईका लागि सूर्य कुमारले ३५ बल खेल्दै ७ चौका र ६ छक्का मद्दतमा सर्वाधिक ८३ रन बनाए । नेहालले अविजित ५२ रन बनाए । ओपनर इशन कसनले २१ बलमा ४२ रन जोडे ।
बलिङमा बेंग्लोरका वानिन्दु हर्षरंगा र विजयकुमार वैशकवले २-२ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १९९ रन जोड्यो। उसका लागि कप्तान फाप डु प्लेसिसले ६५ रन र ग्लेन म्याक्सवेलले ६८ रन जोडे। दिनेश कार्तिककले ३० रन बनाए।