काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवामा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त प्रधानमन्त्री दाहालले गरेका छन् । सन्देशमा अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरूले अनिवार्य रूपमा आफ्ना मजदुरलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उल्लेख छ ।
नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको सन्देशमा छ ।
नेपाल र विश्वका मजदुरमा बधाई तथा शुभकामना व्यक्त गर्दै सन्देशमा भनिएको छ, ‘नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदुरको हकहित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु, नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामू छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु ।’
आठ घण्टाको कार्य दिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदुरहरूले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरहरूले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् ।