काठमाडौँ । नेपाल सरकारका प्रष्ट सचिवका रूपमा परिचित मधुसूदन बुर्लाकोटीले सामाजिक सञ्जालमा आफूले ‘केही गर्न नसकेको’ लेखेका छन् । तोकिएको जिम्मेवारी दायाँबायाँ नगरी पुरा गर्ने सचिवका रुपमासमेत चिनिने बुर्लाकोटीले निजामती भित्र मौलाउँदै गरेका बिकृतीहरुप्रति व्यङ्ग्यात्मक रूपमा सरकारी जिम्मेवारीमा रहँदा पुरा गर्न नसकेका विषयहरू विभिन्न १५ बुँदामा उल्लेख गरेका छन् । यद्यपि सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवका रूपमा कार्यरत बुर्लाकोटीले पछिल्लो समय खरिद प्रणालीमा महत्त्वपूर्ण सुधार र निर्णय गरेका छन् ।
सचिव बुर्लाकोटीले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामै स्ट्याटस लेख्दै सेवा प्रवाहमा निष्पक्षता र पारदर्शिता देखाउन नसकेकोदेखि सरुवा पाउन धनुष्टङ्कार गर्न नसकेकोसम्म उल्लेख गरेका छन् ।
आज सरकारी सेवा रहँदा सेवा प्रवाहका क्रममा सर्वसाधारण नागरिकलाई जस्तो व्यवहार गरिन्छ, भोलि अवकाश भएपछि सर्वसाधारणका हिसाबले कर्मचारीसँग सेवा लिन जाँदा त्यस्तै व्यवहार पाउने उल्लेख गरेका उनले सेवामा रहँदा कुनै पनि कर्मचारीले त्यो नसोच्ने गरेको तीतो यथार्थ उल्लेख गरेका छन् ।
सरकारी सेवामा जिम्मेवारी पाइरहँदा मैले गर्न नसकेको केही काम भन्दै उनी लेख्छन् ‘मैले आज जे गरेँ भोलि पाउने सेवा यस्तै नै हो । म ढुक्क छु आज सकेसम्म सेवाग्राहीलाई दुख दिएको छु । भोलि मैले पक्कै दुख पाउने छु तर म फेरी कुर्लनेछु सेवा प्रवाहकारी भएन भनेर । तर आजसम्म मैले सेवा सरलै दिन पर्छ भने केही पनि सोचेको छैन र सोच्दिन पनि ।’
पछिल्लो समय प्रत्येक राजनीतिज्ञहरूले मनन गर्नुपर्ने र हरेक प्रशासकहरूले सोच्नुपर्ने विषयहरूमध्ये पहिलो बुँदामा सेवा प्रवाहमा निष्पक्षता र पारदर्शिताको विषय उठाएका छन् । हुन पनि कुनै ओहदाको परिचय नबनाई सर्वसाधारणका रूपमा सेवा लिन जाँदा पाउनु पर्ने सास्तीको महसुसीकरण सचिव बुर्लाकोटीले गरेका छन् । अहिले पनि सेवा प्रवाहसँग जोडिने अधिकांश कार्यालयहरूमा तलदेखि माथिसम्मै कर्मचारीले गर्ने व्यवहारबाट सेवाग्राही आजित छन् ।
उनले दोस्रो बुँदामा उठाएका छन् सरुवा र पदस्थापन वस्तुनिष्ठ र पारदर्शी हुन नसकेको विषय । हुन पनि यदि कर्मचारीको सरुवा प्रणालीलाई हेर्ने हो भने कहाली लाग्दो अवस्था छ । निश्चित आधार र मापदण्ड त परै जाओस् तयार पारिएको सरुवा सूची दर्जनौँ पटक ठेलिन्छ र यसरी ठेल्दै जाँदा मिलाउँदै जाने क्रममा कुन कर्मचारी कहाँ हुत्तिइन्छ, ठेगानै लाग्दैन र सूचीमा एक ठाउँ भएको सरुवा पत्र बुझ्न जाँदा अर्कै ठाउँ भई सक्छ र उस्तै परे सरुवा भएको ठाउँमा पुग्दै गर्दा त्यहाँबाट पनि अन्तै भइसकेको अवस्था हाम्रा सामु छ ।
सचिव बुर्लाकोटीले उठाएको अर्को महत्त्वपूर्ण विषय हो दण्ड र पुरस्कार । उनले दण्ड र पुरस्कारमा विवेकशीलता र तटस्थता हुन नसकेको बताएका छन् । निजामतीमा यी दुई विषयलाई केलाउने हो भने बिछट्टै बेतिथि देखिन्छ । गलत काम गर्नेलाई दण्डित त परै जाओस् कुनै पार्टी तथा शासक÷प्रशासकको नजिक हुनुपर्छ उल्टै पुरस्कृत गरेर राम्रा भनिएका अड्डामा खटाइन्छ र केही महिनाभित्रै पुरस्कार र तक्मा भिराइन्छ । पुरस्कारबारे भन्नुपर्दा त अझ को कति गणेश बन्न सक्छ र सास्टांङ्ग दण्डवतसहित भेटी चढाउन सक्छ उनीहरूकै पोल्टामा बक्स हुँदै आएको छ । जसले गर्दा असल र काम गर्ने कर्मचारीको मनोबल गिर्न गई खराब प्रवृत्तिका कर्मचारीहरू मौलाउँदै गएको गुनासो कर्मचारीभित्रै व्याप्त छ ।
समय र उचित निर्णय तथा सम्बोधनलाई उनले चौथो बुँदामा समेटेका छन् । सरकारी काम कहिले जाला घाम भन्ने उक्ति अझै कतिपय कर्मचारीहरूले मुलमन्त्र नै बनाउँदा प्रविधिलेसमेत मात खाएको अनुभूत निजामतीमा गर्न सकिन्छ । समयमै निर्णय गर्न नसक्दा नागरिकले भोग्नु पर्ने सास्ती र क्षति त परै जाओस् त्यसको सयौँ गुणा बढी राज्यलाई पुग्न जाने नोक्सानीबारेसमेत प्रशासकहरू नजर अन्दाज गरेको देखिन्छ ।
त्यसै गरी सेवाग्राहीको सहज पहुँच र सुनुवाइ गर्न नसकेको कुरा पनि उनले उल्लेख गरेका छन् । अहिलेका सरकारी कार्यालयहरू कति सेवाग्राहीमैत्री छन् र भएकै संरचनाहरुबाटसमेत के कसरी सेवा दिई रहेका छन् भन्नेबारे पनि कोही अनविज्ञ रहेको छैन । त्यति मात्रै होइन, त्यसको सुनुवाइमा हुने गैरजिम्मेवारपूर्ण जवाफ र मौनता पनि विचित्रैको देख्न सकिन्छ ।
उनले सञ्चार माध्यमको सहज प्रस्तुतिबारे पनि ‘बोल्दै मान्य तथा आदेश वर्ग बाहेक अरूको फोन तौलेर उठाउँछु’ भनेर उल्लेख गरेका छन् भने भजन मण्डलीबाट बाहिर निस्कन नचाहने, विषयवस्तु, अवस्थाको अध्ययन नै नगरी कोठे गफबाटै धारणा बनाउने, माथिको आदेश आयपछि लुरुक्क हुने मन र सही र गलत के हो थाहा पाउने मष्तिकबारेसमेत लेखेका छन् ।
साथै सेवाग्राहीको हक स्थापना गर्न नसकेको बताउँदै सचिव बुर्लाकोटीले कार्यालयको कामलाई आफ्नै सोच्न नसकेको, सही र गलत कुन हो थाहा पाउन नसकेको, राजनीतिक नेतृत्वलाई यो हुन्न भन्न नसकेको र सरुवा पाउन धनुष्टङ्कार गर्न नसकेको जस्ता निजामती भित्र अधिकांश कर्मचारीले भोग्दै र महसुस गर्दै आएका विषयहरूलाई सुन्दर र मर्मस्पर्शिरुपमा राखेका छन् ।
यी यावत् कारणले आफ, घरपरिवार तथा बालबच्चासमेत सन्तुष्ट हुन नसकेको बताउँदै उनले यी र यस्तै प्रवृत्तिका कारण आफ्ना बालबालिका सरकारी सेवामा आउन पटक्कै नमान्ने र सकभर नेपालबाट बाहिर खोज्ने, नसके नेपालमा निजी क्षेत्रमा काम गर्न रमाउने बताएका छन् । उनले विशेष गरी सहकर्मी सचिवहरूप्रति लक्षित व्यङ्ग्य गर्दै लेखेका छन् ‘बुढेसकालमा सर्टिफिकेट तथा तेल भिसाको व्यवस्था म जस्ता धेरैको भएकै हुनुपर्छ’
दसकौँ लामो अवधि काम गरेर केही गर्न नसकेको भन्दै उनले अझै पनि जिम्मेवारीमा रहेको तर केही गर्न सक्छु जस्तो नलागेको समेत बताएका छन् । ‘मैले यति लामो अवधि काम गरेर केही गर्न सकिन, अझै पनि जिम्मेवारीमा छु तर केही गर्न सक्छु जस्तो लागेन’ उनले लेखेका छन् ।
उनले प्रशासकहरूमा अवकाशपछि गुनासो गर्ने तथा विज्ञ बन्ने चलनप्रति लक्षित गर्दै लेखेका छन् ‘म सेवा रहँदै आफूले गर्न नसकेका कुरा र पिडादायी अनुभव लेख्छु तर सेवाबाट निवृत्त भएपछि यो भएन यो गर्नु भन्दिन किनकि आफू हुँदा केही नगर्ने अनि बाहिर बसेर उर्दी हाँकेर केही हुन्न’
अन्तमा सचिव बुर्लाकोटीले एउटै लाइनमा भनेका छन् ‘जे गर्नु छ जिम्मेवारी मै रहँदा गर्नुस्, बाहिर पुगेपछि मौका आउँदैन, मेरो चेतना खुलोस्’
जे हो त्यो फ्याट्ट बोली हाल्ने र नहुने कामलाई ठाडै हुँदैन भनिहाल्ने स्वभावका कारण कतिपयले उनलाई ‘छुच्चा’ सचिवका रूपमा चित्रित गर्ने गरेको भए पनि मनका भने सफा प्रशासकका रूपमा रहेको उनकै सहकर्मीहरू बताउँछन् ।
सचिव बुर्लाकोटीले उठाएका विषयहरू गहन र महत्त्वपूर्ण छन् । यसको अर्थ सबै प्रशासक खराबै छन् भन्ने होइन तर अधिकांशरतमा यी र यस्ता प्रवृत्तिहरू हाबी भएकै कारण निजामती तन्त्र दिनप्रतिदिन खस्किँदै गएको भने घाम जतिकै छर्लङ्ग छ । कर्मचारीको त्यही मनोभावमा खेल्दै राजनीतिज्ञहरूले अपनाएको ‘फुटाऊ र राज गर’को सिद्धान्तले त झन् कर्मचारीतन्त्रलाई रसातलमा पुर्याउने निश्चित छ । यसर्थ प्रत्येक कर्मचारीले आफ्नो यथार्थ धरातललाई शिरोधार्य गर्दै पद र अवकाशपछिको जीवनलाईसमेत सम्झेर सेवा दिन जरुरी छ ।