नयाँ दिल्ली । जागिरको सट्टा जग्गा घोटाला प्रकरणमा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवसँग सोधपुछ गर्न सीबीआईको टोली मङ्गलवार उनको निवास पुगेको छ ।
लालु यादव हाल आफ्नी छोरी तथा आरजेडी सांसद मीसा भारतीसँग दिल्लीमा बस्दै आएका छन् ।
लालु यादव केही समयअघि सिंगापुरबाट मिर्गौला प्रत्यारोपण गरी भारत फर्किएका थिए । यसअघि सोमबार सीबीआईले पटनामा राबडी देवीसँग ४ घण्टासम्म सोधपुछ गरेको थियो ।
लालु यादवले रेलमन्त्री हुँदा रेल मन्त्रालयमा रोजगारी दिनुको सट्टा जग्गा लिएको दाबी छ । सन् २००८/०९ मा मुम्बई, जबलपुर, कोलकाता, जयपुर र हाजीपुर रेलवे जोनमा जग्गाको सट्टामा मानिसलाई रोजगारी दिएको आरोप छ ।
सीबीआईले यस कथित घोटालामा आरजेडी नेताहरूको घरमा छापा मारेको थियो।