काठमाडौँ । विराटनगर महानगर क्षेत्रका सडक छेउमा अव्यवस्थित लत्रिएका केबल र इन्टरनेटको तार व्यवस्थापन गर्न सुरु गरिएको छ ।
महानगरको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनीहरू आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट तार व्यवस्थापन सुरु गरिएको थियो । यसको लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत सहभागी बैठकबाट तार व्यवस्थित गर्न निर्देशन दिइएको महानगर कार्यालयले जनाएको छ ।
बैठकको निर्णयलाई योजना अनुरूप कार्यान्वयन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । सरसफाइ, पार्किङ र तार व्यवस्थापनसँगै कानुनविपरीत निर्माण गरिएका संरचना पनि हटाउने कार्य भइरहेको उनको भनाइ छ ।
म्याक्स, सुबिसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने गरी कामलाई तीव्रता दिएको कोइरालाले सुनाए ।