काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’का सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिने बताएका छन् ।
आइतबार बिहान ‘जनयुद्ध’का सहिद तथा बेपत्ता ‘योद्धा’का परिवारसँगको अन्तरक्रियाका क्रममा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताए ।
‘आज जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताए । सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुङ्गोमा पुग्छ,’ उनले भने, ‘जनयुद्धका सहिदहरूको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण, सन्ततिहरूको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्त्वपूर्ण छ ।’