३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो विपश्यना साधना अनुभव

अ+ अ-

२०७९ सालको वैशाख महिना पनि सकिन नपाउँदै माताजीले यो धर्ती छाडेर जानुभयो । यो सालका चाडबाडहरू पनि शून्यतामा बित्ते,  समय र स्थान पनि शून्य लागिरहेका छन् । यसैबीचमा बडादसैँको बिदा व्यथित गर्ने दुईवटा विकल्प उपलब्ध थिए । पहिलो कुनै नपुगेको नयाँ स्थान घुम्न जाने । दोस्रो कुनै साधना गर्ने ।

यी मध्ये दोस्रो विकल्प अपनाउने निधो भयो । अनि जाने भइयो धम्मजननी विपश्यना केन्द्र, लुम्बिनी । बुटवलमा कार्यरत रहेकै अवधिमा लुम्बिनीमा सञ्चालन हुने साधनामा सहभागी हुन पाउनु मेरा लागि अहोभाग्यकै विषय हो । यस्तो शुभ अवसरका सामुन्ने अन्यत्र घुम्न जाने विषय गौण भयो । जाने दिन र फर्कने दिनलाई छाडेर १० पूरा दिन साधना ।

१० दिनको विपश्यना साधना विश्वभर जुनसुकै विपश्यना केन्द्रमा उस्तै परिवेश, कार्यतालिका र सामग्रीअनुसार अभ्यास गराइने रहेछ । खासगरी विपश्यना ध्यानका आफ्नै परिवेशजन्य र अभ्यासजन्य विशेषताहरू रहेको पाइयो, जसको संक्षिप्त चर्चा गर्नु मनासिब नै हुन्छ ।

पहिलो कुरा त ध्यानको उपयुक्त वातावरण तयार गर्न ध्यान केन्द्रले संस्थागतरुपमा रजिस्ट्रेसन कक्ष, कार्यालय, आवास भवन, ध्यान कक्ष र भोजनालयसहित खूला स्थान र पार्कको जुन संयोजन गरेको हुन्छ यसको धेरै महत्त्व छ । त्यसो त सहभागी साधकले आफूसँग के सामान लिएर आउनुपर्ने र आउन सक्ने भन्ने मानकसमेत बनाइएको छ । साधना गर्ने परिसरमा प्रवेश गर्नु अघि वर्जित गरिएका सामानहरू कार्यालयमा बुझाउनु अनिवार्य गरिएको छ ।

खासगरी लगाउने र कोठामा प्रयोग गर्ने लुगा साथमा राख्न पाइन्छ । नुवाउने र धुने साबुन, ब्रस, पेस्ट पनि प्रयोग गर्न पाइन्छ । प्रयोग नगरी नहुने अवस्थामा शिक्षकको अनुमति लिएर औषधी प्रयोग गर्न सकिन्छ । त्यस्तै आवाज नआउने खालको घडी प्रयोग गर्न पाइन्छ । यी सामान बाहेक पुस्तक, कपि/डायरी, कलम, मोबाइल, क्यामेरा, पर्स लगायतका चिजबिज सबै ध्यान केन्द्रको कार्यालयमा बुझाएर टोकन पुर्जी लिनुपर्दछ । यी सामग्रीहरूले साधकको ध्यान भङ्ग गर्न सक्ने आधारमा वर्जित गरिएको हुनुपर्दछ ।

विपश्यना ध्यानको दोस्रो आधार भनेको साधकले पालना गर्नुपर्ने आचरण हुन्, शील हुन् । सबभन्दा महत्त्वपूर्ण शील भनेको साधनाको १० औँ दिन दिउसोसम्म “आर्य मौन”मा रहनु पर्ने छ । यसको अर्थ हुन्छ कि अरू सहभागीको आँखामा आँखा जुधाएर हेर्न, शरीर छुन, सङ्केत गर्न, आवाज निकाली वा ननिकाली बोल्न पाइँदैन । एउटै मात्र अपवाद भनेको सहजकर्ता शिक्षकसँग तोकिएको समयमा जिज्ञासा राख्दा वा निजले ५ जनासम्म सहभागीहरूलाई आफूनजिक बोलाई सोधेका बखत मसिनो आवाजमा आफ्नो अनुभव सुनाउने र प्रस्ट हुन चाहेको विषय सम्बन्धमा सोध्न पाइन्छ ।

आर्य मौन (नोवल साइलेन्स) लेखिएका साना वोर्डहरु ध्यान कक्ष वा प्रवचन हलको बाहिर, खुला स्थान, भोजन कक्ष भित्र र बाहिर समेत पालना गर्न आग्रह गर्दै राखिएका हुन्छन् । ध्यानका लागि भर्ना भएको साँझ ८ बजेबाट प्रारम्भ भएको आर्य मौन ध्यानको दशौँ दिन दिउसो मैत्रीभाव वितरणको सेसनपछि भङ्ग गर्न पाइन्छ ।

धम्म सेवकहरूको समूहले सबै नयाँ सहभागीलाई  नमस्कार र बधाई ज्ञापन गर्दै मौन भङ्ग गर्ने वातावरण बनाइँदो रहेछ । अनि मात्र सहभागीहरूबिच ध्यान कक्षमाबाहेक अन्यत्र अनुभव आदानप्रदान गर्न पाइन्छ । पुराना साधकहरूले नयाँ साधकहरूलाई साधना कोर्श पूरा गरेको आधारमा आफ्नो समूहमा सम्मिलित गराउँदै पुनः पनि शिविरमा जोडिन र नियमित अभ्यास गर्न समेत प्रेरित गर्दछन् । चाख लाग्दो कुरा के छ भने लामो समयपछि बोल्दा आफ्नै बोली पनि अलि अनौठो, अलि मसिनो र मधुर भए झैँ लाग्दछ ।

मौनता बाहेक पञ्चशीलको पालनालाई साधकहरुले पूरा गर्नुपर्ने पूर्व शर्तका रुपमा लिइएको छ विपश्यना ध्यानमा । पञ्चशीलमा पर्ने पाँचवटा गुणहरु हत्या नगर्ने, चोरी नगर्ने, ब्रम्हचार्यको पालना गर्ने र झुठो नबोल्ने हुन् । सके जीवनभर नसकेपनि ध्यानको कोर्श अवधिभर यी गुणहरुको पालना अनिवार्य गरिएको छ ।

ध्यान केन्द्रको विभिन्न स्थानहरुमा ध्यान साधना गर्ने व्यक्तिहरुका लागि विहान ४ बजेदेखि साँझ ९.३० बजेसम्मको कार्यतालिका समेत सबैले देख्ने स्थानमा भोजनालय नजिक र ध्यानकक्ष बाहिर राखिएको छ ताकि अरुलाई सोधेर मौनता भंग गर्न नपरोस् । यो बाहेक हरेक दिन १ घण्टा अवधिका तीनवटा कडा प्रतिवद्धतासहितका अधिष्ठान ध्यान गर्नुपर्ने हुन्छ । यो ध्यान विहान ८ देखि ९ वजेसम्म, दिउसो २:३० देखि ३:३० सम्म र साँझ ६:०० देखि ७:०० सम्म गरिने अधिष्ठान सुखाशन वा पद्माशनमा बसेपछि ध्यानको अवधिभर खुट्टा र हात चलाउन तथा आँखा खोल्न नपाइनेसम्मको अनुशासन कायम हुनुपर्दछ ।

१ घण्टा अवधिको अधिष्ठान ध्यान सफलतापूर्वक पूरा गर्दा ठुलै उपलव्धी भएको महशूस हुन्छ । अधिष्ठान ध्यान वाहेक पनि प्रतिदिन ७ घण्टा अवधि त ध्यानमै विताउनु पर्दछ । विपश्यना साधनामा सहभागी हुने व्यक्तिहरुले मौसमअनुसारका सामान्य लुगा लगाउन मिल्छ तर पुरुषले हाफ पाइन्ट लाउन पाइदैन भने महिलाहरुले सल प्रयोग गर्नु अनिवार्य गरिएको छ ।

 आनापानको अभ्यास विपश्यना ध्यानको प्रवेशद्वार

यो आनापानको अभ्यास प्राणायामको अभ्यास गराउने अन्य ध्यान विधिमा पनि प्रयोगमा ल्याइन्छ । तर विपश्यना ध्यान शिविरमा भने अलि थप वैज्ञानिक र क्रमिक रुपमा श्वास लिने र फाल्ने प्राकृतिक विषयलाई महसुस गरिन्छ, अवलोकन गरिन्छ । सुरुमा नासिकाको माथिल्लो भागदेखि माथिल्लो ओठसम्मको नाकको क्षेत्रलाई ठुलो त्रिभुजाकारमा र पछि अभ्यास गर्दै जाँदा नासिकाको अग्र भाग नाकको टुप्पोदेखि माथिल्लो ओठको भित्री भागसम्मको त्रिभुजाकारमा आनापानलाई सीमित गरिन्छ । श्वासप्रश्वासको यो प्राकृतिक र अटल अभ्यासले मनलाई चञ्चल हुन नदिने र शरीरलाई अडिग हुन सम्भव गराउँदछ । खास विपश्यना ध्यानको पूर्वतयारी स्वरुप यो आनापान राम्रो हुनु आवश्यक छ ।

 वास्तविक विपश्यना अभ्यास

ध्यान प्रारम्भ भएको चौथो दिनको दिउसो अधिष्ठान ध्यान पछि यो विपश्यनाको वास्तविक अभ्यास प्रारम्भ हुन्छ । विपश्यनाको अर्थ आफूलाई हेर्नु, भित्र हेर्नु भन्ने बुझ्दै आइएको छ । विपश्यनाको तयारी स्वरूप श्वासलाई नाकको अग्र भागमा केन्द्रित गरी महसुस गर्ने अभ्यास भएको थियो । श्वास आएको र गएको जानकारी राखिराख्दा मन दौडने समस्या स्वतः घटेर जादोरहेछ । अझ भनौँ कि मनलाई वा मनमा उत्पन्न अनगिन्ती विचारहरूलाई श्वासमा समाहित गरिँदो रहेछ ।

जुनसुकै धर्म, सम्प्रदायका व्यक्तिले पनि जिउनका लागि श्वास फेर्नुको दोस्रो उपाय छैन । यो निर्विकल्प छ । ध्यान केन्द्रित गर्ने नाममा कुनै शब्द वा लाइन दोहोर्‍याउन लगाएको भए कसैलाई मन पर्ने कसैलाई मन नपर्ने हुन सक्दथ्यो । तर त्यसो गरिएन । सबैले जीवनभर नै गरिरहने श्वासप्रश्वासलाई प्रयोग गरिनु आफैमा वैज्ञानिक र समान छ ।

अव विपश्यना ध्यानमा के गरिन्छ हेरौँ । नासिकाको अग्र भागमा सास भित्र जाने र बाहिरिने क्रमलाई अवलोकन गर्दै गरेको मनलाई अव भने टाउकोको शिरस्थानमा अर्थात् तालुमा पुर्‍याइन्छ । हाम्रो शरीरमा मनलाई भ्रमण गराउने क्रम भनेको शिरस्थानबाट अनुहार हुँदै घाँटीसम्म, काँध कुम हुँदै हत्केला, पछाडिपट्टि घाँटी मेरुदण्ड हुँदै कम्मर, तिघ्रा घुँडा हुँदै पैताला र बुढी औँलासम्म पुग्ने र अघिकै बाटो हुँदै पुनः शिरस्थानसम्म पुग्ने अभ्यास हुन्छ । त्यसपछि मनलाई क्रमशः शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म छिटो छिटो एकदुई पटक र  एक दुई पटक बिस्तारै अवलोकन गर्दै लैजाने काम हुन्छ ।

सुरुमा यो काम बिस्तारै हुन्छ भने अभ्यस्त हुँदै जाँदा धेरै छिटो मनलाई दौडाउन पनि सम्भव हुन्छ । बिस्तारै मनलाई सूक्ष्म अवलोकन गर्दै गर्दा शरीरको कुनै भाग वा अङ्गमा देखा परेको अनुभूति (सेनसेसन) लाई तटस्थ र जागृत रूपमा अवलोकन गर्ने, मन पराउने वा घृणा गर्ने दुवै नगर्ने, अनित्यताको भाव राख्दै राग वा द्वेषविनाको उक्त हेराइका कारण केही समयमा उक्त अनुभूति चाहे त्यो राम्रो वा नराम्रो जस्तोसुकै होस् हराएर जान्छ ।

मनमा उठेका विचारहरू र उत्पन्न तनावको कारण शरीरमा प्रकट भएका जुन कुनै अनुभूतिहरूलाई हामीले तत्काल प्रतिक्रिया जनाउने र राग वा द्वेष बढाउने काम गरिरहेका हुन्छौँ तर विपश्यनाको ध्यानबाट त्यस्तो दुःख बढाउने भन्दा पनि नष्ट वा भङ्ग गर्ने बाटो देखाइन्छ । यसको फलस्वरूप मनमा जम्मा भएका विकृतिहरू बिस्तारै नष्ट भई तन र मन दुवै हल्का हुन्छ । अन्ततोगत्वा मोक्ष प्राप्ति हुन्छ । यसको लागि निरन्तरको अभ्यास भने चाहिन्छ ।

भन्न सजिलो गर्न गाह्रो भनेझैँ मलाई ध्यान साधनाका क्रममा २ दिनसम्म ज्वरो आयो, ज्यान दुख्यो तर आफै सन्चो पनि भयो । लगातार साधना गर्दा भित्र रहेका खराबीहरू विसर्जन भएर त्यसो भए होला भनेर मनलाई सम्झाएँ । जब सन्चो भयो तब पहिले भन्दा पनि फुर्ती बढेर आयो ।

शरीरमा देखिने अनुभूतिहरू विना कारण देखा परेका हुँदैनन् । कुनै विचार वा मानसिक चिन्तनका कारण प्रतिकृया स्वरुप मात्र यस्ता अनुभूतिहरू प्रकट हुन्छन् । प्रकट भएका अनुभूतिउपर राग वा द्वेष जे सुकै प्रतिक्रिया जनायो भने पनि त्यो भाव सवकन्सस माइन्ड हुँदै मनको पिँधमा गएर संस्कार (पाली भाषामा शंकारा) को रूप लिएर बस्दछ । यदि प्रकट भएका अनुभूतिउपर तटस्थ भाव र अनित्यताको अनुभूतिको अभ्यास गर्न सकियो भने शरीरको कुनै भागमा प्रकट भएको जुनसुकै अनुभूति हराएर जान्छ । मनको पिँधमा जम्मा भएका शंकाराहरु क्रमैसँग शरीरको सतहमा आएर हाम्रो प्रतिक्रिया पर्खन्छन् तर हामीले तटस्थ भावले हेरिदियौँ भने नष्ट भएर जान्छन् ।

विपश्यना ध्यानको साधनामा पुराना संस्कारहरू नष्ट गर्नु नै मनको शुद्धीकरण हो, मोक्ष प्राप्ति हो, प्रज्ञा प्राप्ति हो । यसको अभ्यास गर्दै जाँदा शरीरका साथै मन हलुका हुँदैजान्छ । तार्किक क्षमता बढेर जान्छ । राम्रो र लामो साधनाको अभ्यासपछि साधकले आफूभित्र उज्यालोपन महसुस गर्न थाल्दछ । विपश्यना साधनाका क्रममा सिकाइएअनुसार साधनाबाट प्राप्त भएको परिणाम र राम्रा अनुभूतिका सम्बन्धमा आफन्तजन, मित्र जनमा वितरण गर्नुपर्दछ । सिकेको विषय वा ज्ञानको दान गर्नु पनि ठुलो दान हो । १० दिने साधना पूरा गरेका साधकहरू ध्यान केन्द्रमा गएर सेवासहितको ध्यान गर्न पाउने व्यवस्था छ । महात्मा गान्धीले भनेझैँ हामीले आफूलाई पहिल्याउनु भनेको अरूको सेवामा समर्पित गर्नु हो भन्ने भनाइलाई समय मिलेको बखत ध्यान केन्द्रको कोर्षमा जोडिन पनि सकिन्छ ।

विपश्यना साधना लिन तयार भएर इच्छाशक्तिका साथ सहभागी हुँदा जोकोहीले पनि साधना पूरा गर्न सक्दछ । यसो भन्दैमा यो साधना सबैका लागि सम्भव र सरल भने छैन । हाम्रो समूहमा पनि २ जनाले बिचैमा कोर्ष छोड्नुभयो । १० दिन समय निकाल्नु र त्यसमा पनि मौन रहनु, मोबाइलबाट टाढा रहनु, एकान्त वास बस्नु धेरैका लागि महाभारत हुन सक्छ । तर जिन्दगी बदल्नका लागि भने यो साधनाले धेरै सहयोग गर्ने मेरो ठम्याई छ ।

तत्काल प्रतिक्रिया जनाउने, चर्को आवाजमा बोल्ने, केही राम्रो प्राप्ति हुँदा हौसिने र सानो दुःख पर्दा निकै मर्माहत हुने जस्ता वानी व्यवहारमा त सुधार हुन्छ नै ,अझ साधनालाई निरन्तरता दिन सकियो भने सञ्चित रहेका क्लेशहरू पनि पग्लँदै जाने र हाम्रो मन सफा हुँदै जाने हुन्छ । विवेकपूर्ण निर्णय गर्ने क्षमतामा वृद्धि हुन्छ ।

विपश्यना गुरु सत्यनारायण गोयन्काले आफ्नो प्रवचनमार्फत विपश्यनाबाट विकसित गर्न खोजेका १० गुणहरूको उल्लेख गर्नुभएको छ जसमा अहमतालाई शून्यमा झारी खाना खाने बखत भिक्षु/भिक्षुणीको अभ्यास, शीलहरूको पालना, साधनाबाट शक्ति वा वीर्यको सञ्चय, प्रज्ञा, सहनशीलता, सत्यको पक्षपोषण, दृढताको विकास, प्रेम, तटस्थताको अभ्यास, दान गर्ने भाव समेटिन्छन् ।

भगवान् बुद्धले आफूले प्राप्त गरेको ज्ञानलाई विधिवतरुपमा अभ्यासमार्फत सिकाइने विपश्यना ध्यान जीवनोपयोगी रहेको मेरो ठम्याई रहेको छ । भवतु सब्ब मंगलम् ।

(लेखक सुवेदी हाल अर्थ तथा सहकारी मन्त्रालय, लुम्बिनी, बुटवलमा प्रदेश सचिवको रूपमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस