काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा प्रदेश-१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ का पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।