काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने इच्छा पूरा नभएको बताएका छन् ।
गत जुलाई ८ मा चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेर आबेको हत्या गरेका थिए । आबे माग र मूल्य बढाएर घरेलु अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने अर्थनीतिमा सफल भएका थिए ।
त्यस्तै दोस्रो विश्वयुद्धपछि जापानले गुमाएको सैन्य विरासत फिर्ता गराउन रणनीतिक गठबन्धन र परमाणु हतियारको पक्षमा वकालत गर्दै उनले आक्रामक राष्ट्रवादी नेताको छवि बनाएका थिए ।
‘आबेनोमिक्स’ का प्रणेताको हत्या
दाहालले आबेसँग आफ्नो सम्बन्ध राम्रो भएको पनि दाबी गरे । त्यस्तै पूर्वप्रधानमन्त्रीका रूपमा सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २र३ पटक कुराकानी भएको पनि उनले दाबी गरे। दाहालले आबेलाई भेट्ने इच्छा पूरा नभएको उल्लेख गर्दै भने, ‘म जापान आउने तय भएसँगै पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ । जापानका राजदूतसँग पनि कुरा भएको थियो । उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २/३ पटक कुराकानी भएको थियो । र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एक अर्काप्रति राम्रो इन्टर्याक्सन भएको थियो । उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई एउटा अर्को हाइटमा कसरी लैजाने भन्ने कुरा गर्ने इच्छा थियो । त्योचाहिँ पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानको लागि त यो विरलै हुने घटना हो । यसको विश्वव्यापी पनि इम्प्याक्ट परेको छ । म उहाँप्रति विशेष सम्मान पनि भन्न चाहन्छु । शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना छ ।’
उनको दाबी भने गलत रहेको छ । दुई पटक जापानका प्रधानमन्त्री भएका आबे नेपाल भ्रमणमा भने आएका छैनन् । नेपालस्थित जापानी दूतावासका अनुसार अहिलेसम्म जापानबाट एक पटक बहालवाला प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन् । सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आएका थिए । आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमणमा नआएको पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराईले पुष्टि गरे । जापानका लागि पूर्व राजदूतसमेत रहेका उनले भने, ‘सिन्जो आबेले नेपाल भ्रमण गर्नु भएको छैन । उहाँका हजुरबुवा र भाइ भने नेपाल आउनु भएको हो ।’ आबे २६ सेप्टेम्बर २००६–२६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२-१६ सेप्टेम्बर २०२० गरी दुई कार्यकाल प्रधानमन्त्री भएका थिए ।
पूर्व परराष्ट्र सचिव भट्टराईका अनुसार आबेका मावली हजुरबुवा नोबुसुके किसी भने पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमणमा आएका थिए । उनी सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री भएका थिए । सन् १९८७ मा उनको निधन भएको थियो । त्यस्तै किसीका भाइ एइसाको सातो पनि सन् १९६४ देखि १९७२ सम्म प्रधानमन्त्री भएका थिए । परमाणु निशस्त्रीकरणसम्बन्धी महत्त्वपूर्ण कदम चालेका कारण उनलाई सन् १९७४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । सातोकै कार्यकालमा जापानले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेको भट्टराई बताउँछन् ।
त्यस्तै आबेका बुवा सिनतारो आबे लामो समय जापानका विदेश मन्त्री भएका थिए । उनका भाइ पनि नोबुओ किसी अहिले जापानका रक्षामन्त्री रहेका छन् । सन् २०१६ मा विदेश तथा रक्षा राज्यमन्त्रीका रूपमा उनले नेपाल भ्रमण गरेको भट्टराईले बताए ।
नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबाट उच्चस्तरीय भ्रमण हुने गरेका छन् । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापान भ्रमण गरेका थिए । त्यति बेला जापानमा केइजो ओबुची प्रधानमन्त्री थिए । त्यसको दुई वर्षपछि जापानी प्रधानमन्त्री मोरी नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमण नै जापानी प्रधानमन्त्रीको पहिलो औपचारिक नेपाल भ्रमण थियो । त्यसपछि जापानका विदेश मन्त्रीहरू कोइचिरो गेम्बा र तारो कोनो नेपाल भ्रमणमा आएका थिए ।
नेपालका तर्फबाट भने तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सन् २०१८ मा ५ दिने औपचारिक भ्रमणमा जापान गएका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी सम्राट् नारुहितोको गद्दी आरोहणका क्रममा सन् २०१९ मा जापान भ्रमणमा गएकी थिइन् । त्यति बेला उनलाई तत्कालीन प्रधानमन्त्री आबेले समेत भेटेका थिए ।