पृष्ठभूमि:
वैदिक वर्ण व्यवस्था मानव समाज विभाजन र विशिष्टीकरणको प्रमुख आधार हो । वैदिक वर्ण व्यवस्थाका पछाडि कुनै न कुनै वैज्ञानिक कारण रहेको पाइन्छ तर सर्वसाधारण वेदको अध्ययनबाट वञ्चित भएका कारण यसबाट विमुख छौँ । वर्ण व्यवस्था जस्तै नभए पनि पश्चिमा दार्शनिक प्लेटोले समाजको विभाजन उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग गरी तीन वर्गमा विभाजन गरेका थिए । पूर्वीय वैदिक दर्शनका सर्जकहरूले सामाजिक व्यवस्थालाइव्यवस्थित गर्न पृथ्वीमा पैदा हुने समग्र मानव जातिलाई काम, कर्म, साहस, पराक्रम, क्षमतामा तारा, ग्रहका ज्योतिको प्रभावका आधारमा चार वर्णमा विशिष्टीकरण गरेका छन् ।
अवधारणा:
कतिपयको मानसपटलमा वैदिक वर्ण भन्नाले चार वर्णभित्र जातिका शाखा उपशाखा बुझिन्छ जुन भ्रामक छन् । वर्ण व्यवस्था र जाति प्रथा पृथक् कुरा हुन । वर्ण व्यवस्था रङ, काम, कर्मको वरण र विशिष्टीकरणसँग सम्बन्धित, दैविक सृजना हुन । नवग्रह लगायतका तारापुन्जको ज्योतिबाट ब्राह्मणसँग ब्रहमाण्डीयज्ञान, क्षेत्रीसँग क्षेत्रको रक्षा, शासन प्रशासन सम्बन्धी शक्ति, वैश्यसँग धन र शूद्रसँग सेवा भावको प्रभाव रहेको हुन्छ ।वैदिक ग्रन्थमा वर्ण रङ्गको अर्थमा नै प्रयोग भएको छ । वर्णको समानान्तर शब्द वर्ग हुन सक्छ तर जाति हुन सक्दैन । किनभने वर्ण एक परिवर्तनीय व्यवस्था हो ।
कुनै व्यक्तिको पहिचानका लागि नामका अन्तमा चिनाउन प्रयोग गरिने उपनाम नै जाति, थर वा गोत्र हो ।जाति प्रणाली एक समुदाय बसोबास गरेको स्थानका नामबाट, जीवनयापनका लागि अङ्गालेको पेसाबाट, एक समुदायबाट अर्को समुदाय वा राज्य विस्तारको क्रममा पराजयका कारण बोलाइएका नामबाट, पढाइको योग्यताका आधारमा प्राप्त उपाधिका आधारबाट, र प्रचलित सामाजिक मापदण्ड विरुद्ध काम गरेपछि सजायका आधारमा जनाइएका पाइन्छन् । कसैले आफ्नो इतिहास आनुवंशिक पहिचानका लागि जाति,गोत्र वा थरका रूपमा टाइटल लेख्ने परम्परा पनि बसाइएको पाइन्छ । सामान्यतः जाति, थर र गोत्र अपरिवर्तनीय नश्लीय शृङ्खला हो । धेरै जाति मानिस भित्रका उपल्लो वर्णबाट कायम गरिएको र जन्ममा आधारित भएकाले विभेदित एवम् स्वार्थ प्रेरित छ । वैदिक श्रुति ग्रन्थ अनुसार कुनै पनि एक जाति वा थरको एक परिवार भित्र पनि चार वर्णसम्म हुन सक्छन् । दलित जातिको सन्तान ब्राह्मण, क्षत्री, वैश्य वर्ण पनि हुनसक्छ भने अन्य जातिको सन्तान शूद्र वर्ण पनि हुनसक्छ ।
वर्ण व्यवस्थाको अवधारणा अन्तरिक्षमा गोचर गर्ने वाला नवग्रहबाट स्थापित भएको पाइन्छ । वैदिक ज्योतिषमा नौ ग्रह, बाह्र राशि, र सत्ताइस नक्षत्र छन् । नवग्रहहरू राशि तथा नक्षत्रहरूको समूह पथमा भ्रमण गर्दछन् । सूर्य आदि ग्रहहरू बाह्र राशि, सत्ताइस नक्षत्रको भ्रमणका क्रममा एक नक्षत्रबाट चार र एक राशिबाट ९ पाउका संयुक्त धुन ब्राह्मी लिपिबाट विकसित देवनागरी लिपिका संस्कृत अक्षरयुक्त ध्वनि प्रवाहित हुन्छन् । पृथ्वीमा मानिसको पैदा हुँदा जुन ध्वनियुक्त अक्षरको प्रभावमा हुन्छ, त्यसै नक्षत्रको चार पाउमध्ये एक पाउ अक्षरबाट मानिसको नाम सुरु हुन्छ । जम्मा सत्ताइस नक्षत्रका चार वा बाह्र राशिका नौ पाउ गरी १०८ अक्षरबाट पृथ्वीका मानिसको नामाकिंत हुन्छ । १०८ अक्षरबाट नामाकिंत मानव समूह चार वर्णमा विशिष्टीकृत हुन्छन् ।
ग्रहको वर्ण वर्गीकरण:
नवग्रहलगायतका ताराहरूको ज्योतिपुन्जको प्रभाव मानवका लिङ्ग, वर्ण, स्वभाव, चरित्र, स्वास्थ्य जस्ता पक्षमा प्रत्यक्ष अप्रत्यक्ष पर्ने कुरा वैज्ञानिक रूपमा सिद्ध भइसकेको छ । आकाश मण्डलमा स्थायीमान यिनै नवग्रहका अलग अलग तत्त्व, वातावरण, रेडियोधर्मी किरण, गति आदिका आधारमा मानवको स्वभाव, चरित्र, गुण निर्धारण गरेर चार वर्णमा विशिष्टीकरण गरिएको पाइन्छ । ग्रहका वर्ण वर्गीकरण तपशील अनुसार गरिएका छन् ।
सूर्य र मङ्गल (क्षेत्री): यी ग्रह तेज प्रदान गर्ने ग्रह भएकाले क्षेत्रीय स्वभाव अन्तर्गत पर्दछन् । सूर्यका कारण अन्य ग्रह सञ्चालित हुन्छन् । सूर्य गमीर्, ज्वलनशील एवम् सबै ग्रहको नायक भएकाले शासक मानिन्छ। मङ्गल पनि लाल ग्रह भएका कारण ऊर्जावान् हो । यी ग्रहका प्रभावले व्यक्ति राजा, मन्त्री, अधिकारी, योद्धा, स्वाभिमानी, क्रोधी, अहङ्कारी, शासक, तानाशाहा, शक्तिशाली, साहसी, पराक्रमी, निडर आदि गुणयुक्त हुन्छ । क्षेत्रीय गुण, स्वभावका कारण युद्ध, शासन, रक्षा जस्ता कार्य गर्न मन पराउँछन् । किनकि त्यस्ता मान्छेमा पराक्रम, बल, अधिकता हुन्छ । यी ग्रहबाट प्रभावित मान्छे क्षेत्रीय वर्ण वर्गमा पर्दछन् ।
बृहस्पति र शुक्र (ब्राह्मण): वृहस्पति ग्रह अन्य ग्रह भन्दा ग्रहुँगो, ठुलो हुन्छ । देवताहरूका गुरु वृहस्पति र दैत्यहरूका गुरु शुक्रदेवलाई मानिन्छ । वृहस्पति र शुक्र सात्त्विक हुनुका कारण व्र्राह्मण वर्णमा पर्दछन् । यी ग्रहबाट प्रभावित जातकमा बुद्धिमत्ता, प्रज्ञा, ज्ञान, दयालुपन, कलात्मकता, करुणा, प्रेम, स्वच्छता, सौन्दर्य, पवित्रता, सौम्यता, सहृदयता,सहनशीलता, सदाचारिता, कोमलता, आस्था, आस्तिकता, सत्यवादिता, आदि गुण पाइन्छन् । जुन व्यक्तिमा यस्ता गुण पाइन्छन् उ स्वाभाविक ब्राह्मण वर्णको हुन्छ । ब्राह्मण ग्रहका प्रभावका कारण हुन्छ,जन्मका आधारमा ब्राह्मण हुँदैन ।
चन्द्र र बुध (वैश्य): चन्द्रमा शीतल, सौम्य, शान्त, हो र बुध सबैभन्दा सानो ग्रह हो । सूर्यको सबभन्दा नजिकको ग्रह बुध भएकाले सूर्यको राप ग्रहण गर्दछ । चन्द्रमा सबैभन्दा तीव्र गतिमा भ्रमण गर्दछ, यी दुवै ग्रहको वैश्य वर्गका बताइएको छ । यी दुई ग्रहबाट प्रभावित व्यक्तिमा शान्त स्वभाव, बोली मधुरता, नम्रता, शीतल व्यवहार, मिलनसारता, स्नेह, निरन्तर कर्मशीलता, बुद्धिमानी, चञ्चलता, व्यापारिक विचार आदि गुण पाइन्छन् । जुन मानिसमा चन्द्र र बुध ग्रहको प्रभाव पर्छ उनीहरू राम्रो सौदागर, व्यापारी सिद्ध हुन्छन् । यी ग्रहका प्रभावका कारण वैश्यता आउँछ, वैश्य जातिमा जन्मेर वैश्य हुँदैन ।
शनि, राहु र केतु(शूद्र): शनि सूर्यबाट सबभन्दा टाढा अन्धकारमा अवस्थित ढिलो गतिमा हिँड्ने ग्रह हो । राहु र केतु पनि काल्पनिक छाया ग्रह हुन । छाया, अन्धकार कालो हुनुका कारण यी तिन ग्रहको प्रभाव धेरै नकारात्मक र कष्टदायक हुन्छ । यी ग्रहबाट पीडक मानिस अभाव, निर्धन, कष्ट, सङ्घर्ष अल्पवौद्धिकता र आश्रित जीवन बिताउन विवश हुन्छ । यिनै ग्रहका सकारात्मक प्रभाव कम परेर मानिसमा अन्य वर्णका ग्रहका धेरै राम्रो सामर्थ्य पैदा हुन सक्दैन । तर शनि, राहु, केतुका गुणबाट पैदा भएका मानिस अधिक श्रम, सङ्घर्ष, सेवा, कर्मठतामा विशेष दक्ष हुन्छन् । यिनै तीन ग्रहबाट प्रभावित मानिस शूद्र हुन्छन् । शूद्र वर्ण सबै जातिमा हुन सक्छ भने दलित जाति भेदभावपूर्ण मानव उपज हो ।
ताराहरूको समूह पथ राशि र नक्षत्रलाई पनि चार वर्णमा बाँडिएको छ । ब्राह्मण राशि: वृश्चिक, कर्क, मीन । क्षेत्रीय राशि: मेष, सिंह, धनु । वैश्य राशि: वृष, कन्या, मकर । शूद्र राशि: मिथुन, तुला, कुम्भ । एक राशिमा सवा दुई नक्षत्र पर्दछन् ।
पुष्टयाँइका आधार:
वैदिक दर्शनमा समाजको संरचना, ज्ञान, विज्ञान, जीवनका उद्देश्य, मानवका कर्तव्य, दायित्व, व्यक्तित्व विकास जस्ता कुराहरूलाई चार वर्गमा विभाजन गरिएका छन् । उदाहरणका रूपमा ज्ञानका चार भाग: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद, प्राणीका चार रुपः जरायुज, अण्डज, स्वेदज र उद्दीज, मानव जीवनका चार उद्देश्य: धर्म, अर्थ, काम, मोक्ष, वर्णका चार भेद ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र आदि । वर्गीकरण र विभाजन कामको दृष्टिले नभई अध्ययनका दृष्टिले गरिएको छ । यस विभाजनको उद्देश्य मानिसका विशेश्ताहरुका आधारमा वर्गीकरण र विश्लेषण गर्नु हो ।
आधुनिक जीव विज्ञानका आधारभूत संरचना, मानव जीवन बिरामीका कारण, रोगका प्रकार, उपचार प्रणाली, रक्त समूह लगायतका विषयवस्तु पनि चार भागमा नै विभाजित पाइन्छन् । आधुनिक विज्ञानमा मानव शरीरको सबैभन्दा सानो अंश कोषको संरचनात्मक अङ्ग, क्रोमोजोमको विभाजन प्रक्रिया पनि चार प्रकारका छन् ।मानव शरीर पनि कोष, तन्तु, अङ्ग र प्रणाली गरी चार प्रकारले नै पूर्णता पाएको छ । आधुनिक विज्ञान, प्रविधि, भाषा, संस्कृति जस्ता पक्षलाई वेदका विशिष्टीकृत र विस्तारित रूप मान्न सकिन्छ ।
वैदिक दर्शन, शिक्षा, सभ्यता, संस्कार र परम्परालाई पुष्टि गर्ने मूल आधार चतुर्वेद हुन । चलायमान ब्रह्माण्डको धुनलाइ ऋषिमुनीहरुले ध्यान तपस्याबाट प्राप्त गरेका देववाणीका रूपमा बेदलाइ पहिचान गरिन्छ । वैदिक ग्रन्थहरू मूल रूपमा दुई प्रकारका छन् श्रुति र स्मृति । श्रुति ग्रन्थ अन्तर्गत चार वेद पर्दछन् जुन विज्ञानसम्मत, अकाट्य छन् । स्मृति ग्रन्थ पुराण, महाभारत, रामायण, इतिहास आदि पर्दछन् । श्रुति ग्रन्थ चलायमान नवग्रह वा इशवरीय वाणी भएकाले विभेदरहित छन् । स्मृति गन्थहरु मानव सृजित भएकाले स्वार्थ प्रेरित मानिन्छन् । वेदकालीन समयबाट पूर्वीय परम्परामा वैदिक वर्ण व्यवस्थाका कुराहरू प्रारम्भ गरिएकाले विज्ञानसम्मत र तथ्यपूर्ण मानिन्छन् । जाति प्रथा धेरै पछि मात्र स्वार्थी मानव समूहका स्मृति ग्रन्थअनुसार सृजित हुन ।
निष्कर्ष:
वर्ण व्यवस्था जन्ममा आधारित नभई जन्मपश्चात् ब्रह्माण्डियग्रहका प्रभावबाटश्रृजित हुन्छ ।पहिले यस ब्रह्माण्डमा प्रकाशयुक्त ग्रह, ताराको उत्पत्ति भई करोडौँ वर्षपछि एक कोषीय जीव हुँदै पछि मात्र बहुकोषीय जीव लगायत मानवको उत्पत्ति भएको हो । ग्रहको वर्ण पहिले त्यसपछि ग्रहको प्रभावबाट मानवको वर्ण स्थापित भएको पाइन्छ । वर्ण व्यवस्था श्रुति गन्थ अनुसार प्रकृतिपदत्त, विशिष्टीकृत हुन् । जाति प्रथा स्मृति ग्रन्थ अनुसार मानव सृजित र विभेदित हुन् ।
सन्दर्भ सामग्री:
नेपालको संविधान, २०७२
देवकोटा, रत्नाकर,जुम्ला राज्यको विवेचना, २०६४
Das, Shyamsundar, the falacy of the trans-saternian planets, 1997
निगमेन्द्र, ऋार्यपुत्र, वर्ण व्यवस्थाका वैज्ञानिक आधार, आर्य सत्य विचार
विभिन्न अनलाइन पत्रपत्रिकाहरूमा प्रकाशित लेख, रचनाहरू