काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समिति बैठक बस्नुअघि गत महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालासँग भेट गरेका छन्।
देउवालाई भेट्न शेखर आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुई नेताबीच केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल भएको बताइएको छ।
गत मंसिरमा भएको १४ औँ महाधिवेशनमा शेखर देउवासँग पराजित भएका थिए।
शुक्रबार अर्का नेता रामचन्द्र पौडेलले आफ्नो निवासमा नेताहरूको भेला डाकेका बेला बालुवाटारमा देउवा र शेखरबीच कुराकानी भएको हो ।
देउवाले हालै गरेको नेविसंघ र तरुण दलका अध्यक्ष नियुक्तिमा शेखर समूहले असन्तुष्टि जनाउँदै आएको छ।